वरिष्ठ साहित्यकार पुडासैनीलाई साहित्य चेतना पुरस्कार

लेखाजोखा न्युज
२२ पुष २०७७, बुधबार २०:४०

विराटनगर । चेतना संरक्षण प्रतिष्ठान नेपालले विसं २०७७ सालको धर्मानन्द–रामप्यारी सिटौला साहित्य चेतना पुरस्कार वरिष्ठ साहित्यकार दामोदर पुडासैनी ‘किशोर’लाई प्रदान गर्ने निर्णय गरेको छ ।

पुरस्कारको राशि एकलाख एक हजार नगद र सम्मान रहेको कुरा प्रतिष्ठानले जनाएको छ । वरिष्ठ साहित्यकार पुडासैनीका हिमालका आवाज, समयको सहीछाप, सहर बिनाको सहर, पहाड र प्रेम, आफन्तका अनुहारहरू, आँखाको खोजीमा, आलोकित आयाम, आकारको खोजीमा, उज्यालो खोजिरहेको घामजस्ता कवितासंग्रहहरु, यात्राका प्रेमिल तरंगहरु, नमेटिएका चित्रहरू, मायालु हुम्ला, सिमानाका रंग सिमानाका तरंग र पर्खालभित्रको राजधानीजस्ता नियात्रा संग्रहरु र धर्मको ह्याङ्गओभर जस्ता दर्शन विधाका कृतिहरू आम पाठकले निकै रुचाएका छन् ।

विश्वका झण्डै तीन दर्जन मुलुक तथा नेपालका ७६ जिल्ला भ्रमण गरिसकेका पुडासैनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा दर्जनौ पुरस्कार प्राप्त गरिसकेका छन् ।

पुडासैनीकै विभिन्‍न कृतिहरूमा केन्द्रित भएर विश्वविद्यालयका दर्जनौं उच्च तहका विद्यार्थीहरूले शोध प्रबन्ध तयार गरेका छन् । समाजेसेवी हरिभक्त सिटौलाद्वारा आफ्नो बुबाआमाको नाममा उक्त पुरस्कार स्थापना गरेका हुन् ।

उक्त पुरस्कार प्रतिष्ठानको वार्षिकोत्सवको अवसरमा २०७७ माघ २४ गते विराटनगरमा विशेष समारोहका साथ समर्पण गरिने व्यहोरा एक विज्ञप्तिमा प्रतिष्ठानले जनाएको छ ।