काठमाडौं । माओवादीको चुनाव चिन्हबाट आगामी निर्वाचनमा भाग लिन लागेका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफूहरू गठबन्धनकै अभिन्न अंग भएकाले कसैले गठबन्धनमा लिने वा नलिने भन्ने प्रश्न नरहेको बताएका छन् ।
माओवादी केन्द्रीय कार्यालयमा प्रचण्ड लगायतका नेताहरूसँगको छलफलपछि भट्टराईले आफूहरू गठबन्धनमै रहेकाले सीट बाँडफाँटमा पनि गठबन्धनको मापदण्डभित्रै पर्ने दाबी गरे ।
‘हामी गठबन्धनकै अंग हो । हामी गठबन्धनभित्रै हो । यसमा कसैलाई भ्रम नपरोस् ‘, उनले भने ।
डा. भट्टराईले अहलेको अवस्थामा छुट्टाछुट्टै भएर भन्दा एकताबद्ध हुनु आवश्यक रहेकाले नयाँ आधारमा एकताबद्ध भएर जाने बताए । उनले तत्काल माओवादीसँग चुनावी तालमेल गरेर अघि बढ्ने भन्दै चुनावपछि वृहत राजनीतिक ध्रुवीकरणको लक्ष्य रहेको दाबी गरे ।
उनले भने, ‘अग्रगामी परिवर्तनका एजेण्डा बाँकी छन् । एक्लैएक्लै लड्नु भन्दा मिलेर एकताबद्ध भएर जानुपर्ने आवश्यकता अनुसार तालमेल गरिएको हो ।’