व्यवस्थाकै लागि भनेर अर्को लडाई लड्ने नेपालीको चाहना छैन : प्रदीप पौडेल

लेखाजोखा न्युज
१० माघ २०७७, शनिबार १०:२८

तनहुँ । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले फेरि पनि व्यवस्थाकै लागि भनेर अर्को लडाई लड्ने नेपाल र नेपालीको चाहना नभएको बताएका छन् । वडा नं १ मा पर्ने अत्रौलीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश बारम्बार प्रतिगमनमा गइरहन नसक्ने भन्दै स्थायित्व र विकासनै नेपालीको साझा लक्ष्य रहेको बताए ।

नेता पौडेलले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध डटेर लड्न आग्रह गर्दै प्रतिगमनविरुद्ध कुनै सम्झौता नहुने बताए । शाही राज्य चेतना बोकेका ओलीहरुको अन्त्य अवश्य हुने उनको भनाइ थियो ।

कार्यक्रममा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आवद्ध तनहुँको घिरिङ गाउँपालिकाका कयौं कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनीहरुले कम्युनिस्ट सरकारले जनतालाई निराशामात्र दिएकाले कांग्रेसमा प्रवेश गरेको बताएका छन् ।

नवप्रवेशीलाई नेता पौडेलले पार्टीको सदस्यता प्रदान गरेका थिए । उनीहरुले नेता पौडेलसँग नेकपालाई मत दिएर पानी र बिजुली पाउन नसकिएको गुनासो गर्दै पानी र बिजुलीका लागि समन्वय गरिदिन आग्रह गरेका थिए ।