एसिड पीडितको कथा समेटिएको दिजराजको ‘फिँजाइ पंख’ सार्वजनिक

लेखाजोखा न्युज
१० पुष २०७७, शुक्रबार १९:३०

काठमाडौं । पछिल्लो समय नेपालमा पनि एसिड आक्रमणका घटनाहरु बढ्दै गइरहेका छन् । एसिड आक्रमणका घटनाहरु न्यूनिकरणका लागि सरकारले कडा कानुनी प्रावधानको व्यवस्था गरेको छ । कानुन कडा भए पनि घटनाहरु भने कम हुन सकेका छैनन् । एसिड पीडितहरुले समाजमा निकै अपहेलित जीवन बाँच्‍न बाध्य हुनु परेको छ ।

यही कथालाई समेट्दै गायक तथा संगीतकार दिजराज जोशीको ‘फिँजाइ पंख’ बोलको गीत सार्वजनिक गरिएको छ । एक एसिड पीडितले समाजमा भोग्‍नुपर्ने पीडा, अपहेलना र संघर्षलाई यस गीतको म्युजिक भिडियोमार्फत देखाइएको छ ।

दिजराजको शब्द, संगीत तथा स्वर रहेको गीतको म्युजिक भिडियोलाई दिपक आचार्यले निर्देशन गरेका हुन् । बेनिशा हमाल र गौरव पहारीले अभिनय रहेको गीतको म्युजिक भिडियो शुक्रबार सार्वजनिक गरिएको हो ।

गीतमा एसिड पीडितलाई परिवारले दिने साथ, सहयोग र हौसलाको खाँचो हुन्छ भन्‍ने कुरा दर्शाइएको छ । गीतमार्फत जीवनमा जस्तोसुकै गहिरो घाउ लागे पनि पन्छाउँदै अघि बढ्नुपर्छ, अघि बढ्ने सपनाहरु छोड्नु हुँदैन, आत्मविश्‍वासलाई बलियो बनाउने भने सफलताको मार्ग सजिलो भन्‍ने सन्देश दिन खोजिएको छ ।

गीत सार्वजनिक कार्यक्रममा उपस्थित अभिनेत्री बेनिशा हमालले एसिड आक्रमण एक जघन्य अपराध भएकोले त्यस्ता अपराधीलाई जस्तोसुकै सजाय दिन पनि कम नै हुने बताएकी छन् । उनले भनिन्, “एसिड पीडितले आफू बाँचुञ्‍जेलसम्म पलपल मर्नुपर्छ । उसले हरेक पाइलामा घृणा सहनुपर्छ । त्यसकारण यस्तो अपराध गर्नेहरुलाई दिने सजाय जति भए पनि कम नै हुन्छ । त्यसकारण एसिडको बिक्री वितरणमा कडाइ गर्नुपर्छ र कानुनको बलियो कार्यान्वयन गर्नुपर्छ ।”

त्यसैगरी अर्का अभिनेता गौरव पहारीले एसिड पीडितलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने र सम्मान गर्नुपर्ने बताए । उनले भने, “पीडितहरुलाई थप पीडा नपुगोस्, जीवनलाई सार्थक बन्‍न सजिलो होस् भन्‍नका लागि हौसला, माया साथ दिनुपर्छ ।”

म्युजिक भिडियोका निर्देशक दिपक आचार्यले एसिड आक्रमण गर्नेहरुलाई दिने सजाय बढाउनुपर्ने बताए । उनले भने, “एसिड आक्रमण भनेको हत्याभन्दा पनि ठूलो अपराध हो । कसैको हत्या गरिए पीडा त होला, तर, त्यो विस्तारै समयसँगै पीडा कम हुँदै जान्छ । तर, एसिड आक्रमण कसैलाई भयो भने त्यो पीडित व्यक्तिले हरेक पाइलामा समाजले लगाएका वचनवाणले मृत्यु सामना गरिरहेको हुन्छ ।”

परदेशमा रहेर पनि घरदेशका समसामयिक र समाजमा घटिरहेका घटनाहरुलाई शब्दमा उनेर समाज परिवर्तन र जनचेतनाका लागि गायक जोशीले ठूलो योगदान गरिरहेका छन् ।