३१ साउन २०७९, मंगलबार

टेकु अस्पतालले हटायाे ६८ करार कर्मचारी, २१ बेड आइसियू पनि बन्द

लेखाजोखा न्यूज

८ साउन २०७९, आइतबार ६:२७

काठमाडाैं । दरबन्दीअनुसार कर्मचारी नभएको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा एकैपटक करारका ६८ कर्मचारी पनि कटौती गरिएको छ । देशको एक मात्र सरुवारोग अस्पतालमा कोरोना कालमा थपिएका २१ बेड आइसियू पनि कर्मचारी कटौतीसँगै बन्द भएका छन् ।

कोरोनाअघि तीन बेड आइसियू/भेन्टिलेटर रहेकामा संक्रमितको चाप बढेसँगै २४ पुर्‍याइएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३१ असारमा निर्णय गर्दै १ साउनदेखि करारका सबै कर्मचारी कटौती गरेपछि विगतमा दिँदै आइएको सेवा दिन सकस भएको अस्पतालका सूचना अधिकारी नवराज गौतमले बताए ।

‘करारका ६८ कर्मचारीको म्याद नथपिएपछि बिरामीले निःशुल्क पाउने २१ बेड आइसियू सेवा दिन नसकिने अवस्था आयो । अब बिरामी धेरै आए पनि तीनवटाभन्दा धेरै आइसियू बेड चलाउन सकिँदैन । पिसिआर सेवा पनि पहिलेजस्तो दिन सक्ने अवस्था छैन । अस्पतालको सेवा प्रवाहमा सकस भएको छ,’ उनले भने । निजी अस्पतालमा आइसियू/भेन्टिलेटरमा बसेको एकै दिनको ४० हजारभन्दा बढी तिर्नुपर्छ ।

कर्मचारी कटौतीसँगै अस्पतालले रेबिजविरुद्धको इमुनोग्लोबुलिन भ्याक्सिन सेवा पनि बन्द गरेको छ । यो भ्याक्सिन बिरामीमा गम्भीर घाउ भएको जटिल अवस्थामा दिइन्छ, जुन रेडिमेड एन्टिबडी हो । निजी अस्पतालले यो भ्याक्सिनका लागि एक लाखसम्म शुल्क लिन्छन् । कर्मचारी अभाव भएको भन्दै टेकु अस्पतालले मंगलबारदेखि कोरोनाविरुद्धको भ्याक्सिन सेवा पनि बन्द गर्नुपर्ने अवस्था आएको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend