विचारको करिडोरमा उभिएकी राधिका कल्पित

सिर्जन अविरल
१५ माघ २०७७, बिहीबार १२:१८

तीन दशकदेखि लेखन यात्रामा सक्रिय भएर पछिल्लो समयमा निकै चर्चामा आएकी कविको नाम हो – राधिका कल्पित । उनका कवितामा विद्रोह चेत भेटिन्छ । यिनले वर्षौंदेखि मानव मस्तिष्कमा चुलिएर रहेको खियालाई धुलिसात हुने गरि कविता लेखेको पाइन्छ । यिनी आफ्ना कवितामार्फत् विद्रोहको चिराग बालेर नारी सत्ताको स्थापना चाहन्छिन् ।

विशेषतः समस्त बेथिति र विसंगतिविरूद्धमा कलम चलाउने कल्पित नारीमुक्ति आन्दोलनकी अभियन्ता पनि हुन् । उनका कवितामा कलात्मक शैलीको उच्च रुप भेट्न सकिन्छ । कविताका गम्भीर पाठकलाई थाहा छ, वर्णन खोज्दैन उत्कृष्ट कविताले ।

यिनले विषयलाई तन्काएर निकै लामो गरि कवितामा स्पष्ट वर्णन गरेको पाइन्छ । कविताभित्र पसेपछि यिनले कवितामा गरिरहेको वर्णन पनि कत्ति झर्को लाग्दो हुँदैन । यिनी मुलतः कविताकै शक्तिमा नारी सत्ताको स्थापना चाहन्छिन् । युगौंदेखि शासित र शोषित वर्गको चित्र मात्र होइन तिनै वर्गको शक्तिशाली र निकै धारिलो आवाज पनि भेटिन्छ उनका कवितामा ।

‘बरफका कोइलाहरू’ काव्यसंग्रह पढ्दै जाँदा यिनी विद्रोहकी नायिकाजस्तो लाग्छ, हरेक पाठकलाई । यिनी आजका पाठकका लागि आजकै कविता पस्कने कवि पनि हुन् । वाचन कला पनि उस्तै बेजोड भएकी कवि कल्पित यो समयलाई चरप्प समातेर रहरलाग्दो कविता लेख्‍ने कवि हुन् । उनी आफ्ना कवितामार्फत् हतारमा कुनै कुरा भनिरहेकी हुन्‍नन् । न त कविता सकिँदा भन्‍नको लागि कुनै कुरा नै बाँकी राखेकी छिन् । बेथितिमा बाँचिरहेको समयलाई सल्काएर कवितामा विद्रोहको तर कलात्मक भाषा बोल्ने कवि पनि हुन्, राधिका कल्पित ।

उनको एउटा कवितांश –

तिमी कालिदास बन्यौ
तिमी मनु बन्यौ
तिमी कौटिल्य बन्यौ
तिमीले कर्मकाण्ड लेख्यौ
तिमीले थर्मशास्त्र लेख्यौ
तिमीले नीतिनियम बनायौ
लेख्यौ इतिहास र लेखिदियौ
तमाम नारी पात्रहरू
कठपुतली
निरीह
नाजुक
अबला ।

धेरै बग्यो समय, पानी र आँशु
अब कृपया
मलाई मेरै कलमले
मेरै मगजले
मेरै मसी भरेर
मेरै भाषामा
लेख्‍न देऊ
तिमीले नदेखेका तथ्यहरू
तिमीले नलेखेका कथ्यहरू ।
(इतिहासको पुनर्लेखन पृ . ८६ )

No description available.

यथार्थमा नेपाली साहित्यको काव्यफाँटमा ढिलो गरि उदाएर छिटो चर्चामा आएकी कवि हुन् यिनी । यिनी अरु कसैको भरमा नभएर आफ्नै कविताको जगमा उभिएकी कवि हुन् । निकै मर्मभेदी भाव, सरल अभिव्यक्ति, कलात्मक शैली र विद्रोहचेत यिनका कविताको मुल विषय हुन् । यिनले मसिना कविता पनि लेखेकी छन् । प्रायः यिनका सबै कविताहरूमा सरल विम्बको प्रयोग पाइन्छ । विचारका ज्वारभाटा पाइन्छ । राज्यबाट बर्षौदेखि उपेक्षित, सीमान्तकृत, दूरदराज र पिँधका मान्छेहरूको स्पष्ट आवाज भेटिन्छ यिनका कवितामा ।

आफ्नै कविताको ओजमा पृथक परिचय बनाएकी कवि हुन् राधिका कल्पित । उनी पनि लेख्छिन् प्रेमको कविता । प्रेमकै भाषा बोल्दा पनि निकै सजग भएर शिष्ट र शालीन बाटोबाट मनोहर भाव व्यक्त गरिरहेकी हुन्छिन् कवि । उनकै एउटा कवितांशमा उनलाई यसरी पढ्न सकिन्छ –

तिमी जीवनमा झुल्केपछि हो
घाम उज्यालो लाग्‍न थालेको
तिमीलाई देखेपछि हो
जून शीतल लाग्‍न थालेको

मैले चराहरूको गीत बुझ्‍न थालेको
तिमीलाई सुनेपछि हो
ऐनासँगको पुरानो दुस्मनी मेटिएको
तिमीसँग नजर जुधेपछि हो

हो
तिमीसँगै हिँडेपछि
हाँसोसँगको दूरी छोटियो
तिमीले छोएपछि
पवनको स्पर्शले पोल्न छाड्यो

आए एकछिन सँगै पिऊँ
एक कप तातो कफी
उडौँ तातो बाफसँगै
र पुगौँ अन्तरिक्षमा
हात समातेर एक अर्काको
घुमौँ फनफनी तारा मण्डलको स्वर्णीम सहर ।
( तिमीलाई भेटेपछि- पृ . ७६ )

विचार, भाव, शिल्प र प्रयोगशीलताका दृष्टिले कवि कल्पित परिपक्‍व कवि हुन् भन्‍न जीवन्त उदाहरण हो, संग्रहभित्रकै उनको यो अर्को कविता –

तिम्रा आँखाबाट
तप्प तप्प खसेर आँशुहरूले
कतै नगरुन् आत्महत्या भनेर
जब थाप्‍न पुगेँ दुवै हत्केला
त्यही दिनदेखि
हतकडी लागेको छ
मेरा हातहरूमा
तिम्रा आँशुहरूलाई
जबरजस्ती गर्न खोजेको आरोपमा ।
( आरोपित हत्केलाहरू- पृ . ६९ )

यिनले आफ्ना मसिना कविताभित्र पनि गहन र जगैदेखि हल्लाउने विचार संप्रेषण गरिरहेकी हुन्छिन् ।

संग्रहभित्र समावेश कविताहरूलाई समय दिएर अन्तिम सम्पादन गर्न सकेको भए यो कृति नेपाली साहित्यको कविता विधामा अर्को कोशे ढुङ्गा बन्न सक्थ्यो । संग्रहभित्र यसका लागि थुप्रै आधारहरू भेटिन्छन् । थुप्रै कविताहरुमा भेट्न सकिने कविताको गुरुत्वलाई केही कविताले उसै गरी बोक्न सकेन कि भन्ने चिन्ता हो मेरो । युगका बेथितिहरू सल्काउने कविता लेख्दै आएकी कल्पितले आफ्ना कवितामार्फत् यो समयको कुरुपता मात्र बोलेकी छैनन् भर्भराउँदो उज्यालो पनि देखाएकी छिन् । वर्तमान समय र समाजको सिंगो चित्र भेटिन्छ उनका कविताहरूमा ।

यिनका छोटा कविताहरूले पनि उत्तिकै तानिरहेको हुन्छ पाठकलाई । यिनी झट्ट हेर्दा मसिना लाग्‍ने आफ्ना कविताहरूमा पनि खास केही भनिरहेकी हुन्छिन् –
प्रिय सखी,
तिमी को-को छुटे भनेर पीर गरिरहन्छ्यौ
जीवन त यात्रा न हो
कतिखेर को भेटिन्छ
कहाँनिर को छुट्छ
कसलाई के थाहा ?

तिम्रो विहेमा जन्ती आएका
प्रिय र आफन्त मान्छे
सबै कहाँ तिम्रो मलामी जान्छन् र !
जस्तो कि
बेहुला बनेर जन्ती आएको
तिम्रो दुलाहा ।
( प्रिय सखी ! – पेज १३४)

No description available.

यिनका प्रत्येक कवितामा गहिरो भाव हुन्छ । यिनी कवितालाई त्यतिबेला मात्र टुङ्ग्याउँछिन् जब पाठक कवितामै अल्झिरहेको हुन्छ । यिनी कवितालाई फरक तरिकाले टुङ्ग्याइरहेकी हुन्छिन् । मसिनो कविता होस् या लामो हरेक कवितामा केही न केही नवीन सन्देश छोड्न सिपालु कवि हुन कल्पित ।

….र
एक दिन
अचानक थलियो फूल
हरायो आभा र सौन्दर्य
कक्रक्क परेर फत्रक्क खस्यो
नमाली मलामी गयो
न भमराहरूले
बरखी बारे ।
( नियति- पेज १२७)

कुनै-कुनै कवितालाई टुङ्ग्याउन तयार नदेखिएझैँ लाग्‍ने कवि कल्पितले यति मसिना कविता पनि लेख्छिन् भन्‍ने सोच्‍नै मुस्किल हुन्छ । शीत उभाएर घैला भरेजस्तो गहिरो मिहिनेतकै उपज हुन्, चिटिक्क र अर्थपूर्ण लाग्‍ने यी मसिना कविता ।

तिमीलाई अनफ्रेन्ड गर्दैमा
मनका नामहरू मेटिने होइन रैछ
सेभ्ड कन्ट्याक्ट लिस्टबाट हटाउँदैमा
कण्ठस्थ तिम्रो नम्बर नभुलिँदो रैछ
भेट्न छोड्दैमा
हरेक साँझले सम्झनाहरू छोडेर नआउँदो रहेछ
कति सजिलै भन्यौ तिमीले
मानौँ आफ्नै छाया छलेर भाग्‍न सकिन्छ
यादहरू कहाँ छोडिन्छन् र
सर्पले काँचुली छोडेजस्तै

प्रश्न यही मात्रै छ तिमीलाई
के चपक्क अर्को हात समाउँदैमा
लपक्क टाँसिएका हाम्रा स्पर्शका स्मृतिहरू हराउँछन् र ?
के सपक्कै मायाको नयाँ पछ्यौरी ओड्दैमा
झपक्कै लहरिएका मनका ज्योतिहरू बिलाउँछन् र ?
(ब्रेक अप – पेज १०५ )

आजको प्रविधिमा लपक्क टाँसिएर रहेको समयलाई उधिनेर केही भनिरहेकी छन् कविले । भावनात्मक सम्बन्धमा जीवित स्पर्श कति प्रिय र जीवन्त हुन्छ भन्‍ने भाव उनको ब्रेकअप कवितामा भेट्न सकिन्छ । टाढिँदै जाँदा झनझन् नजिकिने यादहरूको कोलाजले कसरी ऐठन तुल्याउँछ र नि:स्वार्थ प्रेमको गहिराइ कति अनन्त छ भन्ने बुझ्न उनको यही कविता पर्याप्त छ ।

जब आँसु लेखें
कुण्ठा लेखिस् भन्यौ
जब प्रेम लेखेँ
भोगाइ लेखिस् भन्यौ
अनुभूति लेखेँ
मनगढन्ते लेखिस् भन्यौ
जीवन लेखेँ
मिथ्या लेखिस् भन्यौ
एक दिन झुट लेखिदिएँ
तब बल्ल सत्य लेखिस् भन्यौ ।
(इतिहासको पुनर्लेखन – पेज ८६ )

सत्य स्वीकार्न नचाहने र असत्यको खोल ओढेर बाँचिरहेको यान्त्रिक समय समाजलाई तिखो प्रहार गरेकी छन् प्रस्तुत कवितामा । मानवीय संवेदनालाई बेवास्ता गर्ने र भावनालाई तराजुमा जोख्‍न खोज्‍ने ढोंगी समाजप्रति कविको तीव्र आक्रोश भेटिन्छ ।

अन्ततः कवि कल्पित यो समयको आवाज बोल्ने शक्तिशाली कवि हुन् । मस्तिष्कको बाटो छाडेर यिनले मनको बाटोबाट कविता लेखेकी छिन् । कोमल मनको अभिव्यक्ति नै यिनका कविताको लय हो । जीवन भोगाइ र कवि मनको संवेदनालाई अर्थपूर्ण बनाएर काव्यिक हरफहरूमा पोत्न सिपालु कवि हुन् यिनी ।

कवितासंग्रहको शीर्षक नै काव्यिक लाग्छ । सजिलै जो कोही पाठकको पनि मन छुन सक्छ ‘बरफका कोइलाहरू’ले । आफ्नो स्पष्ट विचारसहित कवितामा उभिएकी कवि कल्पितलाई पढिसकेपछि यिनी प्रतिभाशाली कवि हुन् भन्नेमा कसैको दुईमत नहोला ।