वाशिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी संसद्को सुरक्षामा खटिएका नेशनल गार्डका केही सैनिकहरु कार पार्किङमा सुतेका तस्बिरहरु बाहिरिएपछि क्षमा याचना गरेका छन् ।
बाइडेनको शपथ ग्रहण समारोहको सुरक्षाका लागि राजधानी वाशिङ्टन डिसीस्थित संसद् भवनमा २५ हजार सेनाहरु खटिएका थिए । बिहीबार संसद भवनबाट सांसदहरु निस्किएपछि नजिकैको कार पार्किङमा सुतिरहेका सेनाहरुको तस्बिर सार्वजनिक भएको थियो ।
उक्त तस्बिरहरु सार्वजनिक भएपछि राजनीतिज्ञ, राज्यका गभर्नरहरुले आक्रोश व्यक्त गरेका थिए । आक्रोश बढ्न थालेपछि राष्ट्रपति बाइडेनले नेशनल गार्ड ब्युरोलाई बोलाएर क्षमा याचना गर्दै उनीहरुलाई के गर्न सकिन्छ भनेर सोध्न पनि आग्रह गरेका थिए ।
त्यसैगरि अमेरिकी पहिलो महिना जिल बाइडेनले सेनाहरुलाई भेटेर धन्यवाद दिँदै उपहारको रुपमा विस्कुटहरु प्रदान गरेकी थिइन् । उनले भनिन्, “मलाई र मेरो परिवारलाई सुरक्षित राख्नु भएकोमा तपाईंहरुलाई धन्यवाद दिन आज आउन पाए ।” – बीबीसी