२० मंसिर २०७९, मंगलबार

७० लाख वर्षअघि नै मानव दुई खुट्टे

लेखाजोखा न्यूज

१३ भाद्र २०७९, सोमबार ११:३७

श्रीराम सुवेदी

काठमाडौं । कुनै बेला बाँदरजस्तै चौपाया हाम्रो पुर्खा कहिलेदेखि दुई खुट्टाले उभिन र हिँडडुल गर्न थाले भन्ने विषयमा गत साता नयाँ तथ्य सार्वजनिक भएको छ। नयाँ अध्ययनले ७० लाख वर्षअघिदेखि नै मानव पुर्खाले दुई खुट्टाले हिँड्ने अभ्यास सुरु गरेको देखाएको छ।

अनुसन्धानकर्ताले ‘सयलन थ्रोपस चड्नसिस’ नाम गरेको आदिम–मानवको प्रजातिले ७० लाख वर्षअघि नै दुई खट्टाले हिँड्ने गरेको (द्विपादीय) रुखमा चढ्न पनि उत्तिकै खप्पिस रहेको तथ्य उजागर गरेका हुन। ‘सयलन थ्रोपस चड्नसिस’ ७० लाख वर्षअघि अफ्रिकामा विचरण गर्ने मानव प्रजातिको सबैभन्दा पुरानो प्रतिनिधि मानिन्छ। यही अवधिमा

उद्विकासको यात्रामा पहिला एउटै हाँगोमा रहेका चिम्पान्जी र मानव पुर्खा फरकफरक बाटोतर्फ मोडिएको मानिन्छ। अध्ययनले मानव पुर्खाले सुरुमा ठानिएभन्दा धेरै वर्षअघि दुई खुट्टाले हिँड्न थालेको र त्यतिबेला हातखुट्टाको सहयोगमा रुखमा विचरण गर्न सक्ने क्षमतासमेत भएको देखाएको छ। मानव उद्विकासको सुरुका चरणका प्रजातिहरू (होमिनिन क्लाड) का लागि द्विपादीय क्षमता (वाइपेडालिज्म) महत्वपूर्ण मानिन्छ। यसले परिवर्तित वातावरणमा बाँच्न र अनुकूलित रहन सहयोग गरेको वैज्ञानिक तर्क छ।

मध्य अफ्रिकी देश चाडमा सन् २००१ मा संकलन गरिएको उक्त प्रजातिका साँप्रा र पाखुराका हाड, बंगारा, दाँत तथा खप्परका जीवाश्मको सूक्ष्म अध्ययनपछि वैज्ञानिकहरू त्यस्तो नतिजामा पुगेका हुन। फ्रान्स तथा अफ्रिकी देश चाडका अनुसन्धानकर्ताले गरेको उक्त अध्ययनको नतिजा प्रसिद्ध वैज्ञानिक जर्नल नेचरमा गत साता प्रकाशित भएको थियो।

अध्ययनका क्रममा लेक चाडको बेसिनको टोरोस मेनेला क्षेत्रमा पाइएका विभिन्न मेरुदण्डधारी जीवहरूको जीवाश्ममध्ये ‘सयलन थ्रोपस चड्नसिस’ प्रजातिका चार वयस्कका उपलब्ध जीवाश्मको समीक्षा गरिएको थियो। जसमध्ये एउटाको झन्डै पूर्ण आकारको खप्पर र अन्यका छरिएर रहेका दाँत फेला परेका थिए।

फेला परेका साँप्रा र पाखुराका हड्डीका बाह्य बनावटको समीक्षा गरिएको थियो। त्यस्तै ज्यामितीय, बायोमेट्रिक तथा माइक्रोटोग्राफी इमेजिङको सहयोगमा आन्तरिक संरचनाको अध्ययन पनि गरिएको थियो। प्राप्त तथ्यांकलाई चिम्पान्जी, गुरिल्ला, ओराङउटान, मिओसेन युगका बाँदर तथा ओरोरिन, अर्डिपिथेसस, अस्ट्रालोपिथेसाइन, प्राचीन होमो तथा वर्तमान होमो सेपियन्सका जीवाश्म तथा जीवित नमुनासँग तुलना गरिएको थियो।

साप्राको हाडको संरचनाले उक्त प्रजाति जमिनमा दुई खुट्टाले हिँड्ने (द्विपादीय) र सम्भवतः रुखमा पनि विचरण गर्ने देखाएको छ। पाखुराको संरचनाले द्विपादीयसँगसँगै उक्त प्रजातिमा चतुस्पादीय चरित्र पनि रहेको देखाएको छ। पाखुरा र साप्राका हाडका २० फरकफरक विशेषताको अवलोकन तथा तुलनात्मक अध्ययनका आधारमा ‘सयलन थ्रोपस चड्नसिस’ द्विपादीय रहेको निष्कर्ष अध्ययनको छ।

यसैगरी अर्को तरिकाले सोही प्रजातिको खप्परकोे अध्ययन गर्दा टाउको र मेरुदण्ड जोडिने स्थान तलतिर झुकेको पाइएकाले त्यस्तो अवस्थामा चार खुट्टा (दुई हातसमेत) ले हिँड्न कठिन हुने तर्क अनुसन्धानकर्ताको छ।

मानव उद्विकासको लाखौं वर्ष लामोे इतिहास आफैमा रोचक र रहस्यमय छ। लाखौं वर्षअघिका पुर्खाका हाडका जीवाश्म, डिएनए, पदचिह्न, प्रयोग भएका औजार, चुल्होलगायत पुरातात्विक वस्तुको सहयोगमा वैज्ञानिकले मानव पुर्खाको सुदूर विगतबारे अध्ययन गर्दै आएका छन्।

यस्ता पुरातन प्रमाण वर्षा, नदी कटान तथा तीव्र हावाको प्रवाहले हुने क्षयीकरणका कारण प्राकृतिक रूपमा पृथ्वीको सतहमा देखिन्छन् भने अनुसन्धानकर्ताले जमिन खनेर अथवा उत्खनन गरेर यस्ता प्रमाण खोजी गर्छन्।

अत्याधुनिक वैज्ञानिक विधिमार्फत गरिने अध्ययनले हाम्रो पुर्खाको रूप तथा शरीरको बनावट, आहार तथा आनीबानी कस्तो थियो भन्ने आकलन हुन्छ। अन्य जीवको तुलनामा दिमागको ठुलो आकार, हतियारको प्रयोग, सामाजिक संगठन,

भाषा तथा सञ्चार, खानामा विविधतालगायतका कारणले प्रतिकूलतालाई जित्दै मानव अहिलेको समयसम्म आइपुगेको मानिन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend