१६ जेष्ठ २०८०, मंगलबार

सशुल्क पिसाबघरको सेवा पाऊँ

लेखाजोखा न्यूज

५ माघ २०७७, सोमबार १०:४०

नगरप्रमुखज्यू,

काठमाडौं महानगरपालिका काठमाडौं

देशको संघीय राजधानी काठमाडौं । काठमाडौं जिल्लाको मूल सहर काठमाडौं महानगर । कला–कौशलको केन्द्र । सभ्यताको केन्द्र । मन्दिरै–मन्दिर । दरबारै–दरबार । सडकै–सडक । मानिसै–मानिस । गाडी नै गाडी, व्यापार नै व्यापार । उन्नति नै उन्नति । सेवैसेवा– काठमाडौँ महानगरपालिका । यहाँ यी सबैको प्रमुख हुनुहुन्छ । रानीपोखरीको पुनर्निर्माण, दरबार हाई स्कुलको पुनर्निर्माण, धरहराको पुनर्निर्माण सबैका सबै यहाँकै प्रयासले साकार हुँदैछन्– भलै देशमा त्यसको जस कसैले मुलुकका प्रमुख कार्यकारीलाई दिऊन् त कसैले सिकर्मी–डकर्मीलाई ।

यता पुरानो बसपार्कमा अर्को के एउटा भव्य संरचना बन्दैछ । त्यसको नाम के हो कस्तो बन्ने हो र देशले त्यसबाट के–के लाभ पाउने हो त्यो थाहा छैन तर त्यो बन्दैछ राम्रै बन्नेछ र देशको समृद्धिको अर्को द्योतकको रूपमा खडा हुनेछ भन्नेमा आशावादी छु । मलाई लाग्छ– यस्तो आशामा रमाउने मजस्तै हजारौँ भैँमानिस छन् यो महासहरमा । माइतीघर मण्डला छेउमा अर्को केही संरचना बन्दैछ । त्यो पनि भव्य नै हुने होला । स्वास्थ्य मन्त्रालय र राष्ट्रिय अभिलेखालयमा वारपार गर्ने अकाशे पुल भर्खरै बनेको र भैँमान्छेका उपयोगमा आएको छ ।

वानेश्वरबाट माइतीघर, थापाथलीबाट माइतीघर पुतलीसडकबाट माइतीघर । त्यसबीचमा आवतजावत गर्ने पैदलयात्री थुप्रै हुन्छन् । यहाँले पैदल हिँड्नुपर्ने नभए पनि गाडीमा सवार हुँदा सायद गाडीका सिसाले दृश्य हेर्न छेक्दैन होला । वानेश्वरदेखि सिंहदरबारसम्म, नागपोखरीदेखि माइतीघरसम्म थापाथलीदेखि सिंहदरबारसम्म कतै पनि पैदल हिँड्दा पैदल यात्रुलाई पिसाब आउँछ । मिर्गौला रोगी नबन्न डाक्टरले बेलाबेला पानी खानु भनी दिएको सल्लाह सबैले मान्नै प¥यो । त्यसैले पिसाब आउँछ । त्यो पिसाब पैदल यात्रुले हिसाब नजानेर आएको होइन । कसैसँग डराएर पनि आएको हैन ।

पिसाब आउनु अनौठो होइन । त्यसैले त दिसापिसाबलाई प्राकृतिको आह्वान (नेचर कल्स) भनिएको होला । अगाडि उल्लेख गरिएका बाटामा कतै एउटा पनि सार्वजनिक पिसाबघर छैन । पिसाब आयो भने पैदलयात्रुलाई बडो फसाद पर्छ । पैदल यात्रु मात्रै हैन त्यो क्षेत्रमा ट्राफिक प्रहरी पनि निकै खटिन्छन् । खटिइ रहेका हुन्छन् । म त्यो बाटोमा पटक–पटक हिँड्ने पैदल यात्रुमा पर्छु र म आफैले पनि पटक–पटक पिसाब चेपेरै हिँड्नु परेको छ ।

पुतली सडकदेखि थापाथलीसम्म हिँड्दा र त्यो चापिलो अनुभवले मलाई पटक–पटक ती ट्राफिक सेवामा खटिएका राष्ट्रसेवकले पीडा बेहोर्नुपरिरहेको होला भन्ने लाग्छ । ड्युटीमा खटिए पनि तिनले पनि पानी खानै पर्छ र पिसाब पनि आउँदो हो । राष्ट्रको ड्युटीमा खटेको प्रहरी नागरिकका घरपसलमा पिसाब फेर्न शौचालय खोज्दै कसरी जानू ?

यस्तो लाग्दो होला तिनीहरूलाई । माइतीघर त फेरि हाम्रो अहिलेको मूल प्रदर्शनी र विरोधको हब । दंगा प्रहरीको पनि दैन्यन्दिन खटिइ राख्नुपर्ने ठाउँ । तीन–चार घन्टा त्यहाँ खटिँदा तिनलाई पनि पिसाबले च्याप्दो हो । दंगाको ड्युटी ड्रेस लाएर नागरिककहाँ शौचालय देऊ भन्दै कता जानू ? तिनलाई पनि फसादै होला ।

नगरप्रमुखज्यू,

महानगर बनाउन यहाँहरूले लाखौं–लाख खर्च गर्नुभएको छ । सडक बगैँचा पनि बनाउनुभएको छ । सडक ठाउँ–ठाउँमा रङरोगन गरेर बेलाबेला चिरिच्याट्ट पार्ने पनि गर्नुभएको छ (खास गरी विदेशी राष्ट्रप्रमुख आउने कुनै कार्यक्रम भएका बेला तिनलाई देखाउनुपर्ने भएकाले त्यसैबेला गरिए पनि) । यता धरहरा पुरानो बसपार्कमा त्यत्रात्यत्रा ठूला लागतमा निर्माण पुनर्निर्माण गर्ने स्रोत यहाँहरूसँग छ । स्रोतै नभए र कि केले हो माइतीघर मण्डलाछेउछाउमा सार्वजनिक पिसाबघर नबनाउनुभएको ?

कि त्यहाँ खटिएका प्रहरी, ट्राफिक प्रहरी र पैदलयात्रुलाई पनि पिसाब आउँछ र पिसाबघर चाहिन्छ भनेर कसैले नभनेरै तपाईँको ध्यानाकर्षण नभएको हो ?

यो त मैले एउटा ठाउँको कुरा गरेँ । ट्राफिक प्रहरी खटिनुपर्ने र यात्रुहरू ओर्लने चढ्ने र साधन बदल्ने ठाउँ–ठाउँका चोकमा सार्वजनिक पिसाबघरको अभाव अनुभव हुन्छ ( चाहे गोंगबु चोकमा जाँऔँ कि बल्खु चोकमा ।

यस्ता खाँचा र आवश्यकताबारेमा तपाईंहरूलाई सायद नगरवासीले ध्यानाकर्षण गराउँदैनन् । नगरबासीको बसाइस्थलमा आफ्नै शौचालय हुन्छन् । यो आवश्यकता वा खाँचो त भोग्‍ने तिनै प्रहरी र हिँड्ने बटुवाको भुक्तभोगाइ हो- जो तपाईंसमक्ष यो आवश्यकता दर्शाउन आउने हिम्मत गर्नै सक्दैनन्, सायद । त्यसैले म प्रतिनिधि भूइँ-मान्छे भएर यो पत्र लेख्दैछु पत्रिकामार्फत् ।

प्रमुखज्यू,

सम्भवतः तपाईंहरूको गुरुयोजना, आवधिक योजना र वार्षिक कार्यक्रमका लागि यस्ता कुरा झिनामसिना होलान् तर बटुवाका लागि तिनै सुविधा हुन् । नेपालमा सार्वजनिक पिसाबघरै पनि निःशुल्क हुँदैनन् । पिसाब गर्दा पनि राज्यलाई कर तिर्ने नागरिक भनेका नेपालकै हुन । अझ यो कर त पैदल हिँड्ने बटुवाले तिर्ने हो ।

त्यो कर लिएरै भए पनि पिसाबघरको सेवा उपलब्ध गराउने दायित्व तपाईँहरूको हैन र ? ध्यानाकर्षण गराउन चाहेँ । भैँमान्छेको भाषामा तलमाथि पर्न गएमा क्षमा गर्नुहोला ।

तपाईंको यशवृद्धिको आकांक्षी
पैदल बटुवा ।

(लेखक अधिवक्ता हुन् ।)

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend