कोरोनाबाट विश्वभर १९ लाख ५१ हजारको मृत्यु, एक लाखभन्दा बढीको अवस्था गम्भीर

लेखाजोखा न्युज
२८ पुष २०७७, मंगलवार ०६:५९

काठमाडौं । सन् २०१९ को डिसेम्बरबाट चीनको वुहानमा देखिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर हालसम्म १९ लाख ५१ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । त्यसैगरी विश्वभर हालसम्म दुई करोड ४१ लाख ६ हजार ८९३ सक्रिय संक्रमित रहेकोमा एक लाख ८ हजार ८१८ जनाको अवस्था गम्भीर रहेको वर्ल्ड मिटरको तथ्यांकले देखाएको छ ।

विश्वभर हालसम्म ९ करोड १२ लाख ७७ हजार ११७ कोरोना संक्रमित रहेका छन् । जसमा सबैभन्दा बढी कोरोना संक्रमित भएको मुलुक संयुक्त राज्य अमेरिका हो । अमेरिकामा दुई करोड ३१ लाख १८ हजार ५७८ कोरोना संक्रमित छन् भने तीन लाख ८५ हजार ८८ जनाको मृत्यु भइसकेको छ ।

कोरोना संक्रमितको संख्याका हिसाबमा दोस्रो रहेको भारतमा एक करोड ४ लाख ७९ हजार ८७९ कोरोना संक्रमित रहेकोमा एक लाख ५१ हजार ३६४ कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

ब्राजिलमा कोरोना संक्रमितको संख्या ८१ लाख ३३ हजार ८३३ छ भने दुई लाख ३ हजार ६१७ जनाको मृत्यु भइसकेको छ । रुसमा ३४ लाख २५ हजारभन्दा बढीमा कोरोना संक्रमण भएको छ भने ६२ हजारको मृत्यु भएको छ ।

बेलायतमा ३१ लाख १८ हजार ५१८ जनामा कोरोना भाइरसको संक्रमण भएको छ भने ८१ हजार ९६० को मृत्यु भएको छ । पछिल्लो समय बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस देखिएको छ ।

उक्त भाइरसका संक्रमितहरु भारतसम्म पनि देखिएका छन् । यो भेरियन्टको भाइरस ७० प्रतिशतभन्दा बढी संक्रामक भएको बेलायती चिकित्सकहरुले बताउने गरेका छन् ।