११ असोज २०८०, बिहिबार

एक हजार नेपाली कामदार इजरायलले लैजाने

लेखाजोखा न्यूज

३१ साउन २०७९, मंगलबार ८:०२

काठमाडाैं । इजरायल सरकारले कृषि क्षेत्रका लागि पनि एक हजार नेपाली कामदार लैजाने भएको छ । नेपाल र इजरायलबीच भएको सम्झौताअनुसार पहिलोपटक कृषि क्षेत्रमा कामदार लैजान इजरायल तयार भएको हो । इजरायलले हाल दीर्घकालीन स्याहार केन्द्रमा सहयोगी कामदार (केयर गिभर)का लागि नेपाली कामदार लगिरहेको छ ।

नेपाली कामदारका लागि सुरक्षित गन्तव्यमध्ये इजरायल पनि एक हो । तर, ९० प्रतिशत नेपाली कामदार खाडी तथा मलेसियामा जोखिमपूर्ण काम गर्न बाध्य छन् । यसअघि म्यानपावर कम्पनीले नै नेपाली कामदार इजरायल पठाउँदै आएका थिए । महिला कामदारलाई केयर गिभरमा र पुरुषलाई कृषि क्षेत्रमा पठाउँदै आएको थियो । तर, दलालहरूले आफूखुसी रकम असुल्न थालेपछि सरकारले म्यानपावर कम्पनीबाट कामदार पठाउन बन्द गरेको हो । अहिले जिटुजीमार्फत नेपाली कामदार पठाउन थालेको हो ।

इजरायल नेपालबाट निर्माण क्षेत्रका लागि पनि कामदार लैजान इच्छुक भएको छ । निर्माण क्षेत्रका लागि छुट्टै सम्झौता गर्न पनि इजरायल सरकार सकारात्मक भएको छ । इजरायलको प्राविधिक सहयोगमा नेपालमा कृषि सेन्टर फर एक्सिलेन्स स्थापना गर्न सम्झौता पनि भइसकेको छ । यसबाट इजरायली प्रविधिक भित्र्याएर मुलुकको कृषि क्षेत्रको विकासमा टेवा पुग्नेमा सरकार विश्वस्त रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend