साकुरामा पलाइरहेका ऐंजेरुहरु छोट्टीहरुले सर्वस्व सुम्पेपछि चामल उनीहरुकै पकडमा, तिमीलाई बिटुल्याउनेहरुको किन जगजगी छ हँ सिमकोटमा ?

लेखाजोखा न्युज
१० माघ २०७७, शनिबार ०८:४९

तिमीलाई भेटेपछि पलाउँन थालेका छन् फरक सोंच जिन्दगीका केस्रा केस्राहरुमा । मेरो अचेतन मनले धेरै अघिदेखि खोजिराखेको रहेछ सायद तिमीलाई र तिमी जस्तैलाई ।

शान्त छ्यौ । शीतल छ्यौ । जता हेर्‍यो त्यतै मुस्कुराइरहिछ्यौ । अरुले दुःख र पीडा भनेकालाई पचाइरहिछ्यौ । आग्रह छैन । पूर्वाग्रह छैन । घाम जस्ती छ्यौ, भर्खर झुल्केकी । जून जस्ती छ्यौ, शारदी पूर्णिमाकी । पसिनाका धाराझैं सफा नदी र झरनाहरु बगिरहेछन् । काख काखमा चलिरहेछन् अर्गानिक बयेलीहरु । छुन सकेका छैनन् विकासे बहानाका विकृतिहरुले ।

जन्मजात प्राकृतिक, जीवनभर अर्गानिक । त्यसैले मरिमेट्न थालेको छु म, तिम्रो चाहनामा । सोझी छ्यौ, सिधा छ्यौ, निरपेक्ष छ्यौ र टाढा छ्यौ अनुवर्तनबाट । जन्मेपछि केहीपनि प्राकृत नभेट्ने आजको जमानामा तिमीजस्ती अर्गानिक प्रियसी पाउँदा सिमाना भत्केका छन् मेरा रङ्गीन खुशीहरुको ।

आतुर छु म तिम्रा जिन्दगीका रेखा र रङ्गका राजलाई निरुपण गर्न । छोटो समयको संगतमा पनि निरव्ययी प्रेमिका मानेको छु मैले । तिम्रो अनुपम आनिबानीले विस्तारै पग्लदैं गएका छन् मेरा घोर निराशाहरु । सबलसँग भन्दा बढी निर्बलसँग, समृद्धसँग भन्दा बढी विपन्नसँग र खुशीका बगैंचाहरुमा मुस्कुराइरहेकाहरुसँग भन्दा बढी घोर दुःखमा फसेकाहरुबाट धेरै कुरा पाउन सकिन्छ संसारमा । तिमीलाई भेटेपछि अनुभूति हुन थालेको छ मलाई त्यो प्रदेशको पनि ।

राज्यको आँखा नपरेका तिम्रा कित्ता कित्ता अस्मिताहरु नियाल्दैछु म चाखपूर्वक । प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा छु म । जिल्लाका नेताहरुको जमघट छ ।

कार्यालय प्रमुखहरुको उपस्थिति छ । सीडीओ सापलाई पार्टी खुवाउने तालिका बनाउँदैछन् कार्यालय प्रमुखहरु, सीडीओको आशीर्वाद आफूमा झरोस् भन्दै धूप–धूवाँर गर्दैछन् नेताहरु । कुखुराको अण्डा, डालेचुकको सर्वत, कोदाको एकपाने, फापरको पीठो, शुद्ध शिलाजीत यस्तै यस्तै खोलिंदैछन् कोसेलीहरु । गमक्क छन् सीडीओ साप । उनी नेताहरुलाई पुलिसको बल देखाएर र कर्मचारीहरुलाई अख्तियारको धाक फिँजाएर आफूलाई बलशाली सावित गर्न न्वारनदेखिको बल निकालिरहेछन् । सिंहदरबारको मिचाहा प्रवृत्ति त्यो अनकन्टारमा झांगिएको छ अझ बेसरी ।

ढोकाबाट एउटा मान्छे चारहात खुट्टा टेक्दै भित्रियो । मान्छे कम जनावर बढी देखिदैथ्यो उ । उसले मुखमा घाँस च्यापिरहेथ्यो र पिठ्यौंमा बडेमानको ढुङ्गा बोकिरहेथ्यो । उसको आङमा भेडाका भुत्ला जस्तो कपडा र सुरुवाल थियो । ती दुवै यति टालिएका थिए कि खास कपडा कुन हो चिन्न मुस्किल पर्थ्यो । अन्दाजी सत्तरी वर्षको लागेको थियो मलाई । वास्तविक उमेर चालीस बतायो उसले । उसले जन्मेदेखिनै ननुहाएको जस्तो देखिन्थ्यो, शरीरमा जमेका फोहोरका टाटा देख्दा । कपालपनि जीवनभर काटेको जस्तो लाग्दैनथ्यो । लट्टा परेको कपाल हुरीपछिको सिरुपाखो जस्तो देखिन्थ्यो । अनिद्राका धब्बाहरुले चुसेजस्तो देखिन्थ्यो उसको अनुहार ।

‘प्रभु, मेरो ‘मस्टा’ , म अन्यायमा परें, मेरो सर्वस्व गुम्ने भो’ ‘न्याय वक्सियोस्’— सीडीओको पाउँ समात्यो । उसको आँखाबाट झरेको आँसु भेलले भुईंको सल्लाको काठ भिजेर रातो देखियो ।

‘के अन्याय पर्‍यो तँलाईं ?’ – जनता जनावर र आफू भगवान ठान्दै कुर्लिए सीडीओ । दम्भका पहाडहरु दह्रा बनेर उठिरहेथे कोठाभरि । तीन दिनअघि भेडा चराउने निहुँमा गाउँको ‘धामी’ सँग झगडा परेछ उसको । मस्टोलाई भनेर उ र उसका सारा परिवार नष्ट गराइदिने र उसको घरबारी र भेडा चौंरी नास पारिदिने बताएछ धामीले ।

‘मस्टो र धामीलाई त्यसो नगर्न भनिदिनु पर्‍यो हजुरले, नत्र म बर्बाद हुने भएँ’— बलिन्द्र आँसुधारा बगाउँदै रोयो विचरा । डाँडाफयाको ठकुरी रहेछ उ । ‘झगडा किन गरेको त तैंले ?’— पिटौंला जसरी झम्टिए सीडीओले । उ आत्तिएर काम्‍न थाल्यो थुरथुर ।

‘ओहो, डाँडाफयाको धामी त सारै कडा छ, उ रिसायो भने मस्टा लगाएर जे पनि गर्न सक्छ’— बरगाउँको एउटा कांग्रेसी नेता बोल्यो । देवताको आडमा गाउँका टाठाबाठाले शोषण गर्ने परम्परा देख्दा चकित भएको छु म ।

‘कहाँ धामीले जे मन लाग्यो त्यही गर्न सक्छ, डराउँनु पर्दैन’— मैले उसलाई तानें र कुर्सीमा बस्न आग्रह गरें । उ कुर्सीमा बस्न मानेन । भुईंमै बसिरहयो । ‘सक्छ हजुर उ रिसायो भने जे पनि गर्नसक्छ, उसले गाउँका धेरै मान्छेलाई भेदिसकेको छ’— आफ्नो विश्वासमा टसमस भएन उ ।

‘म पनि त्यो भन्दा ठूलो धामी हुँ । धामीले केही बिराम गर्न सक्तैन तिम्रो । गाउँ फर्क र आनन्दसँग बस । झगडा गर्नु भने राम्रो होइन’ – म बोलें । उसले मेरो कुरा विश्वास गरेन । ‘बडासापहरु अर्कालाई सधैं दिल्लगी गर्छन्’ – उ बोल्यो । उसको सोचाईमा सीडीओले मात्र समाधान गर्न सक्छन् सबै कुरा ।

‘केही गर्देऊ साप’ – सीडीओ अघिल्तिर फेरी शिर निहुँर्‍यायो उसले । ‘ठीक छ, धामी र मस्टो दुवैलाई तिम्रो केही नबिगार भनुँला, केही बिगारेमा धामीलाई थुनिदिन्छु म केही चिन्ता लिनु पर्दैन’ – आश्वस्त पार्ने वाक्य बोले सीडीओले ।

बल्ल विश्वास मान्यो । कुर्नेस गर्‍यो सीडीओलाई । पछि हट्दै हट्दै विदा भयो उ । चेतना र प्रविधिले संसार अर्कै बनिसक्यो । तिमी भने अझै धामी र मस्टोको जालमा अल्झिरहिछ्यौ ।

तिम्रो त्यति गहिरो सुधोपन कल्पना भन्दा बाहिरको भेटिरहेछु मैले ।

‘सर, जाउँ जाउँ पैंसठ्ठी नम्बर बंकरमा पसौं’ – सिमकोट एयरपोर्टमा हतार हतार हिंडिरहेका भेटिए दुई कर्मचारी । ‘किन, के भयो र सिमकोट हान्‍ने केही सूचना आयो कि कसो ?’ एउटा दुर्घटनाको आशंका जन्मियो ममा । कालोनीलो भएँ म । कतै माओवादी आक्रमणको शिकार बन्न लागियो कि भन्ने डर मडारियो मनभरि ।

‘होइन होइन, त्यस्तो होइन मोज मस्ती गर्ने बंकर क्या’— मलाई सम्हाल्न खोजे एक कर्मचारीले ।

सिमकोटका होटलहरुलाई फोन नम्बरको अन्तिम दुई अंकका आधारमा होटललाई बंकर नम्बर दिंदारहेछन् कर्मचारीहरु । होटल भित्र छिरेपछि खान, पिउन, बस्न, छिल्लिन सबै पाइने भएकोले बंकर नाम दिएका रहेछन् । दिउँसैदेखि जिल्लाका ठूलादेखि साना सम्मका प्रायः सबै कर्मचारी पालो मिलाई मिलाई कुनै न कुनै बंकरमा छिर्ने रहेछन् ।

‘पिउने बानी छैन, मासु पनि चल्दैन भो बंकरमा नपसुँ होला’— तर्कन खोजें म ।

‘जिल्लाका सबै कर्मचारी भेट हुन्छ, कत्ति मरिमेट्नु हुन्छ सर काम भनेर रातमा पनि, अघिपछि त गर्नु भएकै छ नि जाउँ आज’— कसिलो आग्रह गरे एक लेखापाल मित्रले ।

बंकर भित्रको संसार पनि बुझ्नु थियो मलाई । हामी बंकर नम्बर ६५ भित्र छिर्दा जिल्लाका प्रशासन, प्राविधिक, सुरक्षा, लेखा सबै समूहका कर्मचारीहरुले खचाखच भैसकेको रहेछ । बाहिर सानो दूलो जस्तो ढोकाभित्र छिरेपछि भित्र मझेरीमा आगो बलिरहेको भेटियो । वरिपरि कुर्सी, मुडा र भुईंमा बग्रेल्ती छरिइरहेथे कर्मचारीहरु । हरेकको हातमा रक्सीको ग्लास थियो । सबैजना चैते हावाले हल्लाएको बैंसका हाँगा भैसकेका थिए ।

‘आप्पोई, यो सार ता यतिका दिनपछि पो आयो हाम्रो होटलमा, यता बास्‍नुस सार’— म सिमकोट पुगेको दिन थाहा पाइसेकेकी रहिछन् साहुनीले । जिल्लामा को कर्मचारी आयो, को गयो, कसले के गरिरहेछ, त्यो सबै जानकारी हुनेरहेछ होटल साहूनीहरुलाई ।

जिल्लाका उच्च पदस्थ कर्मचारीहरु अँगेना वरिपरि घेरामा, त्यस बाहिर अधिकृत कर्मचारीहरु, त्यस बाहिर राजपत्र अनङ्कृत कर्मचारीहरु र त्यसबाहिर कार्यालय सहयोगी एवं रातका पालेहरु बस्‍ने चलन रहेछ होटलभित्र । मलाईपनि अँगेना नजिकै बसाइन् साहुनीले ।

‘के ल्याउँ सार, लोकल ल्याउँ कि, चाइनिज ल्याउँ कि, विदेशी ?’

‘म त त्यस्तो पिउँदिन, चिया बनाइदिनुहोस् एक कप ।’

‘सार पनि कास्तो जिस्किने राइछ, बेल्का पनि चिया खान बाहुला कुकुरले टोकेको छा र ?’

‘साँच्चै हो, म रक्सी पिउँदिन ।’

‘अनि, सितन चाहिं के खाने त याकको भुटुवा कि कुखुराको सेकुवा ?’

‘म त मासु पनि खान्न, बरु बन्दा फ्राइ गरिदिनुहोस् न ।’

‘लौ यो सार त आचम्मकै रै’छ, मालेखाको सार रे ना राक्सी खाने ना मासु । यस्तो मान्छे जिल्लामा हिंड्नु पानि बेकार छा । पोहोर आउने मालेखाको सार त कास्तो माजाको थियो । काहिले त दिन रातै एकै ठाउँमा बासेर पिइरहन साक्ने । एक बासाईमा दुई वोतल राक्सी त सिनित्त पार्थ्यो विचरा । यसपाली आउँदैन त्यो सार ?’ पारार आउँने दुई जना त त्यो भन्दा आझ मज्जाको थियो । जाने बेलामा मलाई बक्सिस मात्र बाह्र हजार दिएका थिए उनीहरुले । कायौं रात त मेरै होटलमा सुते ।

उनीहरु झन् कत्ति मज्जाका ।’ साहुनी अलि रिसाइन् मसँग । रक्सी, मासु केही नलिएपछि होटलको व्यापार नास्ती । बन्दा र चिया बेच्दा दुःख मात्रै हुने फाइदा नहुने, अनि किन नरिसाउन् उनी । महालेखाका लेखापरीक्षकहरु जिल्ला पुगेपछि रक्सी र मासुको छेलोखोलो चल्छ, होटलहरुमा बिलको तंगिन बढ्न थाल्छ, त्यसले जिल्लामा खुशियाली बढ्छ भन्ने राम्ररी बुझेकी रहिछन् साहुनीले । म जस्तो ग्राहक उनको लागि बाढीले बगाएको पत्कर भन्दा बेकम्मा हुनु स्वाभाविकनै थियो ।

‘यस्तो जिल्लामा तीन धर्के सर खटाउन चाहिं नहुने हो महालेखाले पनि ।’— झुम्मनबीरहरु मध्ये एक बोले । माछा मासु नखाने वैष्णवहरुले तीनधर्के टिको लगाउने भएकोले त्यसो भन्दा रहेछन् उनीहरु ।

‘देखिहाल्नु भो’ सर हुम्लामा आगोले पोल्दैन, हिउँले पोल्छ । जाडोमा त माइनस पच्चीस डिग्री खप्नुपर्छ । जता हेर्‍यो त्यतै हिउँ । जता टेक्यो त्यतै हिउँ । हावामा हिउँ । घाममा हिउँ । हिउँबाट बच्न पनि त चाहियो नि ‘आराक’ — अर्का झुम्मनले अर्को एक ग्लास सुठ्ठयाएर र साहुनीको पुठोलाई औंलाले गिजोल्दै सोधे – ‘कि कसो ‘आँगा ?’

त्यो झुम्मन समूहको सदस्यता मैले पनि नलिइ नहुने तर्क धुवाधार ओर्लिरहेथ्यो त्यहाँ ।

‘हेर्नुस सर, ‘डी’ एरिया’मा कोच्चिनु परेको छ । ‘सी’ एरियामा टेकियो भने उतैबाट माओवादीले कहाँ पुर्‍याउँछन् थाहा छैन । कुनबेला मा ‘डी’ एरियामा पनि माओवादी पसे भने ज्यान त गयो गयो अहिलेसम्म कमाएको पनि सबै नबुझाई सुख्खै छैन । पैसा बुझाउने र माओवादीलाई सहयोग गर्ने नत्र हदैसम्मको कारबाही गर्ने धम्की त कति आइसक्यो कति ।

यता माओवादीलाई सहयोग गर्‍यौ भने जागिर खोसिदिन्छौं भन्छन् सीडीओ र डीएसपी । तर उनीहरुनै माओवादीलाई लुकीलुकी आर्थिक सहयोग गर्छन् । माओवादीले केही गरे आफूले थाहा नपाएको बहाना गर्छन् । कुनबेला सरकारी सेनाको गोलीको निसाना बन्‍नुपर्ने हो कि माओवादी छापामारहरुको बारुदको छर्रामा शरीर छिन्नभिन्न पर्ने हो केही ठेगान छैन । बाँचुञ्जेल के को टेन्सन, मजासँग रक्सी धोक्यो, छोट्टी च्याप्यो, यस्तो दुर्गममा पनि पीर लिएर बाँच्ने हो र ?’ – आधा ग्लास सुरपानी घुट्क्याए एक मित्रले भने । उनी निकै अघिदेखि आगो ताप्ने बहानामा एउटी छोट्टीलाई गिजोलिरहेका थिए । माओवादीहरुले सरकारी प्रशासन बस्ने सिमकोट एरियालाई ‘डी’ एरिया र त्यस बाहिरको ग्रामिण क्षेत्रलाई ‘सी’ एरियामा विभाजन गरेका रहेछन् ।

‘तिमीहरु गाउँ सचिवलाई हो सबैभन्दा पहिला मार्ने माओवादीले’— आराकले राकिइसकेका अर्का झुम्मनबीर चिच्याए पल्लो कुनाबाट । उनी हुम्लाकै रहेछन् । उनी बोलेपछि अरुले कुरा काट्ने शाहस कमै गर्दारहेछन् भन्ने छनक देखियो । गाउँमा विकास निर्माण गरेको भन्ने नक्कली बिल सिमकोटमै बसेर बनाउँछौ । गाउँमा बाटो पनि छैन, पुल पनि छैन, कुलो पनि छैन, विद्यालय भवन पनि छैन तर, यस्तै बंकरमा बसेर सबै तयार गरेको कागज बनाउँछौ । क्वाप्लाक्क पार्छौ रकम । बूढाबूढी, असहाय र अपाङ्गलाई सरकारले दिने भनेको भत्ता पनि हात र खुट्टाका औंलाले ल्याप्चे ठोकेर झ्वाम बनाएका छौं, अनि खोज्दैनन् त माओवादीले तिमीहरुसँग हिसाव, अनि काटिदैनौं त तिमीहरु’ – बङ्कर बिस्फोट गराउने सुरमा चिच्याए उनी । बीचबीचमा रक्सी थपेर भ्याइनन् साहुनीले ।

‘तिमीहरु वनका पनि त कम्ता छैनौं नि । यार्शागुम्बा, पाँचऔंले, कुटकी, पदमचाल, जटामशी, नीरजस्ता जडीबुटीहरुले छपक्क ढाकिएको छ हुम्ला । वर्षेनी व्यापारीहरुले करोडौंको जडीबुटी ओसार्दछन् तलतिर र तिब्बततिर । उनीहरुसँग मिलेर तिमीहरुनै तस्कर गर्छौ जडीबुटीको तर वर्षभरमा राजस्व देखाउँछौ पन्ध्र-बीस हजार । हुन त अरु कार्यालयको पनि के काम गरेका छन् र जिल्लाको लागि । सिमकोटमा बसे । बिल बनाए । जिल्लाको नाममा आएको रकम झ्वाम् पारे । अलिअलि टाठाबाठा नेताहरुलाई चटाइदिए अरु ब्रिफकेशमा हालेर जताबाट आयो उतै लगे । कार्यालयहरु त झुठ्ठा बिल भर्पाइ र कागज बनाएर रकम झ्वाम् पार्ने कारखाना मात्र भएका छन्, के गर्नु त्यसै आएको छ र माओवादी’— लरबरिएको स्वरमा भएपनि सत्य कुरा ओकल्ने प्रतिस्पर्धा छ त्यहाँ ।

मद्य, मांस र सुन्दरीहरुको सल्बलाहट झन् झन् जागिरहेछ बंकरभित्र । ‘खाने अन्न नपाएर पेट दाम्रिएको छ हुम्लीहरुको तर कसरी हुन्छ रक्सीको यत्रो छेलोखेलो ?’— हुम्ला पुगेदेखिनै मेरो मस्तिष्कमा एउटा प्रश्न पञ्चमुखी हिमाल झैं उचालिरहेथ्यो । ऐन मौकामा जिज्ञाशा शान्त पारिएन भनै प्रश्नको गाँठोले क्षति पुर्‍याउँछ मन र ज्यानलाई – मैले बुझेको पनि त्यही हो । ल्फोरमा प्रश्न फिँजाएँ मैले ।

‘यो सब खाद्य संस्थान र प्रशासनको चर्तिकला हो हजुर’— उत्तरहरु क्रमशः ओर्लन थाले मझेरीभरि । ‘चामल दिन तोक लगाउँने प्रशासन, चामल दिने खाद्य । याङजी, मिङमा, पासाङ फुती, पेमा, छोटी, आङदाली, फुरदिकी जस्ताहरुले चाहे भने सिमकोटमा घामनै रोकिदिन सक्छन् ,आँधीबेहरी ल्याइदिन सक्छन् । उनीहरुले चाहे कालोलाई सेतो र सेतोलाई कालो बनाइदिन सक्छन् । किनकी, जिल्लाका ठूला बडालाई मासु, रक्सी, क्याँट मात्र होइन ज्यानको तातो पनि उनीहरुनै दिन्छन् । ‘छ्यान छोडनेहरुले ओछ्यान पाएपछि के गर्छन् के गर्दैनन् कि कसो ?— साहुनीको पिठ्यौ मुसारे एक जुँगामुठेले ।

‘आप्पोइ यत्रो मान्छेको अगाडि पो भित्तो पोत्‍न खोज्दो रहेछ यो सार त’— पिठ्यौको हात समातिन् साहुनीले । क्या गार्नु, वेपार त गर्नै पर्‍यो । त्यसै नगरे त कासरी चाल्छ त बेपार ?’ साहुनीले कुरा लुकाइनन् । अँगेनामाथि झुण्ड्याइएको सिङ्गै गोरुको सुकुटीबाट अलिकति छुट्याइन् साहुनीले र भुट्न थालिन् । त्यो तुन्द्रुङ्ग झुण्ड्याइराखेको सिङ्गो गोरु देख्दा मलाई निकै अघिदेखि टीठ लागिरहेको थियो । एकपटक काटिएर मात्र नपुगेर हरेक रात काटिदैं भुटिदै प्लेट प्लेटमा अवतरण हुनु पर्ने नियति थियो उसको । जिल्लाका कर्मचारी र साहूनीको बास्तबिक चरित्र र सजीव नाटक हेर्ने साक्षी केबल उ र उ जस्ता पात्रहरु थिए बङ्कर बङ्करमा । सधैं चिसोको चकचक भएकोले कुहिने डर छैन, गन्हाउने गुञ्जाइस रहँदैन ।

‘खाद्यले चामल ल्याउँछ प्लेन चढाएर तर, जनताले पाउँदै पाउँदैनन् । पाइहाले भने आठ दश किलो मात्र । त्यो पनि कयौं दिन कुरेर, हाकिमहरुलाई औषधि, बख्खु र फुरु कोशेली चढाएर । खास चामल त बिजुली पानी बनाएरै सकिन्छ । सिमकोटका छोटीहरुले सर्बैस्व सुम्पेपछि चामल उनीहरुकै पकडमा हुनेनै भयो । बहुपति प्रथा छ, एउटी बहिनीको बल्ल बल्ल बिहे भयो भने कयौं छोट्टी बैला बस्नुपर्छ । होटल खोल्यो ।

जिल्लाका हाकिम र कर्मचारीसँग घनिष्ट सम्बन्ध जोड्यो । खाद्यबाट एकसयमा किनेको चामलबाट दुईहजारदेखि तीन हजार फाइदा निकाल्यो । गोरखालीहरुलाई नचायो यसैगरी सकिन्छ चामल । यसैगरी रित्तिन्छ कर्मचारी र छोट्टीहरुको बैंस । प्रायः कर्मचारीको एकेक वटी छोट्टीहरु त रिजर्भ नै छन् सर यहाँ । यता बसुञ्जेल अर्धाङ्गिनी यताबाट हिंडेपछि परदेशी ठान्ने सुविधा भएपछि को नलोभियोस् यता बस्न । हुन पनि यो सुत्केरी गाउँ हो हजुर सबै पटक पटक बलजफ्ती सुत्केरी हुन्छन्, नजन्मदै मर्ने नियति बोकेकाहरु यिनकै पेटमा आइपुग्छन् बरा ।’

