ओली ‘पोलिटकल जोकर’ हुन्, सूर्य चिह्‍न र नाम नपाए कयामत आउँछ : प्रचण्ड

लेखाजोखा न्युज
२९ पुष २०७७, बुधबार १५:०८

काठमाडौं । नेकपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली पोलिटिकल जोकरमा परिणत भएको बताएका छन् ।

काठमाडौं जिल्लाले आयोजित गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एक सय जनाभन्दा कम केन्द्रीय सदस्यको बैठकले एक हजारभन्दा बढी केन्द्रीय सदस्य थप गर्ने नौटंकी गरेको बताएका छन् ।

उनले भने, “एक सयजना भन्दा कम केन्द्रीय सदस्य भएको भेलाले एक हजारभन्दा बढी केन्द्रीय सदस्य थप गर्ने कस्तो विक्षिप्तता हो ? ४४१ भन्दा बढी केन्द्रीय सदस्य रहेको नेकपामा २१९ जना भए मात्रै गणपुरक संख्या पुग्छ । तर, एक सयजनाभन्दा कम केन्द्रीय सदस्यको भेलाले पार्टीको विधान संशोधन गर्ने कस्तो नौटंकी हो यो ?”

संघीयता र संविधान एम्बुसमा छ, हामी उखानटुक्का सुनाउन र प्रहसन गर्न आएका होइनौं : प्रचण्ड

विक्षिप्त र बहुलाहटका कारण मुलुक संकटतर्फ गएको बताएका छन् । उनले भने, “हामी निर्वाचन आयोगमा पनि गएका छौं । निर्वाचनसम्बन्धी ऐन पनि पल्टायौं । आयोगले पनि जे तथ्य हो, त्यही फैसला हुन्छ भनेको छ । ५० प्रतिशतभन्दा बढी केन्द्रीय सदस्य संख्या जहाँ हुन्छ त्यो आधिकारिक हुन्छ र अर्को समूहले नयाँ पार्टी गठन गर्नसक्ने आयोगले विश्वास दिलाएको छ ।”

उनले संविधान, ऐन, कानुनअनुसार पार्टीको नाम र सूर्य आफ्नो समूहको हुने दाबी गरेका छन् । उनले भने, “त्यसो नभएको अवस्थामा कयामत आउँछ । केपी ओलीले संविधान मिचेर अघि बढेका छन् । यहाँ पार्टीको नाम र सूर्य नपाएमा यहाँ आँधिबेहरी आउँछ । हामीलाई भरोसा छ, राजनीतिक जोकर र नौटंकी पछाडि कोही लाग्‍ने छैन ।”

“उहाँले हामीले भगौडा भन्‍नुभएछ; सुन्‍न पनि कान के थुन्‍नु ? आँखा के छोप्‍नु ? लाजैमर्दो । ७२ प्रतिशत केन्द्रीय सदस्यको अध्यक्ष भगौडा र ३० प्रतिशत पनि नभएको रैथाने ? केपी ओलीको भन्दा अन्त कतै हुन्छ ?,” प्रचण्डले भने ।

प्रचण्डले पार्टीले प्रधानमन्त्री ओलीलाई काम गर्न नदिएका विषयहरु र मुद्दाहरु कुन-कुन हुन्, यो सार्वजनिक गर्नसमेत चुनौती दिएका छन् ।