काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्रको नाममा राजनीति गर्नेहरुलाई देश बिगार्ने भँडुवा भएको आरोप लगाउँदै सतर्क रहन सबैलाई आग्रह गरेका छन् ।
पार्टीको प्रदेश कमिटी १ ले शनिवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बाेल्दै उनले यस्ताे आराेप लगाएका हुन् ।
कार्यक्रममा उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई कांग्रेसरुपी बञ्चरोको बिँडको संज्ञा दिएका छन् । दाहाल र नेपालले आफ्नो पार्टीलाई ढाल्नका लागि कांग्रेसको बिँड बनेको अध्यक्ष ओलीको आरोप थियो ।
कार्यक्रममा बोल्दै उनले २३ सिटमा खुम्चिएको कांग्रेसले सोझो आँखाले पनि आफ्नो पार्टीलाई हेर्न नसक्ने अवस्था भएपनि दाहाल–नेपालले मुलुकबाट बामपन्थी शक्ति सिध्याउने गरी कांग्रेसलाई साथ दिएको जिकिर समेत गरे ।
अध्यक्ष ओलीले भने, ‘संघीय निर्वाचन र प्रदेशसभाको निर्वाचन मंसीरमा एकैचोटी हुँदैछ । बञ्चरो लिएर ढाल्न थालेछन एउटा रुख काटेर । वरतिर, परतिरको रुखहरु बर्बर आँशु झारेर रुन थालेछ । अनि अरु रुखहरुले सोधे–किन यसरी आँशु खसाएर रोएको ? आखिर ढल्नु त छदैछ, मर्नु त छँदैछ । अब ८ अर्ब वर्षपछि केही बीचमा भएन भने, केही बीचमै भयो भने त ध्वस्त भइहाल्छ । बीचमा केही पनि भएन भने पनि २३ सिटमा पुर्याएको कांग्रेसले हामीतिर लडने त होइन, लडने कुरा छाडिदिउँ, सोझो हेर्ने अवस्था पनि थिएन । यिनै बिँडले कम्युनिष्ट आन्दोलन भाँडेर, सरकार फुटाएर, अदालत गएर कम्युनिष्ट सरकार ढालीपाउ, दक्षिणपन्थी सरकार गठन गरी पाउँ भनेका हुन ।’
कार्यक्रममा विश्वका सबै मुलुकका पार्टी चाहिने तर नेपालमा चाहिँदैन भनेर स्वतन्त्र भनिएकाहरुले देश बिगार्न लागेको उनको जिकिर थियो । ओलीले पार्टीविना नीति, नेतृत्व, राष्ट्रिय विकास, राष्ट्रिय भावधारा, राष्ट्रिय विचार नै नहुने भएकाले स्वतन्त्रहरुले देश चलाउन नसक्ने तर्क समेत गरे ।