कविता – ‘वादशाला’ ऋषभदेव घिमिरे

लेखाजोखा न्युज
२५ पुष २०७७, शनिबार १०:०७

इमान
नैतिकता
आचरण

शासन
सुशासन
पढाउने
कुन छ होला पाठशाला ?

आजकल
घर घरमै
पढाइन्छ
मार्क्स,लेनिन र माओ
अझै ठूलो डाको हालेर
रटाइन्छ
उग्रवाद, उत्तरवाद, दक्षिणवादका
विस्तारित रुपहरू
कम्रेड उत्पादनको कारखानामा
सिकाइन्छ
झुठ
वादहरुको जप

निषेधित क्षेत्र र निषेधाज्ञा तोडेर
उफारिन्छन् भाटाहरू
भत्काउन लगाइन्छ
आस्थाको धरहरा
विश्वास चुडालेर
घोक्न सिकाइन्छ
मुर्दावादको नारा

कम्रेडहरू
साथीहरू
भो
देशलाई
मशाल बनाउने
वादहरू नसिकाउनु
नदेखाउनु
असंवैधानिक बाटो
नलगाउनु
संस्कार र संस्कृति मास्ने
जग माथि सिढी
नधुन्नु समृद्ध सपनाको मुहान

नउधिन्नु
थोत्रा वादशालाको
पृष्ठभागमा रहेको
दासढुंगाले थिचेको चिहान
सक्छौं भने
पढाउन लगाउनु
आधुनिक समाजवाद
झिक्न लगाउनु
उग्रपन्थी
शब्दकोषबाट
साम्यवादको अवशेष

मिलेर
घन्काउँदै
एकताको विगुल
पढ्नु र पढाउनु
नेपालवादको सिद्धान्त
सिक्नु र सिकाउनु
बन्धुत्वबाद

खोल्नु
समृद्ध नेपालवाद पढाउने
वादशाला ।