युगाण्डामा निर्वाचनको एक दिनअघि सामाजिक सञ्‍जाल प्रतिबन्ध गर्न निर्देशन

लेखाजोखा न्युज
२९ पुष २०७७, बुधबार १०:१७

कामपाला । पूर्वी अफ्रिकी मुलुक युगाण्डामा निर्वाचनको एक दिनअघि देशभर सम्पूर्ण सामाजिक सञ्‍जालका प्लेटफर्महरु देशभर प्रतिबन्ध गर्न निर्देशन दिइएको छ ।

युगाण्डा सञ्‍चार आयोगले सामाजिक सञ्‍जालका सम्पूर्ण प्लेटफर्महरुलाई अर्को सूचना जारी नभएसम्मका लागि प्रतिबन्ध गर्न निर्देशन दिएको छ । युगाण्डामा बिहीबार निर्वाचन हुने भएको छ ।

युगाण्डाले इन्टरनेट सेवा प्रदायकहरुलाई सम्पूर्ण सामाजिक सञ्‍जाल प्लेटफर्म र म्यासेजिङ एपहरुमा प्रतिबन्ध लगाउन निर्देशन दिएको हो । निर्देशनमा भनिएको छ, ‘सञ्‍चार आयोग तत्काल सम्पूर्ण सामाजिक सञ्‍जाल प्लेटफर्म र म्यासेजिङ एपहरुमा प्रतिबन्ध लगाउन निर्देशन जारी गर्दछौं ।’

यसअघि मंगलबार फेसबुक, गुगल प्लेस्टोर, एप्पल स्टोर र युट्युबहरु नचलेको गुनासो गरिएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ट्विटरले प्रतिबन्ध लगाएपछि युगाण्डा पनि सामाजिक सञ्‍जाल प्लेटफर्महरुप्रति सशंकित बनेको हो ।