टेण्डर सम्झौता नहुँदै भेरीगंगाले उठायो ३३ हजार घनमिटर नदीजन्य पदार्थ

लेखाजोखा न्युज
१७ पुष २०७७, शुक्रबार १६:०१

सुर्खेत । भेरीगंगा नगरपालिकाले नदीजन्य पदार्थ (ढुंगा, गिटी, बालुवा) उत्खनन्‌का लागि टेण्डर आह्वान गरे पनि अमानतमै (नगरपालिकाले आफैं राजश्व उठाउन) ३३ हजार घनमिटर बराबरको नदीजन्य पदार्थ निकासी गरेको छ ।

नगरपालिकाले चालु आर्थिक वर्ष ०७७-७८ का लागि आईई प्रतिवेदन अनुसार ४२ हजार ९७२ दशमलव ३५ घनमिटर नदीजन्य पदार्थ उत्खनन् गर्न पाउने अनुमति पाएको छ ।

आईई प्रतिवेदनको अनुमतिका आधारमा नगरपालिकाले मिति २०७७ मंसिर १७ गते ढुंगा, गिटि, बालुवा उत्खनन्‌का लागि बोलपत्र आह्वान गरेको थियो । यद्यपि नगरपालिकाले अमानतमा चालु आर्थिक वर्षको असोज १ गतेदेखि नै ढुंगा, गिटि, बालुवा निकासी गर्दै आएको छ । नगरपालिकाको छिन्चु खोला, डुंगी खोला र मोहटी खोलाबाट नदीजन्य पदार्थ उत्खनन् भइरहेको छ । यी खोलाबाट हालसम्म ३३ हजार घनमिटर बराबरको ढुंगा, गिटी, बालुवा निकासी भएको हो ।

नगरपालिकाको राजश्व शाखाका अनुसार बिल नम्बर सात हजारदेखि नदीजन्य पदार्थको राजश्व बिल काट्न सुरु गरिएको जनाइएको छ । सोही अनुरुप मिति २०७७ पुस १६ गते बिहान ८ बजेसम्म १३ हजार आठ सय ७२ नम्बरको विलमार्फत ट्याक्टरले ढुंगा निकासी गरेको छ भने सोही दिन बिहान ८:३५ बजे बिल नम्बर १३ हजार आठ सय ७८ मार्फत टिप्परले बालुवा निकासी गरेको छ । शाखाका अनुसार बिल नम्बर सात हजारदेखि लगातार रसिद काटिएको छ ।

शाखाले दिएको जानकारी र बिल नम्बरलाई आधारमानी पाँच हजार ट्याक्टरले बोकेको नदीजन्य पदार्थको कूल परिमाण १५ हजार घनमिटर बराबरको प्रति ट्याक्टर दुई सय ७० का दरले १३ लाख पचास हजार राजश्व रकम जम्मा भएको देखिन्छ भने दुई हजार टिपरले बोकेको कूल परिमाण १८ हजार घनमिटर प्रति टिप्पर ९५५ का दरले १९ लाख १० हजार राजश्व रकम जम्मा भएको बुझिन्छ ।

ट्याक्टर र टिपरको कूल परिमाणलाई जोड्दा पौस १६ गते बिहानसम्म ३३ हजार घनमिटर बराबर ३२ लाख ६० हजार राजश्व रकम नदीजन्य पदार्थ उत्खनन्‌मा न्मार्फत जम्मा भएको बुझिन्छ । यद्यपि आईई प्रतिवेदनमा तोकिएको ४२ हजार नौं सय ७२ दशमलव ३५ घनमिटरबाट अमानतमा निकासी भएको परिमाण घटाउदा नौं हजार ९७२ घनमिटर मात्रै चालु आर्थिक वर्षमा नदीजन्य पदार्थ उठाउन पाउने देखिन्छ ।

अब नगरपालिकाले ठेकेदार कम्पनीसँग सम्झौता गर्दा आईई प्रतिवेदन अनुसारको परिमाण र अमानतमा निकासी गरेको परिमाण घटाउने वा नघटाउने भन्नेमा चासोका साथ हेरिएको छ ।

No description available.

No description available.