भारतीय विवादित सीमा क्षेत्रबाट चीनले फिर्ता बोलायो १० हजार सेना

लेखाजोखा न्युज
२८ पुष २०७७, मंगलवार १६:३५

बेइजिङ । चीनले भारतीय सीमा क्षेत्रबाट १० हजारभन्दा बढी सेनाहरुलाई फिर्ता बोलाएको छ । पछिल्लो केही सातामा विवादास्पद भारतीय सीमा क्षेत्रबाट चीनले १० हजार सेना फिर्ता बोलाएको जनाएको छ ।

चिसो मौसममा सीमा क्षेत्रमा द्विपक्षीय झडप हुने भनिए पनि अहिले त्यो सम्भावना कम हुँदे गएको स्रोतलाई उदृत गर्दै साउथ चाइना मर्निङ पोस्टले जनाएको छ । चिनियाँ सेना निकट स्रोतले भन्यो, “दुई साताअघि देखि सेनाहरुलाई फिर्ता बोलाउने क्रम चलिरहेको छ । उनीहरुलाई सैन्य यातायातमा फिर्ता ल्याइएका कारण भारतीय पक्षले पनि यसलाई देख्‍न सक्नुहुन्छ ।”

थप १० हजार सेनाहरु फिर्ता ल्याउने तयारी भइरहेको बताइएको छ । एक वर्षभन्दा बढी समयदेखि हिमाली क्षेत्रमा चिसो हिउँमा ड्युटीमा रहेका सेनाहरु फिर्ता भएका हुन् । “चिनियाँ सैन्य कमिसन यस्तो अति चिसो मौसममा हिमालय क्षेत्रमा विवाद हुननसक्ने कुरामा निश्‍चित भएपछि सेना फिर्ता गर्न लागेको हो,” स्रोतले भनेको छ ।

अस्थायीरुपमा तिब्बत सैन्य क्षेत्र र सिन्जियाङ् क्याम्पबाट खटाइएका सेनाहरुलाई फिर्ता बोलाइएको हो । “उनीहरु आरामका लागि आफ्नो ब्यारेकमा फिर्ता गरेका छन् । तर, फिर्ता गरिएका १० हजार सेनाहरु एक सातामै फ्रन्टलाइनमा तैनाथ हुनेछन्,” स्रोतले बताएको छ ।

केही भारतीय सञ्‍चारमाध्यमहरुले पनि चिनियाँ सेना सीमा क्षेत्रबाट ब्याक भएको जनाएका छन् ।