प्रधानमन्त्री ओलीले निर्वाचन आयोगलाई लेखेको पत्रमा के भनिएको छ ?

लेखाजोखा न्युज
२९ पुष २०७७, बुधबार १७:५२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई पत्र पठाएका छन् । आयोगले गत बिहीबार नेकपाका दुवै पक्षलाई ऐन–नियम र पार्टीको विधानअनुसार विवरण पठाउन पत्राचार गरेको थियो ।

सोही पत्रको जवाफमा प्रधानमन्त्री ओलीले नेकपा विभाजन भएको स्पष्ट पारेका छन् । ओलीले पठाएको जवाफमा नेकपाको दोस्रो वरीयताको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रहेको र वरिष्ठ नेतामा माधव कुमार नेपाल रहेको उल्लेख छ ।

पत्रमा भनिएको छ, ” नेकपाको प्रथम अध्यक्ष म स्वयं रहेको छु । दाहाल–नेपाल समूहले ओलीलाई अनुशासनको कारबाही गर्दै उनको ठाँउमा माधव नेपाललाई अध्यक्ष नियुक्त गरेको विवरण पेश गर्नुको कुनै औचित्य र वैधानिकता छैन ।”

“मेरो नेतृत्वमा आगामी २०७८ मंसिर २ देखि ६ गतेसम्म एकता महाधिवेशन गर्ने निर्णय गरी सो महाधिवेशन नभएसम्मका लागि पार्टीको प्रमुख पदाधिकारी तथा प्रथम अध्यक्षको नाताले पार्टी एकीकरण गर्दाको मर्म, भावना अनुरुप र विधानको धारा १८ (झ) (२) र ५ बमोजिम गठन भएको केन्द्रीय कमिटीमा पुष्पकमल दाहाल साविकमा झै दुई नम्बर अध्यक्ष हुनुहुन्छ, अर्को दाबीकर्ता माधवकुमार नेपाल वरिष्ठ नेता रहनु भएको छ । यसरी नै उहाँहरुले पेश गरेको भेलाको माइन्युटमा हस्ताक्षर गर्ने साथीहरुमध्ये धेरैले मिति २०७७ पुस ७ र ९ गते बालुवाटारमा महासचिव अध्यक्षको परामर्शमा बोलाउनु भएको बैठकमा हस्ताक्षर गर्नु भएको छ,” पत्रमा भनिएको छ ।

तर, यसअघि प्रचण्ड-नेपाल समूहले भने प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गरेको पत्र निर्वाचन आयोगलाई पठाएका छन् ।