सीमा विवाद समाधानका लागि भोलि भारत-चीनबीच नवौं चरणको सैन्य वार्ता हुँदै

लेखाजोखा न्युज
१० माघ २०७७, शनिबार १४:२३

नयाँ दिल्ली । भारत-चीनबीचको सीमा विवाद समाधानका लागि आइतबार नवौं चरणको सैन्यवार्ता हुने भएको छ । पूर्वी लद्दामा रहेको सीमा विवाद समाधानका लागि आइतबार चीनतर्फको मोल्दोस्थित लाइन अफ एक्चुअल कन्ट्रोलको क्षेत्रमा दुबै पक्षमा सैन्य वार्ता हुने अधिकारीहरुलाई उदृत गर्दै हिन्दुस्तान टाइम्सले जनाएको छ ।

यसअघि दुबै पक्षका उच्चस्तरीय सैन्य कमाण्डरबीच नोभेम्बर ६ मा सीमा वार्ता भएको थियो । गत मेदेखि दुबै पक्षबीच लद्दाख क्षेत्रमा सिर्जना भएको विवाद समाधान हुन सकेको छैन ।

जनवरी १२ मा भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणेले पूर्वी लद्दाखमा आफ्नो भूमिको रक्षा गर्न भारतीय सेना तयार भएको भन्‍ने अभिव्यक्ति दिएका थिए । भारीय सेनाध्यक्ष नरवणेले दुई मुलुकबीच सैन्य तथा कूटनीतिक वार्ता लम्बिँदै गएको अवस्थामा पूर्वी लद्दाखमा रहेको आफ्नो भूमिमा तैनाथ रहनसक्ने बताएका छन् ।

भारतीय विवादित सीमा क्षेत्रबाट चीनले फिर्ता बोलायो १० हजार सेना

यसअघि ६ नोभेम्बरमा भएको आठौं चरणको वार्तामा भारतीय सेना र चिनियाँ सेनाबीच सीमा क्षेत्रको अग्रपंक्तिमा खटिएका आ-आफ्ना सैनिकहरुलाई संयमता अपनाउन आग्रह गर्ने सहमति गरेका थिए ।

पछिल्लो समय चीनले सीमा क्षेत्रमा खटिएका आफ्ना १० हजार सेनालाई फिर्ता लगेका थिए । यसअघि जुन १५ मा पूर्वी लद्दाखको गलवान घाँटीमा भएको हिंसात्मक झडपमा २० भारतीय सेनाको मृत्यु भएको थियो । चीनले भने आफ्नोतर्फ भएको मानवीय क्षतिको विवरण भने नखुलाएको भारतको आरोप छ ।

उक्त झडपपछि दुई मुलुकबीचको सम्बन्धमा थप दरार पैदा भएको थियो । भारतले चिनियाँ एपहरुमाथि प्रतिबन्ध लगाउनुका साथै चिनियाँ उत्पादनहरु प्रयोग नगर्ने अभियानसमेत चलाएको थियो । पछि रुसको मस्कोमा दुई मुलुकका मन्त्रीस्तरीय वार्तापछि स्थिति सामान्य हुँदै गएको थियो ।