१९ असोज २०७९, बुधबार

तनहुँमा रामचन्द्रले टिकट पाए किसान श्रेष्ठले विद्रोह गर्ने !

लेखाजोखा न्यूज

४ भाद्र २०७९, शनिबार ११:११

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँबाटै निर्वाचन लड्ने घोषणा गरेका छन् । तनहुँ १ बाटै चुनाव लड्ने पौडेलको घोषणाले सत्ता गठबन्धनभित्र सिट बाँडफाँटमा सकस हुने देखिएको छ ।

२०७४ सालको निर्वाचनमा पौडेललाई हराएका कृष्णकुमार श्रेष्ठ (किसान) यतिबेला सत्ता गठबन्धनमा छन् । एमालेबाट निर्वाचत जितेका किसान पार्टी विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादीबाट सरकारमा मन्त्रीसमेत भइसकेका छन् ।

सत्ता गठबन्धनभित्र सिट बाँडफाँटमा अघिल्लो निर्वाचनमा जितेका निर्वाचन क्षेत्र सोहि दललाई छोड्ने समझदारी अनुसार किसानले तनहुँ १ मा आफ्नो दावी गर्दै आएका छन् ।

उनले तनहुँ १ बाट आफू निर्वाचित सांसद भएकाले उक्त क्षेत्र गठबन्धनबाट एकीकृत समाजवादीले टिकट पाउनेमा उनी विश्वस्त छन् । तर कांग्रेस वरिष्ठ नेता पौडेलले तनहुँ १ नछोड्ने र अघिल्लो पटकको हारको बदला लिने घोषणा गरेपछि किसान झस्किएका छन् । उनी गठबन्धनबाट टिकट नपाए बिद्रोह गर्ने मनस्थितिमा रहेको बताइएको छ ।

उनले तनहुँ १ बाट टिकट नपाए गठबन्धनमा रहने विषयमा सोच्नुपर्ने प्रतिक्रिया दिएका छन् । उनीनिकट नेताका अनुसार गठबन्धनबाटै टिकटका लागि पहल गर्ने र त्यहाँबाट नभए एमालेमै फर्किने योजनामा किसान श्रेष्ठ छन् ।

स्थानीय तह निर्वाचनमा एकीकृत समाजवादीको मत न्यून भएकाले कांग्रेसले सिट छोड्न नहुने मत धेरैको छ । त्यसमा पनि शीर्ष नेताहरुको व्यवस्थापनलाई पनि गठबन्धनभित्र उच्च प्राथमिकता दिइएकाले पौडेलले नै तनहुँ १ पाउने सम्भावना रहेको बताइन्छ ।

गठबन्धनमा टिकटका लागि पौडेल र श्रेष्ठबीच रस्साकस्सी चलिरहेका बेला कांग्रेसका अर्का नेता गोविन्दराज जोशीले स्वतन्त्र उम्मेदवारी घोषणा गरिसकेका छन्। कांग्रेसका पूर्वसहमहामन्त्रीसमेत रहेका जोशीको तनहुँमा राम्रो प्रभाव रहेको बताइन्छ ।

जोशीले एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवार बन्न चाहेका छन् । एमालेले भने पूर्व प्रहर िमहानिरीक्षक सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउन चाहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend