चन्द्रागिरि हिल्सको आईपीओ बिक्री खुला

लेखाजोखा न्युज
२४ पुष २०७७, शुक्रबार ०८:५३

काठमाडौं । काठमाडौंस्थित चन्द्रागिरि हिल्सले आज (पुस २४) देखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ- इनिसियल पब्लिक अफरिङ) बिक्री खुला गर्दैछ ।

प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १५ करोड ३४ लाख ९ हजार १०० रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आईपीओ बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार तीमध्ये ४ प्रतिशत अर्थात् ६१ हजार ३६४ कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ७६ हजार ७०५ कित्ता सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरेर बाँकी १३ लाख ९६ हजार २२ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री गर्न लागिएको हो ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड हो । उसका अनुसार आईपीओ छिटोमा यही पुस २८ गते र तोकिएको समयमा पर्याप्त आवेदन नपरे माघ ९ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीका अनुसार इच्छुकले सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । सर्वसाधारणले न्यूनतम १० कित्तादेखि १३ हजार ९६० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

चन्द्रागिरि हिल्सले काठमाडौंकाे चन्द्रगिरि नगरपालिकामा केबलकार तथा रिसोर्ट सञ्चालन गरिरहेको छ ।