१९ असोज २०७९, बुधबार

गठबन्धन बैठक : सिटौलाले सिट संख्या प्रस्ताव गर्दै, कसलाई कति सिट ?

लेखाजोखा न्यूज

३१ साउन २०७९, मंगलबार ८:३९

काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनको सिट बाँडफाँटका लागि गठन गरेको ११ सदस्यीय कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाले बुधबारको बैठकमा सिट संख्याको प्रस्ताव गर्ने भएका छन्। सोमबार दिउँसो बसेको कार्यदलको बैठकले संयोजक सिटौलालाई २०७४ सालको प्रतिनिधिसभामा राजनीतिक दलहरूले पाएको मत र गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनलाई आधार बनाएर सिट संख्या प्रस्तावको अधिकार दिएको हो।

२०७४ सालको प्रतिनिधिसभालाई मात्र आधार बनाउँदा माधवकुमार नेपाल नेतृत्वमा गठन भएको नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) लाई सिट छुट्याउन समस्या हुने भएपछि कार्यदलले अघिल्लो प्रतिनिधिसभा र स्थानीय तहको निर्वाचनलाई आधार बनाएर संख्या प्रस्ताव गर्न भनिएको जनता समाजवादी पार्टी (जसपा) बाट कार्यदलमा सहभागी सदस्य रामसहाय यादवले जानकारी दिए। ‘२०७४ सालको प्रतिनिधिसभा निर्वाचन र गत वैशाखमा भएको स्थानीय तह निर्वाचनलाई आधार बनाएर आगामी बैठकमा संख्या प्रस्ताव गर्न आज (सोमबार) को बैठकले संयोजकलाई आग्रह गरेका छौं,’ उनले भने, ‘सबै दलको अहिलेको अवस्था र निर्वाचनमा पाएको मतका आधारमा उहाँले सिट संख्या प्रस्ताव गर्नुहुन्छ। आवश्यक परे त्यसमाथि थप छलफल हुन्छ।’ साथै कार्यदलले सिट संख्याका विषयमा आआफ्ना पार्टीभित्र पनि छलफल गर्ने भएका छन्।

यसअघि साउन २६ गते बसेको कार्यदलको बैठकमा सिट बाँडफाँटका लागि मुख्यतया २०७४ सालको निर्वाचनको प्रत्यक्षतर्फ जितेको सिट, त्यतिबेला समानुपातिक पद्धतितर्फ पाएको मत, २०७९ सालको स्थानीय तहको चुनावको परिणाम र दलहरूको आआफ्नो अवस्थालाई मापदण्ड बनाउने समझदारी भएको थियो। तर पनि दलहरूले सिट फाँडफाँटमा

आ–आफ्ना दाबी प्रस्तुत गर्दै आएका छन्। कांग्रेसले स्थानीय तहको निर्वाचनमा ७६ वटा क्षेत्रमा सबैभन्दा बढी मत पाएको छ। ती क्षेत्र आफूले राखेर एमाले अघि रहेका ७१ निर्वाचन क्षेत्रमा दलीय हैसियतअनुसार सिट बाँडफाँट गर्नुपर्ने धारणा राखेको छ।

माओवादी केन्द्रले २०७४ सालको निर्वाचनमा प्रत्यक्षतर्फ जुन दलले जितेको छ, ती क्षेत्र आगामी चुनावमा पनि उसैलाई दिनुपर्ने बताउँदै आएको छ। सरकारको नेतृत्व गरेको कांग्रेसलाई प्रत्यक्षतर्फको ५० प्रतिशत र बाँकी ५० प्रतिशत गठबन्धनका अन्य दललाई छाड्नुपर्ने प्रस्ताव पनि माओवादीले अघि सारेको छ। तर कांग्रेस प्रत्यक्षतर्फ १०० सिट आफूले पाउनुपर्ने दाबी गर्दै ६५ क्षेत्र मात्र छाड्ने पक्षमा छ। त्यसरी अघि बढ्दा प्रत्यक्षतर्फ माओवादी केन्द्र करिब ४०, नेकपा एस र जसपाले १०–१५ क्षेत्र पाउने नेताहरूको बुझाइ छ। माओवादी केन्द्रसहितका दलहरू कांग्रेसलाई ८५ देखि ९० निर्वाचन क्षेत्रमा समेट्ने पक्षमा देखिएको छ। कांग्रेस पनि ९० देखि ९५ निर्वाचन क्षेत्र लिएर चुनावी तालमेलको पक्षमा छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend