कांग्रेस चुनावबाट भाग्दैन, सर्वोच्चले गर्ने निर्णय स्वीकार्य हुन्छ : शेखर कोइराला

लेखाजोखा न्युज
१० माघ २०७७, शनिबार १४:५१

महेनद्रनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो पार्टी चुनावबाट नभाग्‍ने बताएका छन् । नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएका कारण कांग्रेसले चुनावबाट भाग्‍न नमिल्‍ने र समयमै निर्वाचन गराउनका लागि आन्दोलन गर्नेसमेत बताएका छन् ।

कांग्रेस कञ्‍चनपुरले शनिबार महेनद्रनगरस्थित पार्टी कार्यालय आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले संसद् विघटनविरुद्ध परेको रिटमा अदालतले गर्ने निर्णय कांग्रेसलाई स्वीकार्य हुनेसमेत बताएका छन् ।

अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा फैसला गरे पनि कांग्रेस आन्दोलनमै रहने नेता डा. कोइरालाले बताए । उक्त आन्दोलन वैशाख १७ र २७ मा निर्धारण गरेको मधयावधि निर्वाचनको सुनिश्चिताका लागि हुने उनको भनाइ थियो ।

“अहिले हामी संसद् विघटनको विरुद्धमा आन्दोलनमा छौं । अदालतले केपीजीको पक्षमा निर्णय गरे पनि हामी आन्दोलनमै रहन्छौं,” नेता कोइरालाले भने, “त्यो आन्दोलन वैशाख १७ मा हुने भनिएको निर्वाचनको सुनिश्चितताका लागि हुनेछ । कांग्रेस लोकतान्त्रिक पार्टी हो । हामी चुनावबाट भाग्दैनौं ।”

मुलुक अहिले जटिल मोडमा रहेको भन्दै उनले वैशाख १७ मा निर्वाचन नभए मुलुक द्वन्द्वमा फस्ने पनि ठोकुवा गरे । नेता कोइरालाले अदालतले निर्णय नगर्दासम्म कांग्रेस सडकबाट नफर्किने पनि बताए । माघ १३ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकले तेस्रो चरणको आन्दोलन तय हुने पनि बताए ।