१८ सय नेपालीमा कोरोनाविरुद्धको खोपको तेस्रो चरणको परीक्षण गरिने, कस्तो छ तयारी ? चिनियाँ कम्पनीको भगिनी संस्था क्लोभर बायोफार्मास्युटिकल्सले बेल्जियमको जीएसकेसँगको साझेदारीमा विकास गरेको खोपको तेस्रो चरणको मानवीय परीक्षण तीन सातापछि गरिने

लेखाजोखा न्युज
२८ पुष २०७७, मंगलवार १३:०२

काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोपको तेस्रो चरणमो मानवीय परीक्षणका लागि तयारी भइरहेको छ ।

त्रिभुवन विश्वविद्यालयको चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) की डीन तथा शिक्षण अस्पतालमा गरिने परीक्षणको नेतृत्व गरिरहेकी प्रा. डा. दिव्यासिंह शाहले ‘एथिकल अप्रूभल’ प्राप्त तथा कानुनी रूपमा बाटो खुलेको अवस्थामा अबको तीन हप्ताभित्र नेपालमा कोरोनाविरुद्ध एउटा खोपको मानव परीक्षण गरिने बताएकी छन् ।

उनले तेस्रो चरणको परीक्षणका लागि आवश्यक प्रयोगशालासहित अन्य विभिन्न पूर्वाधार निर्माणको कार्य ‘लगभग सम्पन्न’ भइसकेको बताएकी छन् ।

अस्ट्रेलियाली कम्पनी क्लोभर बायोफार्मास्युटिकल्सले बेल्जियमको जीएसकेसँगको साझेदारीमा विकास गरेको खोपको पहिलो चरणको परीक्षण सम्पन्‍न भइसकेको, दोस्रो चरण सम्पन्‍न हुने क्रममा रहेको र तेस्रो चरणको परीक्षण नेपालमा पनि हुने उनले जानकारी दिएकी छन् । क्लोभर बायोफार्मास्युटिकल्स एउटा चिनियाँ कम्पनीको भगिनी संस्था हो ।

सामान्यतया हरेक खोपको पहिलो चरणको परीक्षणमा मानव शरीरमा ‘मोलिक्युल’ सुरक्षित छ वा छैन हेरिने, दोस्रो परीक्षणमा यो कति मात्रामा प्रभावकारी हुन्छ भनेर हेरिने र तेस्रो चरणको परीक्षणमा भाइरसविरुद्ध प्रभावकारी हुन्छ कि हुँदैन र यसको प्रयोगले मानव शरीरमा कुनै दुष्प्रभाव पार्छ कि पार्दैन भन्‍ने कुराको अध्ययन गरिन्छ ।

यो खोपको तेस्रो चरणको क्लिनिकल परीक्षण १२ देशका ३४ हजार मानिसमा गर्न लागिएको छ । त्यसमध्ये १ हजार आठ सय जनाको परीक्षण नेपालमा गरिने भएको हो । कुल १,८०० परीक्षणमध्ये १,२०० वटा शिक्षण अस्पतालले र बाँकी ६०० धुलिखेल अस्पतालले गर्ने तयारी रहेको डा. शाहले बताएकी छन् ।

तेस्रो चरणको क्लिनिकल परीक्षणमा सहभागी हुनका लागि १८ वर्षभन्दा माथिका स्वस्थ मानिसहरूको माग गरिनेछ ।उनीहरूलाई स्वयंसेवकका रूपमा कार्यक्रममा सहभागी हुनका लागि आह्वान गरिनेछ ।

परीक्षणमा सहभागी हुन चाहनेहरूको शरीरमा कुनै पनि किसिमको जटिल समस्या भएको भने हुनुहुँदैन । त्यस्तै कोरोना भाइरसका सक्रिय सङ्क्रमितहरू पनि कार्यक्रममा सहभागी हुन पाउने छैनन् ।