लेखा समूहका एउटा कर्मचारी स्वस्थानी बाचन गर्दैछन् त्यतातिरको । तिमी भित्र लुकेका रहस्यहरु खोतल्नमै उत्सुक छु म । जीवन अर्कालाई सुम्पेर, अर्काकै खेलौना, अर्काकै मोजमस्तीमा तिम्रा दिन रात बितिरहेको थाहा पाउँदा झसक्क झस्कें म एकफेर । पस्‍न र फस्‍न गाह्रो, ती दुवै भएपछि निस्कन अझ गाह्रो रहेछ तिमीमा । शुरुमा कट्टर, बीचमा रहर र अन्त्यमा रत्तिएको रातुगाई पो बन्दारहेछन् कर्मचारीहरु तिम्रो स्पर्शले ।

‘जागिरको तीस वर्षे अवधिमा हिमालतिरै हुर्काइयो पच्चीस वर्ष, रिटायर्ड भएपछि पनि घरतिर झर्ने मन छैन अब’— एक प्राविधिक कर्मचारीले तिमीसँग रत्तिएको खोले रहस्य ।

दश वर्ष भन्दा बढी हुम्लामै जागिरमा बिताउनेहरु पनि दशभन्दा बढी नै भेटिए त्यही बंकरभित्र । ‘भिज्न सक्नुपर्छ, दुर्गममा जत्तिको जागिर खान सजिलो सुगममा छैन’— सत्र वर्ष हुम्लामा जागिर खाइसकेका भुक्तभोगी हाकिमले खुशी खोले । ‘केन्द्रमा बस्नेहरु दुर्गम भनेपछि नामनै सुन्न आत्तिन्छन् । बेला बेलामा केन्द्रलाई दुर्गम जागिरे व्यथाको नाटक सुनायो । आवत जावतको कठिनाइको फलाको हाल्यो, खानपानको खर्‍याङखुरुङको खल्याङमल्याङ मच्चायो, नेताले डसेका, जनताले हेपेका कथाकुथुङ्ग्री जोडिदियो ।

अझ अहिले त माओवादी समस्याको नाटक सुनाइदिएपछि जिब्रो काड्छन् उतैबाट । अस्तिमात्र विभाग र मन्त्रालयका ठूलाबडालाई राम्रैसँग तर्साएँ मैले । अहिलेसम्म सातपटक अपहरणमा परिसकें भनिदिएँ, तलब भत्ता त लेबी बुझाउँदैमा ठिक्क छ भनिदिएँ । मलाई सुगममा सरुवा गरिदिनु पर्‍यो भनें । उल्टो उनीहरुले जसरी भएपनि तपाईं त्यहाँ बसिदिनु पर्‍यो भने ।

उनीहरुले त्यसबापत विदेश जान मलाई नै मनोनयन गरिदिएछन् । यहाँ जिल्लाभरिका गाउँहरुमा काम गरेको देखायो, नेताकोस्तर अनुसार कसैलाई गोल्डस्टार जुत्ता ल्याइदियो, कसैलाई एकजोर दौरा सुरुवाल भिराइदियो, कसैलाई बेला बेलामा सुर बढ्ने सलाइन पानी चढाइदियो कसै कसैलाई गाउँमा एक दुईवटा योजना लगिदियो, अनि, जिल्लाका सबैलाई बनायो थैथै आफू बन्यो सबैको हाइहाइ । पैसा सरकारले पठाइहाल्छ अर्गानिक छोट्टी र अर्गानिक छ्याङ यहीं पाइहालिन्छ, अनि किन अन्मरिनु शहर बजार भन्दै । तपाईं त हिसाब किताव जाँच्न आउनु भएको मान्छे, काम नगरे पनि बिल भर्पाई चाहिएजत्तिको बनाएका छौं है हामीले’— रङ्ग न ढङ्ग हरिबङ्ग बन्दै खल्यातखुलुत्त रित्तिए हाकिम ।

मुड्कीमाथि मुड्की घुस्सामाथि घुस्सा, लात्तिमाथि लात्ति—मारमुङ्ग्री पो चल्न थाल्यो पल्लो कुनामा । लठ्ठीले हानाहान, कुर्सीले ठोकाठोक, यो भित्ताबाट उ भित्तामा पेलमपेल, डाङडाङ र डुङडुङ । जुहारी चलिरहेछ गालीको । कामै नगरी लिएको पैसा एक्लै हसुर्ने ? एकातिर औंलो ठडिदैछ । मेरो जिल्लामा काम नभएको पैसा तिमी कर्मचारीलाई दिनुपर्ने ? अर्को आवाजको पारो चढिरहेछ ।

‘हाम्रो जिल्लाको विकास खान आएका त हौं नि तिमी कर्मचारीहरु । तिमीहरु भएर नै विकास नभएको हो हाम्रो जिल्लाको’— नेता पड्किए । तिमीहरु पनि के कम छौ र भाषणमा जनताको लागि काम गर्ने भन्छौं, आखिर कामनै नगरेकोलाई गरेको भनेर रकम एक्लै कुम्ल्याउँछौ । तिमी नेताहरुले गुम्बाका मूर्तिहरु चोरेर बेचेको पनि हाम्लाई थाहा छैन र ? लुकाई लुकाई प्रतिबन्धित औषधि र जनावरका छाला बेचेको हाम्लाई थाहा छैन र ?

जिल्लाका सोझा केटीहरुलाई विदेश पुर्‍याएर बेच्ने पनि तिमीहरुनै हौ, तिब्बतमा डलर लगेर बेच्ने, भारतमा युयान तस्करी गर्ने पनि तिमीहरु नै हौ’— हुर्मत नै लिनेगरी कड्किए कर्मचारी ।अब कसले मार्ने हो, कस्को अँठ्ठिने हो किलकिले । बङ्कर त विष्फोट हुन ठिक्क परेको बम पो बन्यो एक्कासी । बख्खु लगाउनेलाई एक समूहले र ज्याकेट लगाउनेलाई अर्को समूहले समातेका छन् । बख्खु र ज्याकेटको आमा चकारी गाली सुनिनसक्नु छ । बिजुली पानीले भोल्टेज बढाएपछि परिणाम त्यस्तो निस्किनु कुन आश्चर्य भयो र ?

देखेभन्दा फरक भोग्दैछु म तिमीलाई । बङ्कर बाहिर भन्दा बङ्कर भित्र कत्ति फरक छ्यौ तिमी । नेपालीहरुले साँचो बोल्न अँध्यारो र आराकनै चाहिने रहेछ कि क्या हो — सोच्दै छु म ।

‘नेता भन्दैमा ठग्न पाइन्छ त ? बोलेको कुरा त पुर्‍याउन पर्‍यो नि । सज्जनहरुभन्दा ठगहरुबीचमा हुनुपर्छ बोलीको पक्का पक्की । नत्र कसरी चल्छ कालो कारोबार’— दुई पक्षको झगडाको गाँठो फुकाए एक कर्मचारी ।

चिनियाँ सिमाना हिल्सादेखि सिमकोटसम्म सडक बनाउन अघिल्लो वर्ष छ ठेक्का लगाएको रहेछ जिल्ला विकासले । ठेक्का अनुसारको सबै काम सकिएको भनेर भुक्तानी लिएको रहेछन् ठेकेदारहरुले । सडक कहीं पनि खनिएको छैन, काम नै गरी भुक्तानी दिनु भ्रष्टाचारपूर्ण काम हो— नारा लगाएछन् सर्बैदलीय नेताहरुले । सबै दलका नेताहरु एक महिना स्थलगत रुपमै बसेर निरीक्षण गर्न पाउने, त्यसबापत नेताहरुले पनि कर्मचारी सरह दैनिक तथा भ्रमण भत्ता पाउने निर्णय रहेछ जिल्ला विकास कार्यालयले ।

सडकनै खनेको छैन, नेताहरुले स्थलगत रुपमा निरीक्षण गरेको भनेर जिल्ला विकाससँग दैनिक तथा भ्रमण भत्ता र ठेकेदारसँग रिसबैत लिए भन्ने गुनासो रहेछ जनताको । ठेकेदारले खनेकै हो तर हिउँले खाएपछि भीर बनेको हो सडक भन्ने ठहर दिएछन् नेताहरुले । बख्खुधारी नेताले जिल्लामै बसिबसि हिल्सामा बसेको भनेर खाएको दैनिक तथा भ्रमण भत्ताको दशाँस दिन्छु भनेको रहेछ ज्याकेटधारी कर्मचारीलाई । वर्षौ नदिएपछि विष्फोट भएको रहेछ त्यो दिन ।

बोलेको दिने ठहर भो । नेता र कर्मचारी अबदेखि सिङ जुधाउने साँढे नबन्ने सहमति भो । त्यसबापत कर्मचारीले एक र नेताले एक ग्यालेन हँसुवा झोल खुवाए । झोलले सबैलाई हँसायो । साहुनी त साक्षात चन्द्रमा बनिन् अन्तिमतिर ।

जिन्दगीका कयौं रातहरु जापानको टोकियो, ओशाका, नारिता, अन्नाका साइतामा जस्ता सहरहरुमा बिताएँ मैले । सुरक्षा, शान्ति र समृद्धिका आंकुराहरुका स्पर्श दिइरहे ती रातहरुले । कयौं रात कतार, युनाइटेड अरब इमिरेट्स, साउदी अरेवियाका मरुभूमि र सहरहरुमा खर्चिएँ मैले । सधैं शीतल, जाँगर र सहयोगका बहावहरुमा रमिरहें म । फ्रान्स, अमेरिका, स्वीट्जरल्याण्ड, जर्मनी, बेल्जियम र बेलायतका कुनाकानी कुदिरहें म कयौं रात ।

खानपीन गर्नेहरुको जमात भेटियो, नाचगान गर्नेहरुको लहर भेटियो, मान्छेको खोजिमा हिंडिरहेकाहरुको जमात भेटियो । तर, झगडा कतै देखिएन । कसैलाई अन्धकारको हिलो छ्याप्ने प्रयास कतै देखिएन । बरु भेटियो सहयोग, सद्भाव र सक्रियताको साकुरा जतासुकै । हाम्रोमा भने रात र रक्सी भेटिने वित्तिकै किन रगडाइ शुरु हुन्छ, किन रडाको मच्चिन्छ सबैतिर । रातको सदुपयोग गर्न नजानेसम्म सुध्रन सक्तैन हाम्रो उज्यालो कसैगरी । ढकमक्क साकुरा फूलेकी तिमी भित्र किन पलाइरहेछन् यस्ता ऐंजेरुहरु ।

निमिट्यान्न पार्न चाहन्छु म रात खल्बल्याउने ख्याकहरुलाई । रात एक बजेको आवाज निकाल्यो भित्तेघडीले । मलाई लैजाने दुई कर्मचारीलाई उठाएँ मैले । हामी तीन बाहिरियौं बङ्करबाट ।

घुम्लुङ्ग हिउँ ओडेर सुतिसकेको रहेछ सिमकोट एयरपोर्ट । छाना, आँगन, करेसाबारी, भीर पाखा, चौर, भञ्ज्याङ, चुचुरा, बाटा, पाटा जतासुकै छोपिएको छ हिउँको कपासे डङ्गुरहरुले । सल्लाका हाँगाहरुमा हिउँको मुजुरा पलाइरहेछ । स्याउका दानाहरुमा हिउँका डल्ला फलिरहेछ । हिउँका लठिबज्रे झपटले लत्याकलुतुक लुकेका छन् फापरका बोटहरु हिउँका लाप्साहरुभित्र । जता हेर्‍यो त्यतै देखिदैंछ चाँदीको चमचम । सुलसुलाउँदै झरिरहेछ चाँदीको लेदो सल्लिबीरे खोल्साहरुबाट । फुसफुसे कुहिरोको काप कापबाट चोरेर चुमिरहेछिन् चाँदनीले चाँदीका उवडखावड अवयवहरुलाई ।

रातमा बढी रङ्गीन र रुपौली भेटें मैले तिमीलाई ।

‘ए, के हो त्यो ठोक गोली’— गस्तीमा हिंडेका पन्ध्र मध्ये एकको आवाज र पेस्तोल दुवै तेर्सियो हामीतिर । निमेषमै घेरामा प¥यौं हामी । तिमीहरु माओवादी हौ कि क्या हो, कञ्चट छेडिदिउँ एक एक गरेर, आमाचकारी गाली वर्सियो गोली बनेर । उनीहरु मध्ये कसैका पनि खुट्टा ठीक ठाउँमा टेकिएका थिएनन्, ललकारमै बोली लर्बराइरहेथ्यो । हामीमाथिको आक्रमणभन्दा आफ्नै असुरक्षाको डर सङ्ग्रालिरहेथ्यो उनीहरुको अनुहार र आवाजमा ।

‘हामी पनि कर्मचारी हौं नि हवल्दार सा’प । चिन्नुभएन म जिविसको एकाउण्टेण्ट, उहाँ महालेखाको हाकिम’— चिनाजानीको बिस्कुन छर्नु भयो मित्रले । नचिनेकोमा दुःख मनाउनुभयो । स्यालुट ठोकाठोक भयो ।

क्बाटरको बार्दलीमा उभिंदा बङ्कर बङ्करबाट निस्किरहेको सुनिदैथ्यो कल्याङ्मल्याङ् आवाज । खादकतिर हो कि लादेवाडातिर हो एकनासले सुनिदैथ्यो देउडाको अनन्त सिम्फोनी ।

आफ्नै टाउकोमाथि उभिएजस्तो लाग्दैछ चाँदनीचुचुरे पञ्चमुखी हिमाल । चिसो वायु बहिरहेछ तर चन्द्रमाको रोशनीसँगै मिसिंदा बेग्लै मादकता फैलिरहेछ । त्यही मादकतामा लठ्ठिएर क्बार्टरको झ्यालबाटै सुमसुम्याइरहेछु र्‍वायल डेलिसियस स्याउका दानाहरु ।

शान्त सिमकोटमा फेरि कोलाहल उठ्यो एयरपोर्ट माथितिरबाट । फेरि आमाचकारी शब्दहरु वर्षिन थाले, फेरि तँ तँ र म म उफ्रिन थाले । यो शान्त संसारमा किन सुन्नुपर्छ यस्ता भालुकाँडे आवाजहरु । ड्याम्म गोलि हो कि के हो पड्केको आवाज आयो एकपटक ।

‘कतै बंकर नम्बर पैंसठ्ठीमा नहोस् त्यस्तो’ – केहीबेर बसाईको माया पलाउँछ ममा ।

तिमीलाई बिटुल्याउनेहरुको किन जगजगी छ हँ सिमकोटमा ?

२०६५ असौज ९ गते
सिमकोट, हुम्ला