१९ असोज २०७९, बुधबार

असंवैधानिक कदम चाल्दा पनि ओलीलाई पछुतो छैन, सम्बोधन कुण्ठाको पुलिन्दा

बहुमतसहितका प्रधानमन्त्री ओलीले आफूलाई काम गर्न दिएन भनेर अरुलाई चोर औंला ठड्याउँदा आफूतर्फ फर्किएका चार औंला बिर्सिए

लेखाजोखा न्यूज

६ पौस २०७७, सोमबार ५:०७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिउँसो ३ बजे देशबासीका नाममा विशेष सम्बोधन गरेका छन् । नेपालको संविधानले प्रावधान नै नगरेको संसद् विघटनजस्तो असंवैधानिक कदम चालेको एक दिनपछि प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गरेका हुन् । असंवैधानिक कदम चाल्दै संसद् विघटन गरेका ओलीलाई संविधानविरुद्धको काम गरेको भन्‍ने कुनै पछुतो छैन ।

१६ मिनेट लामो सम्बोधनमा प्रधानमन्त्री ओलीले आधा समय (८ मिनेट) भन्दा बढी नेकपाकै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विरोध गरे । उनले पार्टीभित्रको अस्तव्यस्तता आउनुमा आफू कति पनि दोषी नभएको दाबी गरे । तर, उक्त दाबीका आधारहरु भने दिएनन् । सरकारले पार्टी र सरकार सञ्‍चालनका लागि कार्यविभाजन गरिएकोसमेत बताए ।

प्रधानमन्त्री ओलीले भने, “पार्टीभित्र समस्या देखिन थालेपछि समस्या समाधानका साथै पार्टी र सरकारलाई प्रभावकारुपमा सञ्‍चालन गर्न दुई अध्यक्षबीच कार्यविभाजन गरेर एकले सरकार र अर्कोले पार्टीका काम गर्ने सहमति भए । पार्टीका कामहरु कति भए, पार्टी एकताको काम के भयो, मुलुकलाई संकट पर्दा विशाल पार्टी पंक्तिलाई कति परिचालन भए भन्‍ने कुरा तथ्यले पुष्टि गर्छ ।”

पार्टीले काम गर्न सकेन भन्दै गर्दा पार्टीलाई सहयोग गर्न यसअघि पार्टीले बोलाएको कति बैठकमा उपस्थित भए भन्‍ने प्रश्‍नको जवाफ प्रधानमन्त्री ओलीले दिनुपर्थ्यो । आफू पार्टीका बैठकमा उपस्थित नहुनुको कारण पुष्टि गर्नुपर्थ्यो । सरकार सञ्‍चालनमा पार्टीको सहयोग भएन भन्‍ने व्यक्तिले पार्टी सञ्‍चालनमा आफूले असहयोग गरेको बिर्सिए । सरकार सञ्‍चालनका लागि आवश्य परामर्शका विषयमा उनले कति पटक पार्टी बैठकमा छलफल गरे । त्यो पनि प्रधानमन्त्री ओलीले भनेन् ।

पार्टी एकताको काम गर्न दुई अध्यक्षको सहमति आवश्यक पर्ने उल्लेख छ । तर, पार्टी एकताका कामहरु गर्नका लागि उनले गरेका असहयोगहरु पनि त जगजाहेर छन् । पार्टीको पहिलो अध्यक्ष आफू भएको दाबी गर्ने ओलीले प्रधानमन्त्रीको पनि जिम्मेवारी सम्हालेका व्यक्तिले सम्पूर्ण दोष अर्को अध्यक्षलाई लगाएर आफू दूधले नुहाएको देखाउनु ‘कुण्ठा’ बाहेक अरु के नै हुनसक्छ र ?

प्रधानमन्त्री ओलीले सम्बोधनमा नियुक्तिमा पनि भाग खोजेको प्रसंग कोट्याए । आफ्ना र आफ्नाका आफन्तहरुलाई नियुक्ति दिनका लागि उनले संसदीय समितिको निर्देशनलाई लत्याएको कुरा जनताले बिर्सिने छैनन् । प्रधानमन्त्री ओलीले त्यही दिन भन्‍नसक्नु पर्थ्यो मलाई यी मान्छेको नियुक्तिको सिफारिस आएको छ । भ्रष्टाचार गर्नेको अनुहार हेर्दिन भन्‍ने ओलीले गोकुल बास्कोटालाई घरमै बास दिएको पनि उनी बिर्सिए ।

प्रधानमन्त्री ओलीले सम्बोधनको तीन मिनेटजति आफूले गरेका कामहरुको बयान गरे । जसमा नेपालले नयाँ नक्सा जारी गरेको प्रसंग उठाए । नक्सा जारीपछि गर्नुपर्ने कामहरु के-कति भएका छन् भनेर भन्‍न सकेनन् । उनले देखाएका सपनाहरु ज्येष्ठ नागरिकलाई ५-५ हजार खनखनी घरमा पुर्‍याउने, पानीजहाजको टिकट काट्न तयार हुन जारी गरेको उर्दी, चुलाचुलामा ग्यास, घरको आँगनमै बिजुली बस, सडक, खानेपानीलगायतका कुराहरु उनले के-कति पूरा गरेका छन् भन्‍ने कुराको लेखाजोखा पनि जनताले राखेका होलान् भन्‍ने कुरालाई उनले नजरअन्दाज गरेका छन् ।

उनले पार्टीमा दोस्रो पुस्तालाई भूमिका दिने कुरा गर्दैगर्दा आफूले भूमिका छोड्नुपर्छ भनेर मुलुकको संविधानभन्दा माथि आफूलाई राखेर राष्ट्रपति संस्थाको दुरुपयोग गरेको पनि बिर्सिए । उनी यदि साँच्चै पुस्तान्तरण चाहेका थिए भने दुबै पद खाली गरेर दोस्रो पुस्ताको नाम प्रस्तावित गरेर उदाहरण दिनुपर्थ्यो । संविधानमा व्यवस्था भएको अविश्वासको प्रस्तावको सामना गर्नुपर्थ्यो, यदि उनी गलत थिएनन् भने । अविश्वासको प्रस्ताव ल्याउने काम भयो भन्दै संसद् विघटन गर्ने कदम चाल्‍नु प्रधानमन्त्रीका लागि आफूलाई योग्य नठहर्‍याएपछि गलत बाटोबाट पदमा रहने प्रपञ्‍च रचेका छन् ।

पटक-पटक जनतामाथि भ्रम छर्दै आएका प्रधानमन्त्रीले अहिले बाध्यताले संसद विघटन गर्नुपरेको बताएका छन् । हिजो संघीयताको विरोध गर्दै बयलगाडाको संज्ञा दिएका ओलीले आज संसद विघटन उनको नियत हो । किनकी उनी यो व्यवस्थाप्रति कति इमान्दार छैनन् भन्ने कुराको पुष्टि आइतबारको संसद्‌ विघटनको निर्णयले नै गरिसकेको छ । फेरि संसद्‌ विघटन र आगामी निर्वाचन आफ्नो रुचि विषय नभएकोसमेत उनले प्रष्ट पारेका छन् ।

आफ्नो रुचिको विषय नहुँदा पनि उनी जनतालाई निर्वाचनमा जान आह्वान गरेका छन् । तर, उनी निर्वाचनको मितिप्रति पनि इमान्दार हुने छैनन् भन्‍ने कुराको संकेत उनले सोमबारको सम्बोधनबाटै गरिसकेका छन् । आज नै निर्वाचन आफ्नो रुचिको विषय नभएको बताउने ओलीको भोलिको रुचि फरक हुनसक्छ । आफूले गरेका गल्तीहरुको पछुतोसमेत नभएका ओलीले मुलुकलाई सही दिशामा लैजान सक्दैनन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend