नयाँ दिल्ली । अक्सफोर्ड युनिभर्सिटीको दोस्रो चरणको परीक्षण पूरा भएको कोरोना भ्याक्सिन (खोप) को भारतमा उत्पादन सुरू भएको छ ।
सिरम इन्स्टिट्युट अफ इन्डियाले खोपको उत्पादन गरिरहेको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार खोपका एक करोड डोज उत्पादन भइसकेका छन् ।
आगामी नोभेम्बरसम्म खोपको अन्तिम नतिजा आउने अपेक्षा गरिएको छ । अक्सफोर्डले मंगलबाल खोपको दोस्रो चरणको परीक्षण पूरा भएको जनाएको थियो ।
सिरम इन्स्टिट्युटका कार्यकारी निर्देशक डा. राजिब ढोरेले भनेका छन्, “हामीले ठूलो परिणाममा भ्याक्सिन उत्पादन गरेका छौं । अव भ्याक्सिनलाई केव सप्लाई गरिने सिसीमा भर्ने काम मात्रै बाँकी छ । हामीले डिसेम्बरसम्म कोरोनाको भ्याक्सिन बनाइसक्ने लक्ष्य राखेका छौं ।”
उनले हरेक साता कोरोना भ्याक्सिनका लाखौं डोज तयार गरिने र आगामी दिनमा अक्सफोर्डवाला भ्याक्सिनका अरबौं डोज तयार गरिने बताएका छन् ।
सिरम इंन्टिट्युट अफ इन्डियाका प्रमुख आदर पुनावालाले एक अंग्रेजी न्युज च्यानलसँगको कुराकानीमा भ्याक्सिन उत्पादनका लागि २० करोड डलर लगानी गरिएको बताएका छन् । अक्सफोर्ड युनिभर्सिटीको भ्याक्सिन दोस्रो चरणमा पास भए पनि अनितम नतिजा सफल हुने बारे अहिले नै स्पष्ट छैन ।
यस्तो अवस्थामा भ्याक्सिनका करोडौं डोज बनाएर राख्नु जोखिमयुक्त निर्णय हो । सिरम विश्वको सबैभन्दा ठूलो भ्याक्सिन निर्माता कम्पनी सिरमका प्रमुख पुनावालाका अनुसार भ्याक्सिनको बजार मूल्य झण्डै एक हजार भारतीय रुपैयाँ हुने छ ।