कञ्चनपुर पुगेर महामन्त्री कोइरालाले भने– वैशाखमा चुनाव हुँदैन

लेखाजोखा न्युज
१० माघ २०७७, शनिबार ११:२६

महेन्द्रनगर । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले काग्रेस संसद् पुनःस्थापनाकै पक्षमा रहेको बताएका छन् । नेपाल प्रेस युनियन कञ्चनपुरले शनिबार बिहान महेन्द्रनगरमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले कांग्रेस संसद् पुनःस्थापनाकै पक्षमा रहेको बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमाथि नै कुठाराघात गरेर जननिर्वाचित संसद् भंग गरेर लोकतन्त्रलाई धरापमा पार्न खोजेको बताउँदै महामन्त्री कोइरालाले कांग्रेस ससद पुनःस्थापनाकै पक्षमा रहेको स्पष्ट पार । उनले प्रधानमन्त्री ओलीले घोषणा गरेको मितिमा चुनाव नहुने भएपछि कांग्रेसले संसद् पुनःस्थापनालाई पहिलो प्राथमिकतामा राखेको बताए ।

“अहिले पनि नेकपा पार्टी कानुनी रुपमा फुटेको छैन,” महामन्त्री कोइरालाले भने, “निर्वाचन आयोगले सूर्य चुनाव चिह्न कसलाई आधिकारिक दिन्छ, नपाउने समूह विरोध गर्छ र आदालत जान्छ, यत्तिकै कारण पनि वैशाखमा चुनाव हुँदैन ।”

प्रधानमन्त्री ओलीले तीन वर्षमा एक इटासमेत नथपेको बताउँदै उनले पुरानै चलिरहेकै योजनाको ओलीले निरन्तरता दिएको बताए । कोरोना कहरबाट थलिएको अर्थतन्त्रमाथि उकास्नका लागि सरकारले कुनै योजना अघि नसारेको कोइरालाको आरोप थियो ।