काठमाडौं । राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले तीन सिटमा दाबी गरेका छन् ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा संयोजक गौतमले संघीयमा एक र प्रदेशसभामा दुई सिटमा दाबी गरेका हुन् ।
आज माओवादी कैन्द्रले हसिया हतौडा चिन्हमा चुनाव लड्न स्वीकृति दिएपछि गौतमले पनि दुई वटा सर्त राखेका हुन् । उनले राष्ट्रिय राजनीतिमा आफ्नो भूमिकाको कारण हँसिया हतौडामा चुनाव लड्न लागेको बताए ।
‘हामीले प्रतिनिधि सभामा एउटा र प्रदेश सभामा २ सिट मागेका छौं । सिंगो गठबन्धनले सहयोग गरेपछि हामी यहाँ जित्छौं । हाम्रो क्षमताअनुसार गठबन्धनलाई जिताउन हामी पनि सहयोग गर्छौं,’ गौतमले भने ।
उनी हसिया हतौडा चिन्ह लिएर प्युठानबाट चुनाव लड्दैछन् । प्युठान घर भएका गौतमले २०४८ र २०५१ सालमा एमालेबाट बर्दियाबाट संघीय निर्वाचन लडेका थिए । २०५४ मा उपप्रधानमन्त्री एवं गृहमन्त्री बनेका गौतमले २०५६ र ०६४ को निर्वाचन हारेका थिए ।
२०६५ मा उपप्रधानमन्त्री एवं गृहमन्त्री बनेका गौतमले २०७० सालको निर्वाचन बर्दिया र प्युठानबाट जितेका थिए । तर, २०७४ सालको निर्वाचनमा गौतम पराजित भएका थिए ।