महिला लिगमा आज पनि दुई खेल

लेखाजोखा न्युज
१५ माघ २०७७, बिहीबार ०९:२४

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा बिहीबार दुई खेल हुँदैछन् । बिहीबार हुने खेलमा स्याङ्जाको वालिङ नगरपालिका र उदयपुरको चौदण्डीगढी तथा दुई विभागीय टिम एपीएफ र पुलिस भिड्न लागेका हुन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा स्याङ्जाको वालिङ नगरपालिका र उदयपुरको चौदण्डीगढी नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । चौदण्डी र वालिङबीचको खेल बिहान साढे ११ बजे सुरु हुनेछ ।

बिहीबार वालिङ र चौदण्डी पहिलो जितको खोजीमा हुने छन् । लिगमा वालिङ २ अंक जोडेर छैटौं स्थानमा रहेको छ । पुछारमा रहेको चौदण्डीले अंक जोड्न सकेको छैन । यस्तै दोस्रो खेलमा दुई विभागीय टिम एपीएफ र पुलिस प्रतिस्पर्धा गर्ने छन् । एपीएफ र पुलिसबीचको खेल दिउँसो साढे २ बजे सुरु हुनेछ ।

एपीएफ लगातार चौंथो जित निकाल्ने योजनामा रहेको छ । एपीएफले ३ खेलमा ९ अंक जोडेको छ । एपीएफ शीर्ष स्थानमा रहेको छ । पुलिस भने दोस्रो जित निकाल्ने योजनामा रहेको छ । दोस्रो स्थानको पुलिसले ५ अंक जोडेको छ ।