२३ असार २०७९, बिहिबार

सोलुखुम्बुमा पहिलोपटक फाईबर सेवा विस्तार

लेखाजोखा न्यूज

१० असार २०७९, शुक्रबार ११:४८

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा पहिलो पटक नेपाल टेलिकमको द्रुतमार्गको फाईबर सेवा विस्तार भएको छ । नेपाल टेलिकमले ओखलढुङ्गादेखि पत्ताले हुँदै सल्लेरीसम्म रेडियो लिङ्कलाई विस्थापित गर्दै फाईबरबाट नेटवर्क सेवा विस्तार गरेको हो ।

सोलुलाई द्रुतमार्गको फाईबर लिङ्कबाट सेवा प्रदान गर्न काम सुरु गरेको झण्डै डेढ वर्षपछि लिङ्क पुर्याउन सफल भएको नेपाल टेलिकम ओखलढुङ्गाका प्रमुख दिनेशचन्द्र पन्थीले जानकारी दिए । सडकको किनार हुँदै जमिनमुनिबाट विच्छ्याउनुपर्ने फाईबर सोलुदूधकुण्ड नगरपालिका-११ स्थित साल्मे क्षेत्रको पहिरोका कारण करिब नौ महिना रोकिएको थियोे ।

साल्मेमा पहिरो गईरहने भएकाले सो स्थानको करिब २ किलोमिटर क्षेत्रमा फलामे पोलको व्यवस्था गरी नेपाल टेलिकम शाखा कार्यालय सल्लेरीसम्म फाईबर पुर्याइएको प्रमुख पन्थीले बताए। फाइबर पुगेसँगै टेलिफोन तथा मोबाईलमा आवाज नबुजिने, काटिने, पटक पटक नेटवर्क गईरहने जस्ता समस्याबाट जिल्लावासी मुक्त भएको नेपाल टेलिकम शाखा कार्यालय सल्लेरीले जनाएको छ ।

नेपाल टेलिकमले हाल ४८ कोर रहेको भूमिगत फाईबरबाट सल्लेरी बजारलाई जोडेको छ । उक्त फाइबरबाट १० जिबिपिएस क्षमतामा लिङ्क सञ्चालन गरिएको छ । यस अघि पत्ताले स्टेसनबाट जम्मा ६ सय ८० एमबिपिएस क्षमताको मात्र रेडियो लिङ्कबाट सल्लेरीको सम्पूर्ण सेवाहरु सञ्चालन गरिएको थियो ।

निकट भविष्यमा सोही फाईबरलाई पर्यटकीय क्षेत्र लुक्लासम्म विस्तार गर्ने नेपाल टेलिकमले योजना जनाएको छ । लिभिजन, टेलिफोन र इन्टरनेट सेवा एकै पटक प्रवाह गर्न सकिने फाईबर अब सेवाग्राहीको घरघरमा पु्याईने नेपाल टेलिकम ओखलढुङ्गाका प्रमुख दिनेशचन्द्र पन्थीले बताए ।

पहिलो चरणमा आगामी साउनको अन्तिम साताबाट सल्लेरी बजार क्षेत्रको घरघरमा फाईबर विस्तारको काम थालिने बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend