३१ साउन २०७९, मंगलबार

प्रचण्डविरुद्ध चुनावमा उठ्ने नेता बीपी साहको घोषणा

लेखाजोखा न्यूज

२० साउन २०७९, शुक्रबार १:३९

काठमाडौं । जनमत पार्टीका नेता बीपी साहले पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध चुनावमा उठ्ने घोषणा गरेका छन् ।

नेता साहले पाँच दलीय (नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा) गठबन्धनको तर्फबाट धनुषा क्षेत्र नम्बर १ मा चुनाव लड्ने तयारी थालेका प्रचण्ड विरुद्ध आफूले चुनाव लड्ने घोषणा गरेका हुन् ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा धनुषा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा एमालेसँग गठबन्धन गरेर माओवादी नेता मातृका प्रसाद यादव निर्वाचित भएका थिए । अबको निर्वाचनमा आफू जित्ने सम्भावना नदेखेपछि यादवले प्रचण्डलाई उक्त क्षेत्रबाट उठाउने कसरत गर्दै आएका छन् ।

‘प्रचण्डले गठबन्धनको तर्फबाट धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिए उनलाई हराउन म तयार छु,’ ३१ वर्षीय नेता साहले भने, ‘यसअघि सिरहाबाट चुनाव जिताइएका प्रचण्डले मधेशीसँग बारम्बार धोका गर्दै आएका छन् । त्यसकारण अब मधेशबाट प्रचण्डलाई जिताउने काम कुनै पनि मधेशीले गर्दैन ।’

पहाडबाट कुनै पनि मधेशीलाई जिताउन प्रचण्डलाई चूनौती दिदै नेता साहले भने,‘अब मधेशको भूमिबाट शासकहरुलाई जिताउने काम हुँदैन । मधेशीहरु आफ्नो शासन आफैं गर्न तयार छन् । झन् डेटएक्सपाइर नेताहरूलाइ यहाँबाट जिताउने कार्य हुँदैन ।’

हालै सम्पन्न स्थानीय निर्वाचनमा धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा माओवादी केन्द्रले १२ हजारभन्दा बढी मत ल्याएको छ । जसमा कतिपय स्थानमा माओवादीले अन्य दलसँग गठबन्धनसमेत गरेको थियो ।

तर, जनमत पार्टीले एक्लै ६ हजारभन्दा बढी मत ल्याएको छ । जनमत पार्टीको तर्फबाट सबैला नगरपालिका प्रमुखमा निर्वाचन लडेका साहले एक्लै २ हजार मत ल्याएका थिए ।

‘स्थानीय निर्वाचनमा विभिन्न फक्याटरहरुले काम गर्ने भएकाले यस क्षेत्रमा जनमत पार्टीले केही कम भोट ल्याएको हो,’ नेता साहले भने,‘प्रतिनिधिसभाको निर्वाचनमा ठूलो क्षेत्र भएकोले जनमत पार्टीले सहजै जित्ने छ।’

नेता साहले धनुषा क्षेत्र नम्बर १ बाट प्रचण्डले चुनाव लडे आफूले पनि चुनाव लड्ने बताए पनि जनमत पार्टीले अहिलेसम्म भने उत्तः क्षेत्र बारे आधिकारिक निर्णय गरेको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend