राजकीय शरीरका सबै अंगमा विकृति फैलिसक्यो

भीम उपाध्याय
१९ पुष २०७७, आईतवार १०:०६

काखको बच्चा एक्कासि कडा ज्वरो आएर बिरामी पर्दा निरक्षर आमाले पनि म डाक्टर होइन, केही गर्न सक्दिन, जान्दिन भनेर त्यतिकै बस्दिनन् । आमाले मायाले आफूले जानेको बेसार, निम, तुलसी, टिमुर, ज्वानो, मरिच जे जे उपलब्ध छन्, पकाएर, औषधि बनाएर खुवाइहाल्छिन् ।

बच्चा पनि विस्तारै सञ्चो हुन थाल्छ । म डाक्टर होइन भनेर आमाले प्राणप्रिय बच्चालाई त्यतिकै कष्टकर अवस्थामा कुनै हालतमा पनि रहन दिन्नन् ।

मुलुकको शासन व्यवस्थामा ज्वरो आई बिरामी पर्दा सबै जनताले आफू विज्ञ भए पनि, नभए पनि आमाले जस्तै गरी ख्याल गर्नुपर्छ । जान्दिन भनेर चुप लागेर बस्नु हुँदैन । डाक्टर आउला, हेर्ला, उपचार गर्ला भनेर पर्खेर हात बॉधेर बसेमा डाक्टर आइपुग्दासम्म बच्चाको ज्यान पनि जान सक्छ ।

तपाईं हामी कसैले पनि यो दुनियॉको सबै ठेक्का लिएका छैनौं, लिन सम्भव पनि छैन ।

तर हाम्रा अगाडि यदि कोही पीडित वा अति दुःख पाएको, आर्थिक रूपमा अति कमजोर, अति बेरोजगार, गरिब व्यक्ति जम्का भेट भयो वा उसले तपाईं हामीसँग सहयोगको याचना गर्यो भने त्यसबेला कुनै अन्य कुरा सोच्दै नसोची, तत्काल आफूले जे जति सकेको सहयोग दिइहाल्नुपर्छ ।

मैले मात्र गरेर के हुन्छ र, कतिलाई यसरी गरिसाध्य हुन्छ र, यस्ता सयौँ हजारौँ छन् कहॉ गरिसाध्य लाग्छ र भन्नु करूणाहिन बन्दै गरेको लक्षण हुन्छ । दान गर्न नसकेको धन, ज्ञान र शक्ति बेकार हुन्छ । त्यसले अन्ततः पछि आफैंलाई पिर्ने गर्छ । अरूलाई कष्ट दिन सक्छ ।

जति जति पछि नेपालमा नयॉ नयॉ सरकारहरू आउँदै गर्छन्, तिनलाई त्यति त्यति काम गर्न झन् झन् बढी कठिन हुँदै जाने र फलामको च्युरा चपाउनु पर्ने हुँदै गर्छ । किनभने मुलुकको विगत अथाह बिगारी सकिएको छ । विकृतिका रोगहरू धेरै क्रोनिक भएर छिप्पिँदै गई राजकीय शरीरका सबै अंगमा र अन्य भागहरूमा पनि संक्रमण भएको छ र त्यो क्रम जारी छ ।

यो भन्दा डरलाग्दो कुरा त ती विकृतिका सर्जक वा जनकहरू, पात्रहरू, खेलाडीहरू यिनै नेता, तिनका कार्यकर्ता, आफन्त, समर्थक, भ्रातृ संगठन, चन्दादाता, उद्योगी, व्यापारी, कथित प्रि र पोष्टपेड दलीय बुद्धिजीवीहरू वा विद्वानहरू नै हुन् ।

तिनकै कब्जामा मुलुक पालैपालो निरन्तर छ । आफन्तहरूको घेराउमा यसरी घेरिएर होलसेलमा शासन प्रशासन विकृत बनेपछि, परेपछि यसको समाधान चानचुने तरिकाले हुने कुरै छैन । महाभारतको कथामा जस्तो नातेदारबीचमै धर्म युद्धबाहेक अब अरू कुरै समाधान पनि सम्भव छैन ।

कुनै मानिसले समाज वा मुलुकका लागि कुनै गाह्रो वा असम्भव प्रतीत काम गर्छु भनेर अघि बढ्यो भने सबैले सहयोग र समर्थन गर्नुपर्छ । म त्यही गर्ने गर्छु । मैले गर्न नसक्दैमा अरूले गर्न सक्दैन भन्दिन । तर, मैले गर्न सक्छु भने अरूले पनि गर्न सक्छन् भन्ठान्छु ।

इमानदार, लगनशील भएर लागिपर्नु मात्र हाम्रो हातमा छ । नतिजा सबै आफ्नो हातमा हुँदैन, छैन । कसैको इमानदार प्रयत्न नै सबैभन्दा स्तुत्य रहन्छ । सही नतिजा निस्कन धेरै पात्र, तत्वहरूको समन्वय, सहयोग, सहकार्य वा अनुकूल समयको हात हुने गर्छ । कसैले केही गरेन भने केही हुनेवाला छैन ।

तर कसैले केही गर्यो भने पनि हुन्छ भन्ने चाहिँ हुदैन । त्यसैले केही गर्न पवित्र मनसायले अघि सर्नेहरू नै महान हुन् । ती नै मानव जाति, समाज र मुलुकका जिम्मेवार व्यक्ति हुन् । प्रयत्नमा मात्र हाम्रो अधिकार छ, नतिजामा कसैको अधिकार हुँदैन । पवित्र भलाइका काममा प्रयत्नशील रहने सबै हरदम स्तुत्य छन् ।