संसद् विघटनविरुद्ध प्रचण्ड-नेपाल समूहको विरोधसभा आज बुटवलमा

लेखाजोखा न्युज
१५ माघ २०७७, बिहीबार १०:१९

काठमाडौं । संसद् विघटनविरुद्ध नेकपाको प्रचण्ड-नेपाल समूहले बिहीबार बुटवलमा विरोध सभा गर्दैछ । नेकपा संघर्ष समिति लुम्बिनी प्रदेश कमिटीको आयोजनामा बुटवलमा दिउँसो १ बजे विरोध सभा सुरु हुने भएको छ ।

विरोध सभालाई पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाललगायत नेताहरुले सम्बोधन गर्ने भएका छन् । मौसम प्रतिकूल भएर विमानस्थलबाट उडान प्रभावित भएमा प्रचण्ड र नेपाल हेलिकोप्टरमार्फत बुटवल जाने आयोजकले जनाएको छ ।

सभा सुरु हुनुअघि बुटवलको उत्तरतर्फ गोलपार्क, पश्चिमतर्फ जितगढी, पूर्व–दक्षिणतर्फ राजमार्ग चौराहाबाट जुलुस निस्कने छन् । सभामा साविक लुम्बिनी अञ्चलका ६ वटै र आसपासका जिल्लाबाट करिब २० हजार कार्यकर्ता सहभागी हुने आयोजकको दाबी छ ।

गोलपार्कबाट हुने जुलुसको नेतृत्व केन्द्रीय सदस्य ठाकुर गैरे, बामदेव क्षेत्री, बसन्त घर्ती र पुरुषोत्तम घिमिरेले गर्नेछन् । राजमार्ग चौराहाको जुलुसको नेतृत्व पार्टी स्थायी समिति सदस्य घनश्याम भुसाल, घनश्याम यादव र नारायण जीसीले तथा जितगढी किल्लाबाट शुरु हुने जुलुसको नेतृत्व स्थायी समिति सदस्य चक्रपाणी खनाल (बलदेव), ओनसरी घर्ती र राजु गुरुङले गर्ने छन् । जुलुसका सहभागीलाई तोकिएका नाराहरु मात्र लगाउन निर्देशन दिइएको छ ।

फाइल तस्बिर ।