नवलपुर । देवचुलीस्थित सामुदायिक प्राकृतिक चिकित्सालयमा रहेका ६३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।
पोखरा प्रादेशिक प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनीहरु डिस्चार्ज भएका हुन् ।
गैंडाकाट नगरपालिकाका १३, देवचुली नगरपालिकाका नौ, कावासोती नगरपालिकाका नौ, मध्यबिन्दु नगरपालिकाका नौ, बुलिंगटार गाउँपालिकाका १२, बौदीकाली गाउँपालिकाका चार, हुप्सेकोट गाउँपालिकाका पाँच र बिनयी त्रिवेणी गाउँपालिकाका दुई जना संक्रमितलाई एकैपटक डिस्चार्ज गरिएको चिकित्सालयका निर्देशक डा. बिनोद पौडेलले जानकारी दिए ।
कित्सालयमा रहेका अन्य संक्रमितको अवस्था पनि सामान्य रहेको र आउँदो शुक्रबार पुनः स्वाब परीक्षण गरिने चिकित्सालयका व्यवस्थापक हरि सापकोटाले बताए ।
जिल्लामा संक्रमितको अवस्था कम हुँदै गएको र निको हुनेको संख्या बढ्दै गएको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या ७८ रहेको छ भने निको हुनेको संख्या दुई सय २० पुगेको छ । जिल्लाभित्र कोरोनाबाट कसैको मृत्यु भएको छैन ।