ओलीले डमरु बजाएर सडकछाप पार्टीको केन्द्रीय सदस्यको टिकट बाँडिरहेका छन् : माधव नेपाल

लेखाजोखा न्युज
२९ पुष २०७७, बुधबार १५:५९

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले डमरु बजाएर केन्द्रीय सदस्यको टिकट बाँडिरहेको टिप्पणी गरेका छन् । काठमाडौं जिल्ला कमिटीले बुधबार आयोजना गरेको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीले डमरु बजाएर केन्द्रीय सदस्यको टिकट बाँडिरहेको टिप्पणी गरेका हुन् ।

अध्यक्ष नेपालले भने, “ओली झुटको पुलिन्दा हो । ओलीले डमरु बजाएर केन्द्रीय सदस्यको टिकट बाँडिरहेका छन् । चार सय सदस्यको केन्द्रीय कमिटी बढाएर ५५६ पुर्‍याउनु भयो । ५५६ बाट बढाएर एक हजार ५०१ पुर्‍याउनु भयो । कुनै दिन बढेर दुई हजार ५०१ पनि २५०१ नपुगेपछि ५ हजार पुग्ला ।”

अध्यक्ष नेपालले ओली समूहलाई सडकछाप पार्टीको संज्ञा दिएका छन् । उनले भने, “ओली समूहको सडक छाप पार्टीमा को-को जाने हो ? हेर्न बाँकी छ । कतिपय केन्द्रीय सदस्यहरुले त्यो पदक अस्वीकार गरिरहनु भएको छ । ओली समूहको पाटीपौवा पनि होइन, त्यो कुलोजस्तो देखिएको छ ।”

उनले प्रधानमन्त्री ओली कम्युनिस्ट नभएकोसमेत बताएका छन् । उनले प्रधानमन्त्री ओलीले कम्युनिस्ट नेताले बोल्ने भाषा प्रयोग गर्नै नजान्‍नेसमेत बताएका छन् । उनले भने, “हामी ओलीले संविधानमाथि र पार्टीमाथि गरेको घातको विरुद्ध सडकमा उत्रिएका छौं । उहाँ एक्लिनु भएको छ । तानाशाहहरु यसरी नै एक्लिँदा रहेछन् । मै हुँ भन्‍नेहरु अन्तिममा निरिह हुँदा रहेछन् । ओली पनि निरह भएको पाउनुहुनेछ ।”

ओलीले कम्युनिस्ट आन्दोलनलाई सध्याउन खोज्‍नुभएको पनि अध्यक्ष नेपालले बताएका छन् । उनले भने, “ओलीले सबै उपलब्धिहरुलाई निमिट्यान्‍न पार्न खोज्‍नु भएको छ । हामी अहिले मत प्राप्तिका लागि होइन, व्यक्तिविरुद्ध होइन प्रवृतिविरुद्ध कम्युनिस्ट कतर्व्य निर्वाह गर्न हामी मैदानमा उत्रिएका छौं । हाम्रा मान्यताहरु सही छन् ।”

ओली झुटको पुलिन्दा भएकोसमेत उनले बताएका छन् । ओलीले भने, “अहिले अन्तर्विरोध क्लाइमेक्समा पुगेपछि यो स्थिति आएको हो । हामीले पटक-पटक समस्या समाधान गरौं, बैठक बसौं भन्यौं । तर, उहाँले विभिन्‍न जालझेलहरु गर्नुभयो ।”