१६ जेष्ठ २०८०, मंगलबार

“कांग्रेस ९० सिटमा झर्नु कम लचकता हो त ?”

लेखाजोखा न्यूज

१७ भाद्र २०७९, शुक्रबार ११:३८

काठमाडौं। नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले सत्तारुढ गठबन्धनभित्रको सिट बाँडफाँट चाँडै टुंगिन लागेको बताएका छन् । “अन्तिम समयमा आफ्नो पार्टीलाई बढीभन्दा बढी उम्मेदवारीको अवसर दिलाउने रस्साकसी हुनु स्वाभाविकै हो । तर अप्ठ्यारो अवस्थालाई पार लगाउने क्षमता नेतृत्वमा छ । दलहरुबीचको सहकार्य डेढ वर्ष भैसक्यो । एक नेताले अर्को नेतालाई अन्तरंग बुझ्नुभएको छ । यो विषय अब चाँडै टुंगिन्छ,” शुक्रबार विहान पत्रकारसंग कुरा गर्दै नेता विश्वकर्माले भने ।

कांग्रेसलाई बढीभन्दा बढी सिट दिए परिणाम सुखद आउने पनि विश्वकर्माले औंल्याए । उनले भने, “स्थानीय तहको निर्वाचनबाट कांग्रेस झन् ठूलो र लोकप्रिय भएको छ । त्यसैले कांग्रेसको उम्मेदवारी बढी भए भने गठबन्धनले बढी सिट जित्न सक्छ । कांग्रेसलाई ५० प्रतिशत सिट दिने प्रचण्डको कुरा ठीक र बेठीक भन्दा पनि जनताको बीचमा कुन पार्टी सशक्त छ र त्यसले कस्तो परिणाम ल्याउँछ भन्नेतर्फ केन्द्रित हुनुपर्छ ।” गठबन्धनबाट जसपा नबाहिरिने विश्वास पनि उनले व्यक्त गरे ।

गठबन्धनका लागि कांग्रेस हदैसम्म लचिलो हुन तयार रहेको पनि नेता विश्वकर्माले बताए । उनले भने, “गठबन्धनका लागि कांग्रेस लचिलो हुन तयार छ । कांग्रेस सयबाट ९० सिटमा झर्नु सानो लचकता हो त ? अब अरु दलले पनि लचकता देखाएर जान्छन् कि जाँदैनन् । हेर्न बाँकी छ ।” गठबन्धनमा सिट निर्धारण भएपछि पनि दलभित्रको व्यवस्थापन चर्को हुने उनले बताए ।

के डा शेखर कोइराला र केपी शर्मा ओलीबीच गोप्य सम्झौता भएको हो भन्ने पत्रकारको प्रश्नमा विश्वकर्माले भने, “डा शेखर कोइरालाले पार्टीभित्र राम्रै भूमिका गरिरहनुभएको छ । उहाँ आफैं उम्मेदवार हो । कांग्रेसभित्रै मन फाट्यो, मत विभाजित भयो भने हामी अप्ठ्यारोमा पर्छौं । त्यसैले सभापति शेरबहादुर देउवा सबैलाई मिलाएर जाने पक्षमा हुनुहुन्छ । यदि उहाँले त्यस्तो गोप्य सम्झौता गर्नुभएको हो भने त्यो गम्भीर कुरा हो । तर मलाई त्यसमा विश्वासै छैन ।”

अर्को प्रसंगमा उनले महाभियोगमा हस्ताक्षर गर्ने सांसदले समितिमा बस्न पाउने वा नपाउने भन्ने कुरा संविधान, प्रतिनिधिसभा नियमावली, महाभियोग कार्यविधि नबोलेको बताए । उनले भने, “प्रधानन्यायाधीश राणा आफैंले पाँच जना न्यायाशीशलाई महाभियोग लगाइदिनुस् भनेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घर धाएर हात जोड्नुभएको रहेछ । त्यसबाट पनि महाभियोग लगाएको ठीकै रहेछ नि ।”

 

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend