अमेरिकी राष्ट्रपति ट्रम्पलाई पदबाट हटाउने प्रस्ताव पास

लेखाजोखा न्युज
२९ पुष २०७७, बुधबार १४:३०

वाशिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पदबाट हटाउने प्रस्ताव अमेरिकी संसद्को तल्लो सदनबाट पास भएको छ । हाउस अफ रेप्रिजेन्टेटिभ्सबाट बुधबार पास भएको प्रस्तावमा गत बुधबार संसद् भवनमा भएको हिंसालाई ट्रम्पले प्रोत्साहित गरेको आरोप लगाइएको छ ।

डेमोक्रेटहरुले संसद्‍मा राखेको प्रस्तावमा ट्रम्पबाट राष्ट्रपतीय शक्ति खोस्‍न उपराष्ट्रपति माइक पेन्स तथा मन्त्रिमण्डललाई आग्रह गरिएको थियो । तर उपराष्ट्रपति पेन्सले अमेरिकी संविधानको २५औं संशोधनमार्फत ट्रम्पलाई हटाउने कुरा अस्वीकार गरेपछि संसद्‍मा मतदान भएको हो ।

ट्रम्पलाई हटाउने प्रस्तावमा मतदान गरेका २२३ सांसद्‌मध्ये पक्षमा २०५ मत परेको थियो । ट्रम्पलाई २५ औं संशोधनबाट हटाउनुपर्छ भन्ने पक्षमा रिपब्लिकन पार्टीका एक सांसदको पनि मत आएको थियो ।

अब यो प्रस्ताव माथिल्लो सदनमा जानेछ । माथिल्लो सदनमा आफूहरुले ट्रम्पविरुद्धको महाअभियोग प्रस्तावलाई पारित गर्ने रिपब्लिनकहरुलेसमेत बताइरहेका छन् । ट्रम्पलाई सत्ता हस्तान्तरण गर्नुभन्दा ७ दिनअघि अमेरिकी तल्लो सदनमा उनलाई हटाउने प्रस्ताव पास भएको हो ।

अमेरिकामा नोभेम्बर ३ मा भएको चुनावमा विजयी भएका जो बाइडेनको जित उल्टाउने प्रयासस्वरूप ट्रम्पले आफ्ना समर्थकलाई संसद्‍मा आक्रमण गर्न प्रोत्साहित गरेको आरोप लगाइएको छ ।

हाउस अफ रेप्रिजेन्टेटिभ्सकी सभामुख नान्सी पेलोसीले ट्रम्पका कारण अमेरिकी लोकतन्त र संविधानमाथि नै खतरा रहेकाले तत्काल पदबाट हटाउनुको विकल्प नरहेको बताएकी छन् ।

जनवरी २० मा पदावधि सकिनुअघि नै ट्रम्पलाई राष्ट्रपति भवनबाट बिदा गर्ने गरी डेमोक्रेटहरु अघि बढेका छन् । नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले २० जनवरीमा शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ । – सीएनएन