बालबालिकाहरुको शिक्षामा ऐतिहासिक सन्दर्भ

मातृका पौडेल
१५ माघ २०७७, बिहीबार ११:४१

स्वस्थ शरीर, कुशाग्र बुद्धि र असल चरित्रका सन्तान होउन् भन्‍ने चाहना हरेक अभिभावकको हुन्छ । तर आमा–बाबुको इच्छा विपरीत सन्ततिका फरक गतिविधि देखिन थालेपछि उनीहरु सजिलैसँग भन्छन्, ‘आमा–बाबुको मन केटाकेटी माथि र केटाकेटीको मन ढुंगामुढा माथि ।’

विश्वव्यापी कोरोना भाइरसको महामारीले अहिले विद्यालयहरु बन्द छन् । आसन्‍न महिनाभित्रै यस महामारीको अन्त्य भएमा हाम्रा विद्यालयहरुको नयाँ शैक्षिक सत्र सुरु हुनेछ । र, हरेक वर्षजस्तै अभिभावकहरू आ-आफ्ना सन्ततिका लागि यथाशक्य राम्रो शैक्षिक वातावरण भएका विद्यालयहरू खोज्‍न भौँतारिएका भेटिनेछन् ।

हुन त आफ्ना बालबालिकाहरुको शिक्षा अब्बल हुनुपर्छ भन्‍ने चिन्ता एउटा अभिभावकको मात्र नहुनुपर्ने हो । तर चिन्ता लिनुपर्ने राष्ट्रले नलिइ दिएपछि अभिभवकको चिन्ता र चुनौती थपिने नै भयो ।

‘आजकलका केटाकेटीहरु फिटिक्कै टेर्दैनन् ।’
‘आमा–बाबुको कुरा कसले खाने अब !’
‘पढे भनेर के गर्नु, बुद्धि दुई पैसाको छैन !’
‘व्यवहारले नच्याँप्दासम्म यिनीहरुको चेत खुल्दैन ।’

वर्तमान समाजका केटाकेटी वा युवायुवतीले अभिभावकहरूबाट दैनिक सुन्‍नैपर्ने भनाइ हुन् यी । लय र आवृत्ति नमिलेजस्तो लागे पनि यस्ता कथनहरु अभिभावकहरुको निराशा र नयाँ पुस्ताप्रतिका आवेशहरु हुन् । व्यवहारसँग नजोडिएको औपचारिक शिक्षा र त्यसको बेढंगको दिक्षाबाट दिक्क भएका अभिभावकको चिन्तासँग पनि यस्ता अभिव्यक्तिहरु जोडिएका हुन्छन् ।

जीवनोपयोगी सिप र कुशलता नभएका सन्ततिहरुको भविष्यको चिन्ता र डर हरेक अभिभावकलाई हुन्छ । जसले गर्दा उनीहरुले सन्तानको पढाइलाई मुख्य रुपले उपार्जनको लागि सिप सिक्ने अर्थमा मात्र बुझेका हुन्छन् । अभिभावकले बुझ्‍ने गरेको ‘नटेर्ने बच्चा’को अर्थ धेरै तरिकाले लगाउन सकिन्छ । अभिभावकको ‘टेर्ने बच्चा’ आजको लागि ठिकै होला । तर भविष्यको लागि बेठिक हुन्छ भन्‍ने कुरा उनीहरुलाई बुझाउनु पर्छ । अभिभावको कुरा ‘टेर्नु’ निरपेक्ष कुरा होइन ।

अर्कोतिर, बच्चाले ‘कुरा खाने’ भनेको अभिभावको वचन खेर नफाल्ने भनेको हो । उचित वा अनुचित कुरा नछुट्ट्याइकन आज्ञा शिरोपर गर्नु बाल मनोविज्ञान विपरीत हुन्छ । तर अभिभावकहरुले यसलाई अत्यन्त सामान्य अर्थमा मात्र बुझिरहेका हुन्छन् । नयाँ पुस्ताले आफ्नो सोच, आदर्श र बुझाइमा टेकेर उसलाई बेठीक लाग्‍ने विषयप्रति विमति जनाएको हुन्छ । पुरातन सोच र रूढीग्रस्त मानसिकताविरूद्ध आफ्नो अभिमत जाहेर गरेको हुन्छ । त्यसलाई अभिभावकले सहज रुपमा लिन सक्नुपर्छ ।

अंग्रेजीमा एउटा भनाइ छ, ‘Known is a drop and unknown is an ocean’ अर्थात थाहा पाइएका कुराभन्दा थाहा पाउन बाँकी कुराहरू असीमित हुन्छन् । पुस्तान्तरताले उनीहरुको सिकाइको रूचीमा धेरै असर पारेको हुन्छ । उनीहरुका सिकाइका स्रोतहरू केवल अभिभावकहरू मात्र हुँदैनन् । उनीहरुको आफ्नै सामाजिक परिवेश, दौंतरीहरु र प्रवृत्तिहरु सिकाइका प्रमुख आधार बनेका हुन्छन् । आफूले सिकाएकोबाहेक अन्य सिकाइलाई अभिभावकले बेकार ठान्दा बालबालिकाको बौद्धिक र सर्वाङ्‌गिण विकासमा नकारात्मक असर पर्छ ।

शिक्षा मनोवैज्ञानिक शली स्यान्ड्लर भन्छन्- ‘अभिभावकहरूका आफ्नै संवेगात्मक कुरा, विचार र शैलीले नजानिँदो प्रकारले बाल मस्तिष्कमा असर पारिरहेको हुन्छ । र, सोचिएको भन्दा अत्यन्तै कम सकारात्मक असर परेको हुन्छ ।’

अनुसन्धानले अभिभावकले थोपरेको सिकाइभन्दा स्वतन्त्र ढंगले खेल्दै सिक्दै गरेको बच्चाको सिकाइको गति अब्बल हुने देखाएको छ । स्यान्ड्लर थप्छन्- ‘खेलले बालबालिकासँग उचित सञ्‍चार आदानप्रदान गर्न केन्द्रीय भूमिका खेलेको हुन्छ । शारीरिक एवं मानसिक विकासको यस्तो अवस्थामा बौद्धिक तर्कशीलता र भाषिक क्षमता कमजोर हुने हुँदा कुराकानी र व्याख्याबाट कम कुरा मात्र बुझ्छन् । कसैले लगाएको कामबाट भन्दा आफैं संलग्‍न रहेका खेलकुद लगायत अन्य शारीरिक गतिविधिबाट सहज ढंगले विषयवस्तुलाई बुझ्‍न सक्छन् ।’

बाल मनोवैज्ञानिक मोर्टन चिथिक भन्छन्- ‘आफ्ना सन्तानलाई खेलकुदप्रतिको स्वतस्फुर्त इच्छालाई प्रेरित गर्नु जिम्मेवार अभिभावकको दायित्व हो । यसले बालबालिकालाई कुरा बुझ्‍न, बुझाउन, लयबद्ध क्रियाकलापहरू गर्न, समस्याको समाधान गर्न र दुनियाँको स्वरुप बुझ्‍न सघाउँछ । उनीहरुका क्रियाकलापका मौलिक अनुभवले भविष्यका चुनौतीसँग जुध्‍न सक्षम बनाउँछ ।’

मानव जातिको रक्षा र उनीहरुले निर्माण गरेको सभ्यताको रक्षा गर्न हरेक युगमा नयाँ सिप र कौशलको खाँचो पर्छ । त्यसको निम्ति नविनतम खोज र आविष्कारको खाँचो हुन्छ । यिनै आवश्यकता र सीप समाजका इकाइहरुमा खपत हुन्छन् ।

समाजको एउटा कालखण्डमा विकसित ज्ञान र सिपले अर्को सामाजिक परिवेशलाई थप बलियो बनाउन समेत सहयोग पुर्‍याएको हुन्छ । यस्तै अनेकौं क्रम उपक्रमहरूमार्फत मानव जातिले विकासको वर्तमान उचाई हासिल गरेको हो । अभिभावकले थोपरेको सूचना र ज्ञानले मात्र बच्चाहरुले भविष्यको चुनौती सामना गर्न सक्दैनन् । इतिहास, ज्ञान र व्यवहारको युगसापेक्ष बुझाइले निकै ठूलो महत्व राख्छ ।

झण्डै ३० हजार वर्ष पहिले पृथ्वीमा घुमन्ते मानव बसोबास गर्दथे । अहिलेजस्तो स्कुले शिक्षा थिएन । तर मानव जातिलाई नयाँ कुरा सिक्ने जिज्ञासा थियो । त्यसोभए उनीहरुले कसरी नयाँ कुरा सिक्थे होलान् त ?

