मृतसञ्‍जीवनी किनारमा मृत्युका छायाँहरु अनिश्‍चय छ र पो आनन्द बन्छ जिन्दगी, लाज ढाक्नकालागि लगाएका हुन् परिधान तर प्वाल प्वालबाट निस्केका छन् लाजका गहनाहरु । लाज ढाक्न स्याउका सेउलाको आड लागेका स्पष्ट बुझ्यौं विष्णुजी र मैले

दामोदर पुडासैनी ‘किशोर’
२५ पुष २०७७, शनिबार १०:१२

लाङ्दुक, तिमी र म उस्तै उस्तै रुपमा ब्युँझियौं सखारै । पाँडको एक खण्डमा हामी चार भाइ लहरै सुतेका थियौं, अर्को खण्डमा दुई बहिनीहरु चरा जसरी चाँईंचाँईं चुँईंचुँर्इं गरिरहेथे । तिमी रातभरिको पानीले नुहाएर ताजा र जोशिली बनेकी थियौ । म अघिल्लो दिनको थकाई तिमीलाई नै सुम्पेर हल्का र जाँगरिलो बनेको थिएँ । तिमी पानी र हिउँका भुत्लाहरुले शीतल बनेकी थियौ, म अघिल्लो साँझ भिजेका कपडाहरु पहिरेर लुगलुग काम्दै थिएँ ।

तिमीसँगै म उठ्दा हामी दुवैलाई उमङ्गित पारेथ्यो अपी, शैपाल र अरु धेरै हिमालका हँसिलो मुहार र त्यतैबाट आएका मगमगाउँदो हावाका झोक्काहरुले । अझ दक्षिणपूर्वकी मारुगोर हिमाल त मुसुमुसु मुम्कुराइरहिन् हामीलाई देखेर ।

‘लु…हाउ…हि…छुम्’ त्यस्तै त्यस्तै आवाज आइरहेछ छिरिङ दाइको घरमुन्तिरको बाटोबाट । भ्या…..भ्या….पनि गर्दैछन् । उठेर हेरें । सयौं भेडाका हूल पो रहेछन् । प्रायः सबै भेडाका पिठ्यौंमा दुई पोकाहरु बोकाइएका छन् । पछि पचास जति खच्चरहरु पनि भारी बोकेरै उकालो लगिरहेछन् । भेडा होस् वा खच्चर, ढिलो हिंड्नेलाई सिम्केनाले सुईठ्याउँन छोडेका छैनन् गोठालाहरुले । अघिल्लो दिन पानीले भिजेका बाटोमा भेडा र खच्चरका खुरले अमूर्त चित्र बनाइरहेछन् । उनीहरुको बँडकौला र लितीले रङ्गको काम गरिरहेछ चित्रहरुमा ।

‘गाडी हुन् यिनीहरु हुम्लाका, यिनीहरुले भारी नबोके नून नभेटेरै मर्नु पर्छ गाउँ-गाउँमा । भोटतिरबाट पनि ल्याइन्छ, सिमकोटबाट पनि ओसारिन्छ’— छिरिङ्दाइ बताउँनु हुन्छ ।

‘ए त्यसो भए हुम्लाका ट्रक पो रहेछन् यिनीहरु त । खच्चर ट्रक, भेडा मिनिट्रक होइन त ?’— म र दाइ दुवै हाँस्छौं । मान्छेको खुशीको लागि मरिमेटेका छन् भेडा र खच्चरहरु पनि । सकुञ्जेल भारि बोक्यो, नसकेपछि कसैको अँगेनामा उसिनियो, कसैको थाल र बटुकाबाट वाफ निकाल्यो र मल बनेर माटोमा मिसियो । लेक भरिको यार्शाकुम्भाका मुहुनाहरु टोके पनि के अर्थ, खर्क भरिका पाँचऔंले, कुट्की र पाखनवेद कोपरे पनि के अर्थ । बाँच्नुनै मर्नका लागि, एउटा सूत्र सल्वलाइरहेछ तिनका ताँतीहरुमा ।

चिया पाकेको खबर आउँछ । एक काठे लिस्नुबाट झर्छौं हामी । भाउज्यूले चौंरीको घ्यू र सिधेनून हालेको भोटेचिया तयार गरिसक्नुभएको रहेछ । कायोल नामको ग्लाँस जस्तै काठको भाँडोमा चिया पिउँन सुरु भयो । कायोल खाली भयो कि भाउज्यूले चिया थपिहाल्ने । अगेना वरिपरि बसेर घण्टौंसम्म चिया थपीथपी खाने भोटे संस्कृतिको विशेषता नै रहेछ । विष्णुजी र मैलेबाहेक अरु साथीहरुले त चियासँगै उवाको छ्याङ् पनि खानुभयो ।

‘बिहानै छ्याङ् ?’— मैले सोधें ।

‘चिसो मेटाउन चिया, थकाइ मेटाउन छ्याङ् राम्रो हो नि’—स्पष्टिकरण भाउज्यूको । अन्‍न अभावको अत्यासमत्यास उग्र छ तिमीमा । तर लेकभरि लटरम्म झुलिरहेका यी चियाहरुलाई किन आफू र अरुको तृप्तीको लागि आत्मोत्सर्ग गराउँदिनौं । आफ्नै आङ्‌मा गाई हुँदाहुँदै किन मूसा खोज्न भौंतारिइरहिछ्यौ । म चकित छु, तिमीलाई देखेर ।

संकटको साँझ बास पाइयो । अब त हिंड्नु नै छ । हामी बिदा माग्‍ने तर्खरमा छौं । कुन क्षणमा को सँग भेटहुन्छ, कहिले कहाँ पुगेर बस्नुपर्छ कस्लाई थहा छ र ? अघिल्लो दिन लाङ्दुकमै बासपर्छ भन्ने पनि कहाँ सोचेका थियौं र हामीले । भेट नभएको भए कहाँ चिनजान हुन्थ्यो र छिरिङदाइको परिवारसँग ।

छिरिङ दाइकोमा बसेपनि लाङदुकका दश बाह्र घरनै त्यस्तै आत्मीय त्यस्तै मायालु होलान् भन्ने अड्कल छ मेरो मनमा । मलाई तिमी पनि राम्ररी मन पर्‍यौ है लाङ्दुक । ‘सिमकोट आउँदा यता पनि आउँदै गर्नुहोला । म पनि काठमाडौं आउँदा भेटौंला । छिरिङ कान्छो लोग्ने हो मेरो । जेठो र माइलो लोग्ने त उतै बौद्धतिर बस्छन्’— बहुपति प्रथाको सामान्यिकरण देखिन्छ भाउज्यूबाट ।

‘छोराछोरी कति छन् नि ?’— विष्णुजी कोट्याउँनुहुन्छ । ‘तीन लोग्नेबाट तीन वटा छोरा, यो चाहिं माहिलाको हो । जेठो र कान्छोपट्टिको लामा पढ्न इण्डिया गए’— बारीका स्याउझैं हँसिली छन् । पत्नीले जुन लोग्नेको भनेर चिनाइन उसैको सन्तान मान्ने चलन रहेछ बहुपति प्रथामा ।

छवटै टाउकामा चौंरीको घ्यू दलिदिनुभयो आमाले । शरीर स्वस्थ्य होस्, रामो सोच्न आओस्, आँटेको काम पुरा होस्, इज्जत टाढा टाढासम्म फैलियोस्— त्यस्तै त्यस्तै आशिर्वाद दिनुभयो आमाले । बोतलबाट उवाको छ्याङ खन्याउँदै टाउको भरि दलिदिनुभयो भाउज्यूले । पाहुना बिदाइ गर्ने भोटिया संस्कार रहेछ त्यो ।

‘सर र म्यामले अघि मुखले छ्याङ नखानु भएको होइन, अहिले टाउकाले खाइहाल्यो’— जिस्काउँनुभयो सुमन र विशालले । ‘एबुदुत’ — साथीहरुले भन्नु भयो । एबुसोङ’ — आमा र भाउज्यूले भन्नुभयो । हामी हिंड्यौं । छिरिङ दाइको आँगनबाट ओर्लदा बिहानको आठ अङ्कित थियो घडीमा ।

पहिरेका कपडाहरु नसुकेकाले हिंड्न अप्ठेरो छ हामीलाई । तै घामले सुमसुम्याइरहेकोले आनन्द आइरहेछ । तिम्रो शीरमा ताजजस्तै सजिएको पञ्चमुखी हिमालको सेताम्य संसार देख्दा मन त्यसै त्यसै खुशीले कुतकुतिएको छ । तल बाँयातिर सिमकोट बजारले घरिघरि तिमी हामीलाई नियाल्छ । अझ तल दक्षिणतिर खोंचमा खार्पुनाथ छ जहाँ दोज्याम र हुम्ला कर्णाली मिलिरहेछन् । पूर्वतिर ठेहे र पश्चिम उत्तरतिर हिल्दूम गाउँहरु गुचुमुच्च बसेका देख्दा तिनीहरुसँग पनि मितेरी लगाउन पाए हुन्थ्यो भन्छ मनले ।

तिम्रै आँगनमा स्वदेशी र विदेशी मित्रहरुलाई कयौंरात बास बसाउन पाए, तिम्रै खोंच, खोल्सी र पानीढलोमा उम्रेका जरा बूटाको महत्व दर्शाउँदै सुप र तेलको स्वाद चखाउँन पाए, हिउँभन्दा धेरै बर्सन्थ्यो स्वदेशी र विदेशी पैसा । आफूसँगैको श्रीखण्ड फ्याँकेर अरुसँग उत्तिसको स्याउला माग्नु कत्रो दुर्भाग्य ।

बाटाहरु जिन्दगी जस्तै छन्— उकाला, ओराला, घुमाउरा र सम्म । एकै किसिमका मात्र बाटाहरु हुने हो भने कति निरस हुन्थ्यो होला यात्रा । हिल्दूमको ओरालोमा मैले टेकेको ढुङ्गा खस्कियो । घुसमुटिएर दुई बल्ड्याङ खाएँ मैले । जङ्गजीले च्याप्प समातिहाल्नुभयो र मात्र, नत्र थङथिलो हुन्थे होलान् मेरा हाडखोडहरु । लड्नुको बेग्लै मजा हुन्छ उठेपछि । त्यो भन्दा अप्ठेरा भीरहरुमा केबलकार जोडेर संसारभरका मान्छेहरुसँग पैसा असुलीरहेको देखेथें मैले युरोपको मँ ब्लँ हिमाल र जापानको ओसाका वरिपरि ।

अप्ठेरोलाई आश्चर्य दर्शाउँन सके पो सोहोरिन्छन् सबैतिरका मान्छे । सरसफाई र लवाई खवाईले नसजाई आमालाई खुन्द्रीबूढीको रुपमा मात्र राख्ने हो भने कहाँ उज्यालिन्छन् र कसैका पनि दिनहरु । ढुङ्गा, माटो, उकालो, ओरालो, वनस्पती, जीव जे भने पनि आश्चर्यपूर्ण छन् तिमीसँग । त्यतिका गहना बगर बनेर गुल्टिरहेका देख्दा उकुसमुकुस बनेको छु म ।

घोडा, चौंरी र भेडाहरु जतासुकै चरिरहेछन् । शान्त पाखाहरुमा वस्तुभाउको सल्बलाहटले एउटा तरङ्ग फेलिरहेछ । ‘छ्याग्भुलो’ — मैले अलिअलि जानेको हुम्ली शब्दमा अभिवादन गरें । एक दाइ र एक दिदी ढुङ्गा चिनेर बाटो बनाइरहनुभएको रहेछ । दाइले पनि हात जोरेर बोल्नुभयो— ‘छ रिङ छ्याग्लामा कोञ्ज्याग्ला फूल ।’

‘यबु होता ?’ — मैले के के न हुम्ली भाषा जानेझैं फेरि बोलें । त्यसपछि मसँग हुम्ली भाषाका कुनै शब्द थिएनन् । दाइ दिदीलाई भने मैले राम्रैसँग हुम्ली बोल्न आउँदोरहेछ भन्ने लाग्यो क्यार ।

‘यवु’ — त्यसपछि उहाँहरुले बोल्नु भएको केही बुझिन । गाउँ छेउमै त्यस्तरी बाटो बिग्रिएको छ । गाउँले कसैले बाटो बनाएनन् । बाटो बनाउँनु र बाटो देखाउँनु जस्तो ठूलो धर्म अरु केही छैन । अस्तीमात्र पनि एक गोरखाली यहींबाट चिप्लेर घाइते भए, झुमा र झोपा त कति मरिसके, द्यौता पुज्नुभन्दा बाटो खन्दिएको बेस । त्यसै भएर हामी बूढाबूढीनै यो काममा लागेको । तिमीहरुको धर्म पनि अलिकति चोर्छौं होला हगि हामीले ?’ दाइ हाँस्‍न थालेपछि सबै अर्थ्याउनुभयो साथीहरुले ।

‘जिन्दगीमा कसले देखाएको बाटोमा हिंड्नुपर्छ, कसलाई बाटो देखाउनु पर्छ, टुङ्गो कहाँ छ र’— सोचें मैले । अरुले देखाएको बाटोमा हिंड्नुभन्दा आफैंले नयाँ बाटो बनाएर अरुलाई डोर्‍याउन सक्नु कत्रो सफलता— थप सोच सङग्रालियो ।

‘आम्मै कति राम्री’— आँखै सामुन्ने तस्बिरझैं उभिएकी बुराउँसे देखेपछि लोभिएँ म । ‘अघिसम्म लाङ्दुक राम्री, अहिले बुराउँसे ।’ ‘सर पनि, ‘घामदेखे घाम राम्रो, जूनदेखे जून राम्रो’, हिमाल देखे हिमाल राम्रो, नदी देखे नदी राम्रो, बादल, अँध्यारो, उज्यालो सबै राम्रो । यत्तिको सँगै हिंडियो कुनैबेला केही नमीठो र नराम्रो मान्नुभएको देखिन’ – मेरो बारेमा आँकलन विष्णुजीको ।

‘जिन्दगीका हरेक भेटमा खुशी हुन सक्नुपर्छ विष्णुजी, नत्र त दुःख बढिहाल्छ नि । प्रकृतिका हरेक कित्तामा रमाउन नसक्नेहरुको भागमा परिरहन्छ पीडा । म अप्ठ्याराहरु माझमा खोज्‍न चाहन्छु खुशी’— दर्शनको एक झोंक्का निकालें मैले ।

छोर्तेनका लहर छन् बाटाहरुमा । बौद्ध मन्त्रहरु कोरिएका छन् तिब्बती भाषामा । भोकले पिल्सिरहेका ती वस्तीहरुमा; ढुङ्गामा छोर्तेन कुँद्नुको औचित्य पुष्टि हुन्छ हुँदैन, अलमलमा छु म । संस्कारको झीरमा उनिएपछि मुस्किलनै पर्छ निस्कन जो कोहीलाई पनि ।

छ्वाङछ्वाङती खोलाहरु खसिरहेछन्, पाइला पाइलामा । ख्वै, तिनको सदुपयोग ? सदुपयोग नगर्ने हो भने कहाँ चपाउँन मिल्छ र सुनलाई पनि ? बुराउँसे गाउँको माझमा पुग्दा अंशुझैं खुलेको छु म पनि । भिरालोमा अडिएका थेप्चा घरहरु । घर वरिपरि फापर र चोतीले ढाकेका बारिका पाटाहरु । घर अघिल्तिर लटरमम्म फलेका स्याउका रुखहरु । मान्छेहरु पाँडबाट हेरिरहेछन् , बाटा बाटा कुदिरहेछन् । भित्रको व्यथा नबुझ्दासम्म असाध्यै सुन्दर देखिन्छ गाउँ ।

‘हामीलाई स्याउ बेच्ने हो, बहिनी ?’— उकालो र भोक दुवैलाई शान्त पार्ने जमर्को मेरो । ‘बेच्ने छैन, खान्या भए दिन्छौं’— कति सरल छ बहिनीको जवाफ । ‘हम आँटो खान्या, फाटो लाउन्या’ ले दिएको के खान्या हौ र गोरखालीले’ — अर्की बहिनी स्याउको स्याउलाले मुख छेक्दै हाँसिन् ।

‘आऊ पो गाला मारुँ’, क्यान टिप्दो हौ स्याउ’ — अलि छेडखान छ जङ्गजीको बोलीमा । स्याउ टिप्दैछन् एकै बोटबाट पाँच छोट्टीहरु । उनीहरुले बाह्र दाना स्याउ दिए । हामीले डिलमा बसेर चपायौं । पैसा दिन खोज्यौं । लिन मानेनन् ।

‘खाना खायौ ?’— मैले सोधें ।‘स्याउ पाएपछि के को खाना खानु, बरु यहीं पनि सकिन आँट्यो र पो । घरमा आँटो छैन, स्याउ सकिएपछि के पो खाने हो’— बहिनीहरुका छातीका बेदनाहरु फुत्रुक्क ओर्लिए हाम्रा कान र मनमा । उनीहरुको छाक धान्ने मेलो पो लुटेछौं हामीले । थक्क थक्क लाग्यो मलाई । घरमा खाने खानेकुरा छैन । बारीमा फलेको फलफूल बेच्नु वेइज्जती ठान्ने कस्तो चलन । आङ ढाक्ने धराहरु जीर्ण छन् पाँच छोट्टीहरुको । एउटीले झुत्रो पोते पहिरेकी छिन्, दुईवटीले ‘अठुर्नी’ , ‘सुकी’ र ‘पाँचनी’ को माला लगाएका छन् । सबैले नाम मात्रको चोली लगाएका छन् । कम्मरमा ‘ठेटुवा’ लगाएका छन् । झ्याङप्वाल छन् सबै कपडाहरु ।

लाज ढाक्नकालागि लगाएका हुन् परिधान तर प्वाल प्वालबाट निस्केका छन् लाजका गहनाहरु । लाज ढाक्न स्याउका सेउलाको आड लागेका स्पष्ट बुझ्यौं विष्णुजी र मैले । विकसित मुलकुमा खातनै खात कपडाले थिचिएर निसास्सिएका मान्छेहरु ‘नो प्यान्ट्स सबवे राइड’ अभियान चलाइरहेछन् । उनीहरु नाङ्गा तिघ्रा प्रदर्शन गर्छन् ।

छोटा र फरक ढङ्गका कपडामा सजिने मान्छेहरुको होडबाजी चलिरहेछ । भड्किलो कपडाको कारण नारीहरु बलात्कारको शिकार हुने पुरुष टिप्पणीको विरोधमा उत्रनेको संख्या पनि बढेकै छ संसारभरि । उनीहरुले अनुमति बिना महिला शरीरको खुला भाग छुन नपाईने उद्घोषमा अर्धनग्न शरीर देखाउँदै ‘स्लट वाक’ अभियान चलाइरहेछन् । खान अन्न छैन, जाडो थेग्न वस्त्र छैन, लाज ढाक्ने कुरा अझ पर छ हुम्लामा । उता गायिका वियोन्सेको कपालको स्टाइल र प्वाइन्टेड हिल जुत्ता, नायिका क्रिस्टन स्टुवअर्टको अफेयर, स्टार आर्नोल्ड र स्टालोन जस्ता एक्सन हिरोहरुको कपालको स्टाइल, केट विन्सलेट र स्याम मेन्डिस, हेली बेरी र एरिक बेनेट, जुलिया रोबर्टस् र बेञ्जामिन ब्रटका प्रेमिल क्षणहरुलाई ठूला ठूला अक्षर र तस्बिरमा माला उन्छन् संसारभरका सञ्‍चार माध्यमहरुले ।

गोल्ड, प्लेटिनम, सिल्भर र कपरका क्रिम र लोसनले फेसियल गराउन ब्युटि पार्लर र स्पामा धाउनेहरुको भीड छिचोलिनसक्नु छैन, हाम्रै सहर बजारमा । सहरियाहरुले एक पटक फेशियल गर्ने खर्चले हुम्ली दिदी–बहिनीहरुको कयौं छाक खाना टर्छ । जाडो र लाज ढाक्ने कयौं जोर कपडाको जोहो हुन्छ । यसलाई न सरकारलेनै हेरेको छ न अरु क्षेत्रका जनताहरुले नै ।

कतै खानै नपाएर र कतै खानानै नपचेर मर्ने अवस्था रहेसम्म के काँचुली फेरोस् देशले । उमेरले दिएका गहनाहरुलाई अलिकति छोपछाप नपारी असरल्ल छाड्ने बाध्यताको अगाडि गाँस, बास र कपासका अभियानभन्दा बाहेकले के अर्थ राख्न सक्छ र यो दुनियाँमा ।

तोर्पा होउ वा लाङ्दुक, हिल्दुम होउ वा बुराउँसे तिम्रो विपन्नतामा भित्रभित्रै भुटभुटिएको छु म । यति सुन्दर शरीर छ तिमीहरुको, डाँडाकाँडालाई जीवन दिनसक्ने यति उत्साही आँट छ तिमीहरुको । तैपनि तिमीहरु केही नभएझैं उजाड बनिरहेछौ, कोही नभएझैं उदास देखिइरहेछौ ।

पचास वर्ष अघि तिमी भन्दा गएगुज्रेको थिइन् भन्थे जापानकी आन्नाका, मैले भेट्दा सम्वृद्धिका गहनाले गजधम्म थिइन् मोरी । तीस वर्ष अघि दाल चामल भेट्नु दन्त्यकथाको राजकुमार भेटेझैं मान्थिन् रे दुबहीले, मैले भेट्दा उड्ने, गुड्ने र पौडने महलहरुमा संसारको स्वाद चाख्दैरहिछन् । सय वर्ष अघिसम्म एक्लो संसारमा उकुसमुकुस बनिरहेकी न्युयोर्क नानी आँसुको ओसले टाक्सिरहिथिइन् भन्थे बुझ्नेहरु, मैले भेट्दा घाम, पानी, हावा, हिउँ जतासुकै खुशी छरिरहिथिन् । तिमी चाहिं नचुलिने कारण के छ र नचम्कने कुरा के छ र ? अरुको मुख ताकेर हुँदैन तिमी आफैं आफ्नोलागि उठ्नुपर्छ अब, हुम्ला ।

उदास मनमा उकालो चढ्नु जस्तो नमजा अरु केही हुँदैन, हामी केहीबेर उकालो चढेर तलतिर झर्‍यौं । फेरि भेटियो हुमाने खोला । फेरि हिंडियो डालेचुकको जंगलनै जंगल । हुमाने एउटाबाट मात्र बिजुली झिक्ने हो भने कति छिट्टै हराउँथे तिम्रा दुःखका दिनहरु । डालेचुकको मात्र सर्बैत, वाइन र सोमरस व्यवस्थित रुपमा बनाउने हो भने कत्ति छिट्टै फालहालेर आउँथे होलान् सुखका क्षणहरु । आफ्नै नाइटोमा बीना बोकेर सुगन्ध खोज्न हिंडिरहेकी तिमीलाई छाम्दा म हिल्दूम खोला भन्दा दुःखित बनेर तलतल झरिरहेछु ।

‘सरको अनुहार र ब्यबहारमा दाइ भेटिरहेछु मैले । दाइको स्नेहमा उज्यालो लाग्दैछ संसार’— मेरो मौनतामा रङ्ग दिन खोज्नुभयो विष्णु बहिनीले । दाइ बन्नुको खुशी हिउँ जसरी फैलियो । ‘बहिनी पाउनु मायाको खानी भेट्नु हो, संसारमा आड भेट्नु हो उत्साहको, हिमालमा बहिनी भेट्नु हिमदेबी भेट्नु भैरहेछ’— बहिनीको मायाले फैलियो उमङ्ग मेरो शरीरभरि ।

मास्तिरबाट एकहूल चौंरीहरु आँखै नहेरी फालहाले । हामीलाई बाटोमै कुल्चिमिल्ची पार्लान् जस्तो भयो । हाम्रा अङ्ग अङ्गमा सिङले दूलो पार्लान् भन्ने डर लाग्यो । धन्न डालेचुकको रुख रुखमा छेकियौं र पो बाँचियो बाबै । तिनीहरु तलतिर झरेपछि भुतभुताउनु भयो विशालीले –

‘गाईको दूध गाईकै गोबर
गाईकै छाला चाल्नु
माया गरी घरमा पाल्नु
मौका परे फाल्नु’

‘अघि गाईले झण्डै सुप्लीठ्याङ बनाएको थियो, अहिले कविता भट्टयाउँछ’— हाँस्नुभयो सुमनभाइ । ‘बाँचेपछि त हो नि कसैले केही गर्ने मरेपछि लम्पसार बाहेक के हुन्छ र’— सरल जीवन–दर्शन छ, विशालजीको ।

हामी सिमकोट बजारनेर पुग्दा प्रहरिको एक डफ्फा उकालो चढिरहेको भेटियो । ‘रल्लिङ हिमालमा औषधि खोज्न गएका दुईजना लेक लागेर मरे भन्ने खबर आयो, उद्धारको लागि हिंडेका’— डफ्फाका नाइके बोले ।

‘लौ हामीलाई हिजो बोलाउनेहरु अस्ताएछन् क्यार, कहिल्यै नफर्कनेगरि’— एकाएक बादलले ढाक्यो निमाको अनुहारमा । ‘औषधि जोहो गरेर जिन्दगीलाई हिउँ जस्तो उज्यालो पार्न त चढे नि त्यहाँ, मर्ने थहा पाएको भए किन जान्थे होलान् त्यो अनकन्टार हिमालमा’— हामी सबैको अनुहारमा एकाएक फैलियो कालो कुहिरो ।

मृतसञ्जीवनी बुटीहरु बटुलेर संसारलाई चखाउन खोज्नेहरुनै भोक र ठण्डीले मरेका छन् हिमालहरुमा । आफ्‍नोविरुद्ध उचाई चढिरहनेलाई सहेको छैन मृत्युले पनि । मृत्युको छायाँमा खुशी मनाइरहेछ जिन्दगीले । भरभराएको आगोलाई यस क्षणसम्मनै छलिरहेछ मृत्युले ।

सिमकोट, हुम्ला
२०६५ असौज ९ गते