सिरमको कारखानामा लागेको आगलागीबाट एक हजार करोडभन्दा बढीको क्षति

लेखाजोखा न्युज
१० माघ २०७७, शनिबार १२:०४

नयाँ दिल्ली । भारतको खोप निर्माता कम्पनी सिरम इन्स्टिट्युट अफ इन्डियाका सीईओ अदार पुनावालाले पुणेस्थित कारखानामा लागेको आगोबाट एक हजार करोडभन्दा बढीको क्षति पुगेको बताएका छन् ।

उनले गत बिहीबार पुणेस्थित कारखानामा भएको आगलागीबाट कम्पनीलाई एक हजार करोडभन्दा बढी क्षति भएको बताएका हुन् ।

यद्यपि, पुनावालाले कोभिड भ्याक्सिनको आपूर्तिमा उक्त दुर्घटनाको कुनै असर भने नपर्ने पनि बताएका छन् ।

आगलागीमा परि पाँच जनाको मृत्यु भएको थियो । पुनावालाका बुवा तथा कम्पनीका प्रमुख सायरस पुनावाला आगलागीमा परि मृत्यु भएका पाँचै कर्मचारीका परिवारलाई २५ लाख रुपैयाँ आर्थिक सहायता दिने घोषणा गरेका छन् ।