त्यतिबेला घुमन्ते सिकारी युग थियो । शैशवकालमै बालबालिकाले वन्यजन्तुको शिकार गर्थे । एक अर्कोलाई लखेट्थे । एक अर्काको सामान खोसाखोस गर्थे । तर, त्यतिबेलाका बच्चाहरुले माथिका सबै कुरा एउटा खेलको रुपमा गर्थे भन्‍ने अनुमान मानवशाश्त्रीहरूको छ । उनीहरुले ठूलो भएपछि जे गर्नुपर्थ्यो र जान्‍नुपर्थ्यो, त्यही कुरा सिक्नुपर्ने हुन्थ्यो । त्यसैले अभिभावकले बच्चाहरुलाई मनलाग्दो समयसम्म दौड्न, उफ्रिन, झगडा गर्न र भौतारिन समेत स्वतन्त्रपूर्वक दिने गर्दथे । यसले उनीहरुलाई प्राकृतिक रुपमा नै जीवनोपयोगी सिप सिकाउँथ्यो ।

अमेरिकाको बोस्टन कलेजका शिक्षा मनोवैज्ञानिक प्राध्यापक डा. पिटर ग्रेको एउटा प्रख्यात आलेख ‘अ ब्रिफ हिस्ट्री अफ एजुकेशन’ भन्‍ने छ । उक्त आलेखमा उनले भनेका छन्, ‘मानव जातिले कृषि पेसा सुरु गरेको करिब १० हजार वर्ष रहेको अनुमान छ । कृषि युगले मान्छेको जीवनमा आमूल परिवर्तन ल्याइदियो । घुमन्ते सिकारी युगमा युक्ति, बुद्धि र तिकडमले जिविका चल्थ्यो । जंगली जनावर र वनस्पतिबारे जानकारी भए पुग्थ्यो । शारीरिक श्रम निकै कम प्रयोग हुन्थ्यो ।’

संक्षेपमा भन्‍नुपर्दा त्यतिबेला लखेट्न, भाग्‍न, झम्टिन र उम्कन जान्‍नु नै ज्ञानको महारथ हासिल गर्नु हुन्थ्यो । डा. ग्रे भन्छन्, ‘पछिल्ला युगमा सुन्दै उदेक लाग्‍ने खेलकुदहरू सिकारी युगमा जीवनोपयोगी ज्ञान हुन्थ्यो । अर्थात खेल नै ज्ञान र ज्ञानका स्रोत नै खेल थिए ।’

त्यसको उल्टो कृषि युगमा खाद्यान्‍न पर्याप्त उत्पादन हुन थाल्यो । तर कृषि उत्पादन गर्न जनावरको सिकार गरेजस्तो सजिलो थिएन । स्थायी घरबार र सम्पत्तिको आवश्यकताको ज्ञानलाई कृषि युगले विश्वव्यापी मात्र बनाएन, मान्छेलाई लोभी र कपटी पनि बनाइदियो । प्रकृतिले उब्जाएको खोजेर खानु र आफैले उब्जाउनु भिन्‍न कुरा थिए । बालीनाली लगाउन मौसमको ज्ञान चाहिन्थ्यो । माटो, पानी, बिउको प्रजाती, किटपतंग, जीवजन्तु आदिबारे पनि उत्तिकै ज्ञान चाहिन्थ्यो । बाली रोप्‍न, हुर्काउन र संरक्षण गर्न पुनः नयाँ व्यवस्था गर्नुपर्ने हुन्थ्यो ।

प्रकृतिमा आफै फलेको कुरा टिपेर मानिसले आफैं उब्जाउन थालेपछि नयाँ व्यवस्थाको सिर्जना गर्नैपर्ने बाध्यता बन्यो । यसले बधुवा मजदुर उत्पादन गर्ने दास प्रथाको जन्म गरायो । कृषि श्रमको लागि कुनै खास सिप पनि चाहिँदैनथ्यो । त्यसैले धेरैभन्दा धेरै बालबालिकाहरूलाई खेतिपातिमा लगाइन्थ्यो । यसरी असीमित प्रतिभाका धनी बालबालिकाहरूलाई एकोहोरो र एकैनासको श्रममा लगाउँदा उनीहरुमा सिर्जनशीलता हराउँदै जान थाल्यो । स्वच्छन्द रूचीमा विचरण गर्नुपर्ने बालबालिकाहरुको बालसुलभ चञ्चलता बन्दी बन्‍न पुग्यो ।

विस्तारै शिक्षामा शासक वर्गको एकाधिकार रहने परिस्थिति निर्माण बन्दै गयो । र, श्रमिकहरूका बालबच्चाहरुको पहुँच शिक्षासम्म पुग्‍ने सम्भावनाको अन्त्य हुँदै गयो । तात्कालीन धार्मिक संस्थाहरूले पनि उच्च वर्गका बालबालिकाको लागि मात्र शिक्षा दिने गर्थे ।

समाजको माथिल्लो तहमा सीमित राजा महाराजाहरु र तल्लो तहमा ज्यामी तथा भूदासहरू हुन्थे । समाज एकदमै ठाडो र बन्द व्यवस्थामा जकडिएको थियो । केही विकसित मुलुकको अपवादबाहेक झण्डै १० हजार वर्षदेखि हालसम्म पनि मुलतः उस्तै प्रकृतिको कृषि श्रम जारी छ । वर्तमान शैक्षिक अवस्था पनि खासै सुध्रिएको छैन ।

आज पर्यन्त पनि नेपालको शिक्षाको स्तर अत्यन्तै कमजोर भएको विभिन्‍न अध्ययनले देखाएका छन् । सायद त्यसैलाई दृष्टिगत गरेर होला, नेपाल सरकारले हालै जारी गरेको राष्ट्रिय शिक्षा नीति- २०७६ मा युग सुहाउँदो शिक्षामा जोड नीति लिइएको छ । नेपालको शिक्षा प्रभावकारी बन्‍न नसक्नुका केही आधारभूत पक्षहरूबारे उल्लेख गरिएको छ ।

‘प्रारम्भिक बालविकास कार्यक्रम प्रभावकारी नहुनु, शिक्षकहरूको क्षमता र सुविधा न्युन हुनु, बालबालिकालाई विद्यालय भर्ना गराउन नसक्नु, भर्ना भएपछि निरन्तरता दिन नसक्नु, विद्यालय शिक्षालाई निःशुल्क बनाउन नसक्नु, शिक्षालाई रोजगारीसँग जोड्न नसक्नु, शिक्षित बेरोजगारको संख्या बढ्दै जानु’ आदि जस्ता कारणहरुलाई प्रमुख चूनौतीको रुपमा औंल्याइएको छ ।

शैक्षिक क्षेत्रमा आधारभूत सुरक्षाको कुनै मापदण्ड बन्‍न सकेको छैन । उच्च शिक्षाको अवस्था हेर्दा झनै कहाली लाग्दो छ । राज्यले शिक्षामा पर्याप्त लगानी गर्न र राजनीतिक प्रभावबाट मुक्त गर्न नसक्दा प्रतिस्पर्धा, उत्पादनमुखी र अनुसन्धानमुलक शिक्षा बन्‍न सकेको छैन । परिणामस्वरुप हाम्रो शिक्षाको गुणस्तर दक्षिण एसियामै अत्यन्त कमजोर रहेको छ ।

मुलुकको शैक्षिक वातावरणलाई विज्ञान र प्रविधिमैत्री बनाउन शिक्षा मन्त्रालय अन्तर्गतका संघ संस्थाहरू र सरोकारवाला इकाइहरूको प्रभावकारी भूमिका शून्य प्रायः छ । शिक्षा क्षेत्र परीक्षामुखी मात्र छ । आवश्यक दक्ष जनशक्तिको अभाव छ । सार्वजनिक-निजी साझेदारीको स्थिति दयनीय छ ।