३१ साउन २०७९, मंगलबार

बाजुराको बुढीगंगामा आज पुनः मतदान हुँदै

लेखाजोखा न्यूज

२३ असार २०७९, बिहिबार ६:१७

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा स्थानीय तहको पुनः मतदान हुँदैछ । वैशाख ३० को निर्वाचन निष्पक्ष नभएपछि आज पुनः मतदान हुने भएको हो ।

पुनः मतदानका लागि पालिकाभर १ हजार बढी सुरक्षाकर्मी परिचालित भएका छन् । पालिका १० वटै मतदान स्थलमा सेनासहित चारवटै सुरक्षा निकायका गरी करिब एक सयको हाराहारीको दरले सुरक्षाकर्मी परिचालन गरिएको छ ।

संयुक्त सुरक्षा टोलीले मतदानस्थलवरिपरिका गाउँमा सुरक्षा गस्तीसमेत शुरु गरेका छन् । निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्थामा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए ।

‘हामीले निर्वाचनलाई भयरहित वातारणमा स्वच्छ र मर्यादित बनाउन सबै राजनीतिक दलको सहमतिका आधारमा प्रक्रिया अघि बढाएका छौं’ प्रजिअ अधिकारीले भने, ‘सबै मतदानस्थल र मतदान केन्द्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाबाट सिनियर अधिकृतको कमाण्डमा पर्याप्त सुरक्षाकर्मी परिचालन गरेका छौं ।’

निर्वाचनका लागि आवश्यक पर्ने सबै तयारी पूरा भइसकेकाले बिहान ७ बजेदेखि मतदान हुनेछ । नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रंग खाती र एमालेका रामबहादुर बानियाँ उम्मेदवार छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend