नयाँ दिल्ली । एसिया कप र टी–ट्वान्टी विश्व कप क्रिकेट कोरोना महामारीका स्थगित गरिएको थियो । तर, क्रिकेटमा रुचि राख्नेहरुका लागि आईपीएलले सुखद खबर ल्याएको छ ।
इन्डियन प्रिमियर लिग (आईपीएल) को १३ औं संस्करण कोरोनाले डरले नरोकिने र संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना हुन सक्ने बताइएको छ ।
आईपीएल गभर्निङ काउन्सिलका अध्यक्ष बृजेश पटेलले युएईमा प्रतियोगिता आयोजना हुन सक्ने बताएका छन् । आईपीएल–१३ यसअघि यसैवर्ष मार्च २८ बाट सुरु हुने कार्यतालिका थियो । तर, कोरोनाका स्थगित भएको थियो । स्थगित भएसँगै यस वर्ष आईपीएल हुन्छ कि हँदैन भनेर चर्चा भइरहेको थियो ।
समाचार एजेन्सी एएनआई र पीटीआईका अनुसार आईपीएल गभर्निङ काउन्सिलका अध्यक्ष पटेलले कोरोनाका कारण स्थगित आईपीएलको आयोजना यूएईमा गरिने बताएका छन् । उनले आईपीएल आयोजनाका लागि बीसीसीआईले सरकारसँग अनुमति मागेको बताए ।
सरकारले अनुमति दिएपछि आईपीएल गभर्निङ काउन्सिलको बैठकमा अन्य कुराहरु तय गरिने अध्यक्ष पटेलको भनाइ छ । उनले १० दिनभित्रै काउन्सिलको बैठक बसेर अन्तिम निर्णय गरिने पनि बताएका छन् । पटेलले आईपीएलको मिति निर्धारण गर्न बाँकी रहेको जानकारी दिए ।
यसअघि बीसीसीआईका अध्यक्ष सौरभ गांगुलीले पनि खाली स्टेडियममा भए पनि आईपीएल आयोजना गर्नेबारे परामर्श भइरहेको बताएका थिए ।