कुटीभित्र भेटिएका मणि ! सहर हुँदै राजधानी पसेका नेता चुनावमा मात्र गाउँमा देखिनु, पत्रकारले गलत समाचार छाप्‍नु र जनता सधैँ आश्वासनमा मात्र बाँच्‍ने अवस्थाले देशको विकास हुन नसकेकोप्रति लेखकको गहिरो चिन्ता देखिन्छ

सिर्जन अविरल
२४ पुष २०७७, शुक्रबार २०:५२

आफ्ना छोटा र सरल निबन्धहरूको लोभलाग्दो कुटी निर्माण गरेका छन् निबन्धकार मणि अर्यालले । एउटा ऊर्जाशील र सकारात्मक सोच बोकेका साहित्यिक साधक हुन्, अर्याल । यिनी क्लिस्ट शब्दहरूको प्रयोग गर्दै अनेक बिम्वहरू थुपार्दै निबन्धलाई दुरूह बनाउँदैनन् । न त यिनका निबन्धहरू यथार्थको भुइँ छाडेर बेतुके कल्पनाको उडानमा नै भेटिन्छन् । आफ्ना हरेक निबन्धमा आफू बाँचेको समय र भोगेको यथार्थलाई अति सरल र आकर्षक रुपमा पस्किएका छन्, यिनले ।

जम्माजम्मी ११ वटा निबन्धमा सजिएको ‘कुटी’ सुन्दर र पठनीय निबन्धहरूको सानो गुजुल्टो हो । कुटी पढ्न बस्‍ने जोकोही पाठकलाई लाग्छ – यो समयको ऐनालाई अति सरल र सुबोध्य भाषामा निबन्धभित्र पढिरहेको छु । न त कुनै परिभाषाको कर्मकाण्डी बाटो हिँडेको छ । यिनको निबन्ध न त हराएको छ, कुनै सिद्धान्तको गहिरो सुरूङमा ।

एउटा लेखकले भोगेको समय र मसिना विषयलाई निबन्धमा निकै महत्व दिएका छन्, यिनले । कुटीभित्र सजिएका हरेक निबन्धमा पाठकले आफ्नै परिवेश, समाज र सबै खाले सामाजिक विषयहरू भेटिरहेको हुन्छ । साहित्य समाजभन्दा पर छैन भन्ने गहिरो अनुभूत गर्न सक्छ कुटी पढ्ने पाठकले । प्रस्ट भाषामा भन्दा एउटा प्राकृतिक यायावरजस्तै लेखक हुन्, यिनी ।

आफैँले घुमी हिँडेका, देखेका र भोगेका अनेक कुराहरूलाई नै लेखनको विषय बनाएका छन्, यिनले । वास्तविक जीवन र समाजभन्दा कत्ति पर छैन यिनको लेखन । त्यति मात्र नभएर मृदुभाषी, सरल र इमान्दार लेखक पनि हुन् अर्याल । यिनको बाहिरी जीवन र लेखकीय जीवनमा एकरुपता भेटिन्छ । बौद्धिक ,शीष्ट र सरल व्यक्तित्वको रुपमा भेटिने यिनी यथार्थमा प्रकृतिक लेखक नै हुन् ।

यही समाजलाई छामेर कहिले पश्चिम त कहिले पूर्वमा पाइला नाप्दै समयको बार्दलीबाट समयलाई नै सम्बोधन गर्ने लेखक हुन्, यिनी । केही आत्मपरक र केही वस्तुपरक शैलीमा लेखिएका यिनका निबन्ध विद्यालयका पाठ्यपुस्तकमा राखिन लायक निबन्धहरू हुन् । सामान्यभन्दा सामान्य पाठकले पनि सजिलै बुझ्‍न सक्ने यिनका निबन्ध नदीजस्तै सलल बगेका हुन्छन् । पाठकले पढ्न सुरु गरेपछि छोड्न नसक्ने यिनका निबन्धमा अनौठो चुम्बकीय आकर्षण भेटिन्छ । निबन्धको भाषामा भेटिने मिठास र कलात्मक प्रस्तुतिले नजानिदो गरी पाठकलाई तान्छ ।

वास्तवमा त्यस्तो उत्पात र अचम्मको कुनै कुरा भनेका छैनन्, यिनले आफ्नो निबन्धमा । श्रमको कथा, पसिनाको मूल्य र जीवनको गीतलाई समाजसँग प्रत्यक्ष जोडेर निबन्धको भाषामा मात्र बोलेका हुन्, अर्यालले । अचम्म त के छ भने गहिरो दर्शन र ठूल्ठूला सिद्धान्तको डिङ हाँक्नेहरूका अगाडि यिनको लेखनको सरलता नै भव्य लाग्छ । जीवनचेतना, मानवीय संवेदना अनि भोगाइ र समाजको यथार्थ प्रतिबिम्ब भेटिन्छ कुटी’मा ।

पहिलो निबन्ध कृतिमा पनि कत्ति कमजोर लाग्दैन यिनको भाषाशैली । झण्डै दुई दशकभन्दा बढी साहित्यिक यात्रामा लागेका यिनले फुटकर रचनामार्फत आफूलाई निखार्ने अवसर पाएको देखिन्छ । समाजको बिग्रँदै गएको लय अनि हार्दिकता र संवेदनाको पहाडबाट वर्षेनी गइरहने पैह्रो कति भयावह हुन्छ भन्ने कुरा पढ्न सकिन्छ यिनका निबन्धमा । राजनीति पसेपछि भत्किएको गाउँको सौन्दर्य अनि स्खलन हुँदै गएको नेताको सिद्धान्त र आदर्श मात्र होइन गरिब किसानको पसिनाको सौन्दर्य पनि भेटिन्छ निबन्धमा ।

‘गुरु भेट’ शीर्षकबाट सुरु भएको निबन्ध ‘सम्झनामा इन्द्रबहादुर’सम्म गएर टुंगिन्छ । होटल हाइवे, मधुशाला, मेरो गाउँ, मित्र संवाद’जस्ता फरक- फरक स्वादका निबन्धहरूमा सङ्ग्रहभित्रको छैटौँ निबन्ध हो, कुटी । त्यस्तै नेपालगञ्ज, प्यान्थर, पसिनाको स्वाद, रिस’जस्ता निबन्धहरू पनि सङ्ग्रहका सुन्दर निबन्धहरू हुन् ।

गुरु भेट शीर्षकको निबन्धमा आजका विद्यार्थी र शिक्षकको मनोविज्ञानलाई प्रस्तुत गरिएको छ । मात्र औपचारिक बन्दै गएको गुरु र चेलाचेलीको सम्बन्ध, हराउँदै गएको सम्मानभाव, गलत शिक्षा नीति, आफ्नै भविष्यप्रति उदासीन विद्यार्थी र सरकारी शिक्षकको बढ्दो गैरजिम्मेवारीपनलाई पनि निबन्धमा उठाइएको छ ।

होटल हाइवे शीर्षकको दोस्रो निबन्धमा व्यापारको नाउँमा मानव स्वास्थ्यमाथि हुने गरेको गम्भीर खेलवाड , हराउँदै गएको मानवता, रोगको घर बन्दै गएको होटल , कसरी व्यवसायीहरू पैसाको लागि सबै कुरा बिर्सन्छन् भन्ने यथार्थलाई निकै कलात्मक रूपमा प्रस्तुत गरिएको छ ।

त्यस्तै मधुशाला शीर्षकको निबन्धमा भट्टीलाई मधुशालाको नाम दिएर त्यसभित्र हुने कुकृत्यहरू कति भयावह छ भन्ने देखाइएको छ । लेखकले महजस्तै हुनुपर्ने मधुशालाको व्यवहार रक्सी र देहव्यापारमा सीमित भएको र त्यही मधुशालाभित्र मौलाएको छाडा संस्कृतिले समाजको आदर्श डगमगाएको चिन्ता प्रकट गरेका छन् ।

संग्रहभित्रको अर्को निबन्ध हो -‘मेरो गाउँ ‘ गाउँनै गाउँले बनेको देशमा पहिले गाउँको विकास नभएसम्म देशको विकास असम्भव छ । सहर हुँदै राजधानी पसेका नेता चुनावको समयमा मात्र देखिनु, पत्रकारले गलत समाचार छाप्नु र जनता सधैँ आश्वासनमा मात्र बाँच्ने अवस्थाले देशको विकास हुन नसकेको प्रति गहिरो चिन्ता देखिन्छ लेखकको । घुसमा चलेको नेता, पैसामा बिकेको पत्रकार र सेटिङमा चलेको प्रशासन नै विकासका बाधक हुन् भन्‍ने विचार लेखकको छ ।

सङ्ग्रहको अर्को निबन्ध हो – ‘मित्र संवाद’ संवाद भनेको सुन्दर बहस र वादविवाद पनि हो । बहसमा अनेक विषयहरु उठ्छन् । लेखकले एक जना स्रष्टा नै मित्र संवादको पात्रको रुपमा पाएका छन् । साहित्य किन र कसका लागि लेखिन्छ भन्ने गम्भीर बहस निकै महत्वपूर्ण छ । रहरको लागि पुस्तक छपाउनुले खास अर्थ राख्दैन ।

साहित्य कुनै लहडी खेल होइन । जीवनभर कमाउको पेसामा लागेर सस्तो लोकप्रियताको लागि पुस्तक निकाल्नु भनेको साहित्यिक वातावरण धमिलो बनाउँने मात्र हो । आफ्नो आत्मसन्तुष्टिका लागि मात्र भन्दा पनि पाठकको मन जित्ने सिर्जना आवश्यक छ भन्छन् निबन्धकार । उनको यो विचार निकै अर्थपूर्ण भेटिन्छ ।

सङ्ग्रहभित्रको अर्को सुन्दर निबन्ध हो – कुटी । निबन्धकारले आफ्नो गृहलाई कुटी भन्न रुचाएका छन् । यो शब्दभित्र देशप्रेम र गृहप्रति अपार आत्मीयता झल्किन्छ । आदिम समयदेखि सुरु भएको सभ्यता होस् या संस्कारको उज्यालो यही माटोमा भेटिएको सुकिलो शब्द हो कुटी । यही कुटीमा लेखिए रामायण र महाभारतका अनुपम कृतिहरू । त्यही कुटी शब्द प्रिय बनेको छ स्वयम् निबन्धकारका लागि पनि ।

त्यस्तै नेपालगञ्ज शीर्षकको निबन्धमा निबन्धकार अर्यालले आफ्नो जन्मस्थानको सुन्दर चित्रण गर्दै यसलाई सर्वत्र परिचित गराउने प्रयास गरेका छन् । समग्र नेपालगञ्ज चिनाउने क्रममा निबन्धकार अर्यालले कोहोलपुर , खजुरा र बाँसगढीलाई समेत चिनाउन सफल भएका छन् । नेपालगञ्जभित्र बसोबास गर्दै आएका बाहिरी जिल्लाका मानिसलाई अलग्याएर नेपालगञ्जको सौन्दर्य जीवित राख्न नसकिने कुरा निबन्धमा भेटिन्छ । लेखकको गृह जिल्लामोह यस निबन्धमा भेटिन्छ । नेपालगञ्जको साहित्यिक गतिविधि अनि सांस्कृतिक र राजनीतिक पक्षलाई पनि सुन्दर रुपमा चित्रण गरिएको छ ।

यसरी निबन्धकारले सामाजिक, सांस्कृतिक र समसामयिक विषयका विविध पक्षमा कलम चलाएका छन् । रिसाएर यो संसारमा कुनै पनि मानिस पराजित मात्र हुने तर खुसीले संसार जितिने कुरा उनको रिस शीर्षकको निबन्धमा पढ्न पाइन्छ । रिस नै मानिसको पतनको कारक हो र खुसीले शत्रुलाई पनि पराजित बनाउँन सकिन्छ भन्ने भावको प्रस्तुत निबन्धमा उनले आफ्नै परिवारबाट पात्र अघि सारेका छन् ।

त्यस्तै सम्झनामा इन्द्रबहादुर राई सङ्ग्रहको अन्तिम निबन्ध हो । दार्जिलिङ पुगेर इन्द्रबहादुर राईलाई भेटेको सुन्दर स्मरण र जीवन्त संवादलाई समेटिएको छ यसमा । इन्द्रबहादुर राईको भव्य व्यक्तित्व अनि विशिष्ट लेखनको विशेष चर्चा गर्दै नेपाली साहित्यको अभिभावकको रुपमा चित्रण गरिएको छ ।

यसरी समाजको बेथिति, विसङ्गति, राजनीतिक भ्रष्टाचार , गरिब किसानले महसुस गर्न नपाएको परिवर्तन अनि हरेक चुनावमा नेताले दिने झुटो आश्वासनजस्ता विषयलाई सुन्दर र कलात्मक रूपमा प्रस्तुत गरिएको छ निबन्धमा ।

कुटीको आवरण नै निकै लोभलाग्दो छ । नीलो भुइँमा लाल्टिनको उज्यालो बोकेर कुटीमा पस्दै गरेको मानव आकृतिसहितको बोजोड कला भेटिन्छ आवरणमा । यो नै उज्यालोको बिम्ब हो । सकरात्मक सोच र आत्मिक सुखको प्रतीक हो । आफ्नै मन र कुटीरूपी मन्दिरमा उज्यालो सल्काउन सके संसार उज्यालो देखिन्छ भन्ने भाव चिटिक्क परेको सुन्दर कृतिको आवरणले बोल्छ ।

अन्ततः कुटी निबन्धसंग्रहमा केही सामान्य र केही प्राबिधिक कुराहरू छोडेर कतै खोट लगाउनुपर्ने ठाउँ देखिन्‍न । यो पुस्तक निकै पठनीय र सङग्रहणीय बन्न सफल भएकोमा निबन्धकारलाई हार्दिक बधाइ तथा शुभकामना !!