प्रभाव परीक्षण नभएका भन्दै भारतको छत्तिसगढमा कोभ्याक्सिन खोप प्रयोग नगरिने

लेखाजोखा न्युज
२६ पुष २०७७, आईतवार २०:०९

नयाँ दिल्ली । भारतमा १६ जनवरीदेखि देशव्यापी कोरोनाविरुद्धको खोप लगाउने अभियान सुरु गरिने भए पनि छत्तिसगढमा कोभ्याक्सिन खोप प्रयोग नगरिने भएको छ । छत्तिसगढका स्वास्थ्यमन्त्री टीएस सिंहदेवले राज्यमा तत्काल खोप प्रक्रियामा कोभ्याक्सिनको प्रयोग नगरिने बताएका हुन् ।

उनले पत्रकारसँग कुराकानी गर्दै कोभ्याक्सिनको प्रभाव परीक्षण नभएका कारण तत्काल यो खोप नलगाइने जानकारी दिएका हुन् । “यसको प्रभाव कति दिनसम्म रहन्छ भन्‍ने थाहा नभएका कारण यो खोप अहिले प्रयोग गरिने छैन ।”

उनले तेस्रो चरणको परीक्षणका लागि रोक्‍नुपर्ने बताएका छन् । उनले भने, “कोभ्याक्सिनको तीन चरणमा परीक्षण हुनुपर्ने थियो । तर, पहिलो र दोस्रो चरणमा खोप सफल अथवा असफल हुने थाहा भइसक्छ त्यसकारण तेस्रो चरणको परीक्षण गरिएको छैन । नियमानुसार तीन चरणमा परीक्षण गर्नुपर्ने भए पनि थप चार हप्ता पर्खिन किन कतार गरिएको हो ?”

आपत्‌कालीन अवस्थामा खोप लगाउने भए पनि छत्तिसगढमा त्यो स्थिति पनि नभएको उनले बताएका छन् ।

भारतले यसअघि अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरेको खोप कोभिशील्ड र भारत बायोटेकले विकास गरेको कोभ्याक्सिनलाई प्रयोगको अनुमति दिएको थियो ।