नेकपा विवादको छिनोफानोका लागि निर्वाचन आयोगमा ओली निकट सहसचिवको सरुवा

लेखाजोखा न्युज
२९ पुष २०७७, बुधबार १७:२८

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विवादको छिनोफानो कहिले हुन्छ र निर्वाचन आयोगले सूर्य चिह्न र पार्टीको नाम कसलाई दिन्छ भन्‍ने विषय निकै चासोका साथ हेरिएको छ ।

सरकारले चुनाव चिह्न र नाम टुंग्याउने विषयमा निर्वाचन आयोगलाई प्रभावमा पार्नसक्ने भन्दै चिन्ता व्यक्त गरिएको समयमा आयोगको कानुन महाशाखा प्रमुखमा ओली निकट सहसचिवको सरुवा गरिएको छ ।

निर्वाचन आयोगको कानुन महाशाखाले राजनीतिक दलसम्बन्धी विवादको छानबिन गर्छ । यस्तै, प्रमुख आयुक्तहरुलाई सहजीकरण गर्ने काम कानुन महाशाखाको सहसचिवको जिम्मेवारी हुन्छ । उक्त पदमा गृह मन्त्रालयका कानुन सहसचिव पुष्कर सापकोटालाई सरुवा गरिएको छ । उनले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको पनि समर्थन गरेका थिए ।

कानुन सेवामा रहेका कर्मचारीको सरुवा न्याय सेवा आयोगले गर्नुपर्छ । न्याय सेवा आयोगका अध्यक्ष प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा छन् । यस्तै सदस्यमा कानुनमन्त्री लीलाप्रसाद श्रेष्ठ, सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की, लोक सेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनाली, महान्यायाधिवक्ता अग्नि खरेल र सदस्य सचिवमा देवेन्द्रराज ढकाल छन् ।

तर, न्याय सेवा आयोगको बैठक बसेको जानकारी हालसम्म दिइएको छैन र आयोगको वेबसाइटमा पनि त्यसबारे कुनै निर्णय राखिएको छैन । निर्वाचन आयोगको कानुन महाशाखामा रहेका लक्ष्मीप्रसाद गौतमलाई नेपाल कानुन आयोग बानेश्वरमा पठाउने निर्णय भएको आयोगका एक अधिकारीले जानकारी दिएका छन् ।

कानुन मन्त्रालयले काजमा सरुवा गर्ने र पछि मन्त्रिपरिषदबाट निर्णय गराउन गरी तयारी भइरहेको छ । प्रचण्ड-नेपाल नेतृत्वको नेकपाले आफूहरुसँग बहुमत सदस्य रहेकोले पार्टीको नाम र चुनाव चिन्हमा दाबी गरिरहेका छन् । अर्कोतिर प्रधानमन्त्री केपी ओली पक्षले अध्यक्ष, महासचिव र पार्टीको माइन्युट आफूहरुसँग रहेकोले आफूहरु आधिकारिक नेकपा भएको दाबी गरिरहेका छन् ।