३१ साउन २०७९, मंगलबार

बढुवाका लागि ४ सहसचिवको नाम सिफारिस

लेखाजोखा न्यूज

१५ साउन २०७९, आइतबार ९:२४

काठमाडौं । नेपाल सरकारको रिक्त रहेको २ सचिव पदमा बढुवाका लागि ४ जना सहसचिवको नाम सिफारिस भएको छ ।

सिंहदरबारमा आइतबार बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ रिक्त रहेको एक सचिव पदमा बढुवाका लागि ३ जना सहसचिवको नाम र लेखापरीक्षणतर्फ रिक्त रहेको एक सचिव बढुवाका लागि एक जनाको नाम मात्रै सिफारिस गरेको हो ।

प्रशासनतर्फ सचिव बढुवाका लागि कार्य सम्पादन मूल्याङ्कनका आधारमा पहिलो नम्बरमा दीपक काफ्ले, दोस्रो नम्बरमा नारायण शर्मा र तेस्रो नम्बरमा दिनेश घिमिरेको नाम सिफारिस भएको हो भने लेखा परीक्षणतर्फ सचिव बढुवाका लागि ज्येष्ठताका आधारमा बिन्दु विष्टको नाम मात्रै सिफारिस भएको हो ।

प्रशासनतर्फ सचिवमा बढुवाका लागि सिफारिस भएका काफ्ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखा प्रमुखको जिम्मेवारीमा छन् भने शर्मा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको औद्योगिक तथा लगानी प्रवर्द्धन महाशाखा प्रमुखको जिम्मेवारीमा छन् । यस्तै घिमिरे चीनको छेन्दुमा रहेको नेपाली दूतावासमा महावाणिज्यदूतका रूपमा कार्यरत छन् ।

लेखा परीक्षणतर्फ सिफारिस भएकी विष्ट महालेखापरीक्षकको कार्यालयमा नायव महालेखापरीक्षकको जिम्मेवारीमा छन् । उनी कार्यालयको प्रवक्ताको जिम्मेवारी पनि सम्हाल्दै आएकी छन् ।

प्रशासनतर्फका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्याैपाने साउन १२ गतेदेखि अनिवार्य अवकाशमा गएपछि एक सचिव रिक्त भएको थियो । लेखा परीक्षणतर्फ महालेखा परीक्षकको कार्यालयमा कार्यरत उप–महालेखापरीक्षक रामुप्रसाद डोटेल पनि साउन १२ गते नै अनिवार्य अवकाशमा गएपछि एक उप–महालेखापरीक्षकको पद रिक्त रहेको थियो ।

अब बस्ने मन्त्रिपरिषद् बैठकले प्रशासनतर्फ सिफारिस भएका ३ सहसचिवमध्ये एक जनलाई सचिवमा बढुवा गर्नेछ । सम्भव त पहिलो नम्बरमा सिफारिस भएका काफ्ले नै सचिवमा बढुवा हुनेछन् । लेखा परीक्षणतर्फ भने बढुवाका लागि एक जनाको मात्रै नाम सिफारिस भएकाले बिन्दु विष्ट नै सचिव बढुवा हुनेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend