तथ्यलाई तोडमरोड गर्दै सनसनी समाचार बनाउने प्रवृति चुनौतीपूर्ण सत्यलाई सनसनी र तथ्यलाई तोडमरोड गर्ने अनलाइनहरुको संख्यामा बढोत्तरी हुँदै जाँदा व्यवसायिक र वर्षौंदेखि तथ्यको खोजीमा तल्लीन भएकाहरुले समेत नाक छोप्‍नु पर्ने स्थिति बनेको छ भने हामी फरक छौं भनेर चिनाउनुपर्ने चुनौती पनि छ ।

लेखाजोखा न्युज
१५ माघ २०७७, बिहीबार ११:४२

कोभिड-१९ महामारीको चुनौतीपूर्ण समयमा जन्मिएको लेखाजोखा न्युज डटकम खोपले जगाएको नयाँ आशासहित थप बलियो भएर आमपाठकको अदालतमा उपस्थित भएको छ । पत्रकारिताको डिजिटल सागरमा लेखाजोखाको उपस्थितिले एकैदिनमा संसारका बेथितिलाई निमिट्यान्‍न पार्न सक्छ भन्‍ने हाम्रो दाबी होइन ।

नेपाल प्रेस काउन्सिलको तथ्यांक अनुसार हालसम्म दुई हजार ४५८ अनलाइन समाचार पोर्टलहरु दर्ता भएका छन् । यस आर्थिक वर्षको सुरुवातदेखि माघ ८ गतेसम्मको तथ्यांक अनुसार ३२० अनलाइन समाचार पोर्टलहरु दर्ता भएका छन् । जसमध्येको एउटा हो, लेखाजोखान्युज डटकम । प्रसिद्ध दार्शनिक इडवार्ड डे बोनोले भनेका छन्, “यदि तिमी अवसरको प्रतीक्षामा छौ भने तिमी पनि भीडको सदस्य बन्‍नुपर्छ ।” हामी यही भीडमा सामेल भए पनि फरक पहिचानका साथ उभिएको सदस्यलाई पाठकले अवश्य चिन्‍नुहुनेछ भन्‍नेमा पनि हामी विश्‍वस्त छौं ।

१५ औं शताब्दीको मध्यतिर युरोपमा जोहानेस गुटेनबर्गले छापाखानाको विकास गरेपछि सुरु भएको छापा पत्रकारिताको परम्परागत अभ्यास रेडियो र टेलिभिजन हुँदै डिजिटल चरणमा आइपुगेको छ । प्रविधिको चमत्कारसँगै पत्रकारिताका आयाम पनि परिवर्तन भएका छन् । प्रविधिको व्यापक पहुँच र सूचना प्रवाहको गतिसँगै सूचनाको तृष्णा पनि तीव्र बनेको छ । सञ्‍चारमाध्यको सहज उपलब्धताले आम पाठकका रुचिलाई विविधीकरण गरेको छ भने पाठकसमक्ष सूचनाको प्राप्ति र अभिव्यक्तिका विकल्पहरु पनि विस्तार हुँदै गएका छन् ।

मूल प्रवाहका आममाध्यमलाई सामाजिक सञ्‍जाल र इन्टरनेटको व्यापकताका कारण नागरिक पत्रकारिताले छलाङ मारेको अवस्था छ । सेकेण्डमै सयौं समाचार र सूचनाको वेग चलिरहेको छ । यस्तो बेगमा एकछिन अडिने धैर्यता नगर्दा तथ्यबाट चिप्लिने खतरा पनि त्यति नै धेरै छ । हाम्रो यात्रा तथ्यको खोजीमा निरन्तर हुनेछ भन्‍ने कुरा आगामी दिन थप स्पष्ट हुँदै जानेछन् । सत्यलाई सनसनी र तथ्यलाई तोडमरोड गर्ने अनलाइनहरुको संख्यामा बढोत्तरी हुँदै जाँदा व्यवसायिक र वर्षौंदेखि तथ्यको खोजीमा तल्लीन भएकाहरुले समेत नाक छोप्‍नु पर्ने स्थिति बनेको छ भने हामी फरक छौं भनेर चिनाउनुपर्ने चुनौती पनि छ ।

इन्टरनेट र एउटा ल्यापटपको भरमा संसारलाई त्रसित र भयभित पार्न सक्ने र भयभित संसारलाई शान्त पार्नसक्ने बलशाली गुण भएका कारण अनलाइनहरुको भिडमा कतिपयले यसको दुरुपयोग गर्दै फाइदा उठाइरहेका छन् । रहर र लहडका भरमा सुरु गरिएका अनलाइनहरु चाँडै बन्द भएको अवस्थालाई पनि हामीले राम्ररी बुझेका छौं ।

तथ्यको बेवास्ता गर्दै हामी विचलित भएमा सत्ता जवाफदेहीविहीन मात्र होइन, अधिनायक पनि बन्‍न सक्छ । अनि लोकतन्त्र साढे चार अक्षरको आयतनमा सीमित हुन जान्छ । यो कहालीलाग्दो अवस्थालाई ध्यानमा राख्दै पाठकको विश्‍वासको जगमा उभिएर तथ्यको खोजी गर्दै तथ्यांक केलाएर समाचारको स्वरुपमा सूचना पस्किनु नै लेखाजोखा न्युज डटकमको कर्तव्य हुनेछ । सत्ता र शक्तिकेन्द्रका हरेक गलत कदमहरुको हामीले लेखाजोखा गर्नेछौं र जनताको कठ‌घरामा त्यस्ता गलत पात्र र प्रवृतिलाई उपस्थित गराउने प्रयास हुनेछ । पत्रकारिताका आधारभूत सिद्धान्त तथ्यको खोजी, सन्तुलित र विश्वसनियता (एबीसी) बाट हामी कत्ति पनि डगमगाउने छैनौं ।

अनलाइनको औसत ट्रेन्डलाई हामीले पछ्‌याउने छैनौं । संख्यात्मकभन्दा पनि अनलाइन पत्रकारितामा विश्‍वसनियताको बाटो विकास गर्दै गुणस्तरको गोरेटो कोर्ने प्रयास हाम्रो प्राथमिकतामा पर्छ । डिजिटल पत्रकारितालाई थप व्यवसायिक तथा शुद्धीकरण गर्ने अभियानमा हाम्रो सक्रिय साथ र ऐक्यबद्धता हुनेछ ।

पत्रकारिता सत्तालाई खुसी पार्न सक्ने पेसा होइन र बनाइनु हुँदैन भन्‍ने पक्षमा हाम्रो चट्टानी अडान छ । सत्ता र कुनै शक्ति केन्द्र वा पक्षसँग हाम्रो कुनै पूर्वाग्रह छैन, प्रश्नहरू अवश्य हुनेछन् । समृद्धिको नारा कागजमा होइन आधारभूत जीवन जिउन नसकेका आम जनताका पक्षमा केन्द्रित हुनुपर्छ भन्‍ने हाम्रो स्पष्ट मान्यता छ । जहाँ जनताको आकांक्षा र सत्ताको स्वार्थ बाझिन्छ, हामी विनाशर्त जनताको पक्षमा हुनेछौं । परिवर्तनलाई आत्मसात् गर्दै हामी पूर्ण लोकतन्त्र, समावेशी समाज र साम्प्रदायिक सद्‌भाव, स्वच्छ न्याय प्रणाली, सुशासन, उदार अर्थव्यवस्थाप्रति प्रतिबद्ध रहनेछौं ।

विगत ६ महिनाको सिकाइबाट हामी परिष्कृत हुँदै पाठकको अदालतमा उपस्थित भएका छौं । पाठक नै हाम्रो अन्तिम न्यायाधीश हुन् र पाठकको आदेश नै हाम्रा लागि परमादेश हुनेछ । आदरणीय पाठकबाहेक अरू कसैको प्रमाणपत्र हाम्रो अपेक्षा होइन ।