११ असोज २०८०, बिहिबार

राप्रपा नेपालको अवधारणा : सनातन हिन्दु राष्ट्र, दुई तहको सरकार र जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री

लेखाजोखा न्यूज

३१ साउन २०७९, मंगलबार ४:४०

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको दुई दिने केन्द्रीय कार्यसमिति बैठक विभिन्न १२ बुँदे निर्णय गर्दै सम्पन्न भएको छ।

अध्यक्ष कमल थापाको अध्यक्षतामा सोमबारबाट बैठक सुरू भएको थियो। बैठकले देशको वर्तमान अवस्थाको समीक्षा, पार्टीको भावी कार्यदिशा र कार्यक्रमको निर्धारण तथा आगामी निर्वाचनको तयारीका विषयमा निर्णय गरेको महामन्त्री राजाराम बर्तौलाले बताए।

उनका अनुसार बैठकले अध्यक्ष कमल थापाको ‘सकारात्मक परिवर्तनको लागि राष्ट्रवादी शक्तिको निर्माण’ विषयक राजनीतिक कार्यपत्र परिमार्जनसहित पारित गरेको छ।

यसैगरी, महामन्त्रीहरू भाष्कर भद्रा, सुशील श्रेष्ठ र राजाराम वर्तौलाले प्रस्तुत गरेको सचिवालय, प्रशिक्षण र संगठन सम्बन्धी प्रतिवेदन तथा कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनलाई समेत परिमार्जनसहित पारित गरेको छ।

बैठकले लोकतन्त्र, सनातन हिन्दु राष्ट्र, केन्द्र र स्थानीय गरी दुई तहको सरकार, जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, पूर्णसमानुपातिक निर्वाचन प्रणाली अब राप्रपा नेपालको मुख्य अवधारणा हुने निर्णय गरेको छ।

साथै, बैठकले सुशासन र आर्थिक समृद्धि राप्रपा नेपालको प्राथमिकता हुने एवम् भ्रष्टाचार निवारण एवम् बेरोजगारी समस्याको समाधान पार्टीको प्रमुख कार्यनीति हुने निर्णय गरेको छ।

बैठकले नेपालमा कानुन विपरीत संगठित र योजनाबद्ध रुपले भइरहेको धर्मान्तरण प्रति चिन्ता व्यक्त गरेको छ।

धर्मपरिवर्तनको डढेलोलाई नियन्त्रण गर्न सकिएन भने त्यसले नेपालको राष्ट्रिय पहिचान र एकतामा आघात पुर्‍याउने तथा सदियौंदेखि नेपाली समाजमा कायम रहँदै आएको सामाजिक सांस्कृतिक सदभाव र एकता खलबलिन गई देश धार्मिक द्वन्दमा फस्न सक्ने खतरा तर्फ सरकार, राजनीतिक दलहरू र सम्बद्ध सबैपक्षको ध्यानाकर्षण गराएको छ।

साथै, धर्मपरिवर्तनको मुल कारक बनेको ‘धर्म निरपेक्षता’ खारेज गरी सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्र पुनःस्थापन होस् भन्ने बैठकले माग गरेको छ।

बैठकले संसदीय निर्वाचनबाट राप्रपा नेपाललाई देशको बलियो शक्ति बनाउने उदेश्यले तयारी थाल्ने निर्णय गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend