३१ साउन २०७९, मंगलबार

किल्ला (कविता)

कैलासकुमार पाण्डेय

११ असार २०७९, शनिबार ४:४२
यो किल्ला जे भनिएको छ त्यो होईन
हो किल्ला त किल्ला नै हो
तर जाटहरुले बनाएको हो
जडान राज्यको दुर्ग हो डडेल्धुरा
जति बेला हाटका नाउला बने
जति बेला तेल्याका धर्मशाला बने
जति बेला थपलामा
एकै ढुङ्गामा बाईस ओखल बने
त्यति बेलै बन्यो किल्ला
हिडदै गरेको बटुवाले भीरमाहुरीको गोलालाइ
अरिङ्गाल भनिदिए
सबैले अरिङ्गाल भनी पत्याए
खोजेनन महको स्वाद
सोधेनन अरुलाई पनि
जे गुरुले भने त्यही स्वाहा भने
त्यही भएको छ डडेल्धुराको किल्ला
नगरेको कामको कसैलाई पगरी गुथाए
वीरको अपमान हुन्छ
वीरताको खिल्ली उडाएको ठहर्छ
पौरखको उपाहास हुन्छ
जाटहरु बलिया थिए
तागतको परीक्षा लिन्थे र दिन्थे
छेलो उठाउथे
उनुकन्टार भीरमा बाटो बनाउथे
रात का रात कुलो बनाई रोपाई गर्थे
त्यही तागतदार जाटहरुले हगुल्टे बाट ढुङ्गा लागि
तेल्यामा धर्मशाला बनाए
त्यही गरि डडेल्धुरामा किल्ला
जहाँ जाटहरुको राजा पणवार बस्दथे
जहाँ बाट जडान राज्यको राजपाठ चल्दथ्यो
हामी खसानको कुरा गर्दैछौ
हामी खसहरुको इतिहास खोज्दैछौ
जडानका बिषयमा मौन छौ
विभिन्न नाम दिएर इतिहास मेटदै छौ
यदि यहि सत्य मानिन्छ भने
तल्लो स्वराडमा पनि किल्ला छ
जसलाई वलभद्र किल्ला किन नभन्ने
सायद त्यही बाटो भएर वलभद्र कुवर
नालापानी गएका थिए
किल्लामा प्रयोग भएको शैली र कला
किल्लाको नंक्साङ्कन युद्ध गर्दै गर्दाको
सिपाहीले बनाएको हो भन्न सकिन्न
यो त ठुला पाइकले अदभूत वलको
पराक्रम र प्राचीन शैली र कलाको नमुना हो
लेखिएको कहि छैन किंवदन्ती छ
पुर्खालेभन्ने अर्तीमा भनिएको छ
किल्ला त किल्ला हो
जाटको किल्ला हो
पणवारको किल्ला हो
भ्रम चिर्न कसैले बोल्नै पर्छ,लेख्नै पर्छ
जनमानसमा रहेको भ्रम चिर्नु छ
सत्य जे हो त्यही सम्प्रेषण हुनुपर्छ
डडाल्नु जस्तो डाडामा भएकाले
डडेल्धुरा किल्ला हो

परशुराम १२ डडेल्धुरा


© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend